कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

उमङ्गविहीन रह्यो इटाली

एपी

बर्लिन — अन्त्यमा दस महिना पुग्दै पुगेन । प्रशिक्षक लुसियानो स्पालेटी चाहन्थे, आफ्नो इटाली टिम फेरि उपाधि जित्ने खालको होस् । उनको क्लब नेपोली जस्तै वा पुराना दिनको इटाली टिम जस्तै । आखिरमा इटाली विश्व फुटबलको महाशक्ति हो, चार विश्वकप र दुई युरो उपाधिसहित ।

उमङ्गविहीन रह्यो इटाली

तर, डिफेन्डिङ च्याम्पियनका रूपमा इटालीको प्रदर्शन त्यस्तो रहँदै रहेन । बरू उल्टै यस युरोमा शनिबार स्विट्जरल्यान्डको हातबाट २–० ले पराजित हुँदै इटाली प्रतियोगिताबाट बाहिरिएको छ ।

‘यो सबैको जिम्मेवारी मेरो हो,’ स्पालेटीले भने । दोष को–कसलाई मात्र दिने ? आखिरमा इटाली फेरि एकपल्ट टुटेको छ, फुटबल भनेपछि पागल हुने देशको प्रदर्शन आफ्नो पुरानो प्रतिष्ठाअनुसार रहेन । सन् २०२१ मा इटालीले युरो जित्दा त्यसमा घोर आश्चर्य देखाउनेको कुनै कमी थिएन । त्यतिबेला टिमले आफ्नो फुटबल प्रतिष्ठा धेरै हदसम्म फर्काएकै थियो ।

अहिले त टिम अन्तिम १६ मै रोकियो । तीन वर्षअगाडि इटालीको त्यो अद्भूत सफलता दुई विश्वकप छनोटको असफलताबीच प्राप्त भएको थियो । सन् २०१८ को विश्वकप छनोटमा इटाली प्ले–अफमा स्विडेनसँग पराजित भएको थियो । त्यसको चार वर्षपछि यस्तै अविश्वसनीय हार प्ले–अफमा मेसोडोनियाविरुद्ध रह्यो । तीन वर्षअघि वेम्बलीमा भएको फाइनल ताका भाग्यले जसरी इटालीलाई साथ दिएको थियो, विश्वास थियो, यसपल्ट त्यस्तै होला ।

इटालीले आफूले यसअघि जितेको उपाधिको रक्षा गर्नै सकेन । इटालीको त्यो सबै सपना त्यो रंगशालामा टुटेको छ, जहाँ टोलीले सन् २००६ को विश्वकप फाइनलमा फ्रान्सलाई हराएर उपाधि जितेको थियो । त्यो रंगशालामै इटालीले यसपल्ट एकै गोल निकाल्न सकेन र स्विट्जरल्यान्डविरुद्ध ३१ वर्षयता पहिलो हार बेहोर्न बाध्य रह्यो ।

‘फेरि भन्छु सबै जिम्मेवारी मेरै टाउकोमा जान्छ । तर, अहिले इटालीको फुटबल एउटा प्रक्रियाबाट गइरहेको छ । त्यसैले मैले यस्तो हुनेछ, उस्तो हुनेछ भनेर दाबी गरेका थिएँ । तर मैले पर्याप्त समय नै पाइनँ । अरू प्रशिक्षकले भए २० खेल खेलाइसकेपछि ठूला प्रतियोगिता आउने गर्थ्यो । केहीले त ३० खेलको अवसर पनि पाए ।’

उनी थप्छन्, ‘मैले अहिलेसम्म १० खेलमात्र खेलाएको छु । तर, सबैले मेरो आलोचना गरिरहेका छन् । मलाई लाग्छ, यो टिमलाई राम्रोसँग बुझ्न अझ बढी समय चाहिन्छ ।’ गत वर्ष उनकै नेतृत्वमा इटालीमा नेपोलीले सिरी ‘ए’ उपाधि जितेको थियो । यो यस्तो सफलता थियो, जुन डिएगो म्याराडोनाका दिनपछि हात पारेको थियो । त्यस सिजनको अन्त्यपछि उनले नेपोली छाडे ।

गत अगस्टमा यसअघिका प्रशिक्षक रोबर्टो मान्चिनीले अचानक टिम छाडेपछि अवसर स्पालेटीको काँधमा आएको थियो । उनी चाहन्थे, नेपोलीमा जुन प्रकारको उत्साह फर्केको थियो, त्यस्तै उमंग इटालीको टिममा फर्कनेछ । तर, जर्मनीमा त्यस्तो कुनै पनि छाँट देखिएन । उनी भन्छन्, ‘हाम्रो प्रदर्शन असाध्यै कमजोर रह्यो । कम्तीमा हामी नकआउट चरणसम्म पुग्न भने योग्य थियौं ।’

प्रकाशित : असार १७, २०८१ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×