कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

स्विट्जरल्यान्डको सामना गर्दा दबाबमा इटाली

एएफपी

बर्लिन — इटालीले शनिबार युरोको अन्तिम १६ को खेलमा स्विट्जरल्यान्डको सामना गर्दैछ । तर डिफेन्डिङ च्याम्पियनको यहाँसम्मको यात्रा आफैंमा सहज भने रहेको छैन ।

स्विट्जरल्यान्डको सामना गर्दा दबाबमा इटाली

क्रोएसियाविरुद्ध लिग चरणको समूह ‘बी’ को अन्तिम खेल बराबरीमा टुंग्याउन लगभग अपरिचित जस्तै रहेका माटिया जाकाग्नीको गोल आवश्यक परेको थियो । यसै नतिजाका कारण इटाली समूहको दोस्रो स्थानमा रह्यो । टोली शीर्षमा रहेको स्पेनसँग ५ अंकले पछाडि थियो ।

प्रशिक्षक लुसियानो स्पालेटी मान्छन्, आफ्नो टिम नकआउट चरणको हकदार छ । जतिले आफ्ना खेलाडीको प्रदर्शनबारे आलोचना गरेका छन्, त्यसमा भने उनी सहमत छैनन् । यी ६५ वर्षीय प्रशिक्षकले मिडियासँगै आफ्नो टिममा दबाब सिर्जना गरिरहेका सबैको आलोचना गर्दै भन्छन्, ‘इटालीको टिममा अहिले धेरै सुधार आएको छ । मेरो दृष्टिकोणमा खेलाडीले जति खेलेका छन्, त्यसमा दिन प्रतिदिन सुधार आएको छ ।’

जतिले इटालीको टिमको प्रदर्शन हेरेका छन्, सबैको एउटै मत छ, यो प्रभावशाली छैन । युरो २०२० मा इटालीले स्विट्जरल्यान्डलाई ३–० ले हराएको थियो । तर, अहिले यही प्रतिद्वन्द्वी कडा साबित भएको छ । त्यागे दिन गोल गरेका दुवै खेलाडी म्यानुयल लुकाटेली र किरो इमोबाइललाई प्रशिक्षकले बेञ्चमा राखेका थिए । मिडफिल्डर मार्को भेराट्टीलाई पनि अवसर दिइएको थिएन । दुई प्रमुख डिफेन्डर लियोनार्डो बोनुसी र जर्जियानो चिलिनीले त संन्यास लिइसके ।

युभेन्ट्सका फरवार्ड फेडरिको चिसा आफ्नो स्वाभाविक लयमै छन् । लाजियोका २९ वर्षीय फरवार्ड जाकाग्नी भने अब आफ्नो टिमको पूरा ध्यान अर्को खेलमा मात्र केन्द्रित रहेको मान्छन् । उनी भन्छन्, ‘हाम्रासामु स्विट्जरल्यान्डविरुद्धको महत्त्वपूर्ण खेल छ । हामी अहिले त्यसै खेलमा मात्र केन्द्रित छौं । सबैलाई के थाहा छ भने राष्ट्रिय टिमले दुःखका दिन पनि हेर्नुपर्ने हुन्छ । सुखद मोड आउने गर्छ र हामी यसकै प्रतीक्षामा छौं ।’

अभ्यासका क्रममा इटालियन टोली ।

मुरात याकिनको स्विस टिमका अधिकांश खेलाडी सिरी ‘ए’ का विभिन्न क्लबबाट खेल्छन् । जस्तो, इन्टर मिलानका गोलरक्षक यान सोमरदेखि बोलोग्नाका तीन खेलाडी डान एनडोये, रेमो फ्र्युले र मिचेल एबिस्चर । जाकाग्नी थप्छन्, ‘हामीले स्विट्जरल्यान्डले कसरी खेल्छ भनेर त्यसको भिडियो हेरेका छौं । स्विस टिम आफैंमा बलियो छ । यसले आपसमा मिलेर खेल्छ, त्यसैले यो टिमलाई हराउन हामीले कडा मिहिनेत गर्नुपर्ने निश्चित छ ।’

इटालीका लागि कम्तीमा कागजमा स्विट्जरल्यान्ड सजिलो प्रतिद्वन्द्वी हुनसक्छ । तर यसपल्ट स्विसले जर्मनविरुद्ध लिग चरणको खेलमा जसरी खेलेको छ, त्यस अर्थमा यसलाई सजिलो मान्न सकिन्न । यो स्विस टिमले जसलाई पनि दबाबमा राख्न सक्छ । जर्मनविरुद्ध पनि टोलीले १–१ को बराबरी खेलेको थियो । त्यसमा आयोजक देशले ९२ औं मिनेटमा बराबरी गोल हात पारेको थियो । फेरि युरो २०२० मै स्विस टिमले केलियन एमबाप्पेको टिमलाई अन्तिम १६ मा हराएको तथ्य बिर्सनुहुन्न ।

प्रकाशित : असार १५, २०८१ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×