कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

आँधीबेरीमा रोकिएन जर्मनी

आँधीबेरीबीच दुवै टिमलाई मैदानबाट फिर्ता बोलाइएको थियो, खेल नै २५ मिनेट रोकियो
एएफपी

डर्टमन्ड —  जर्मनीले आइतबार युरोको क्वाटरफाइनल यात्रा तय गरेको छ डेनमार्कलाई २–० ले पन्छाउँदै । जर्मनीका लागि काई हार्भटेज र जमाल मुसियालाले गोल गरेका थिए । आयोजक देशलाई डेनमार्कले मात्र होइन, आँधीबेरीले पनि रोक्न सकेन ।

आँधीबेरीमा रोकिएन जर्मनी

यसै कारण खेल नाटकीय रूपमा आधा घण्टा जति रोकिएको थियो । पहिलो हाफमा हार्भटेजले पेनाल्टीबाट गोलको खाता खोले । जोखिम एन्डरसेनले बल ह्यान्ड गरेपछि जर्मनीले पेनाल्टी पाएको हो ।

डेनिस डिफेन्डर एन्डरसेन वास्तवमै अभाग्यशाली रहे । किनभने त्यसको केही क्षण अघि मात्रै उनले गरेको गोललाई मान्यता दिइएको थिएन । त्यसपछि बायर्न म्युनिखका मुसियालाले दोस्रो गोल थपे । खेलमा एक समय त्यस्तो पनि आयो, जतिबेला खेल रोकिने छाँट थियो । इंग्लिस रेफ्री माइकल ओलिभरले आँधीबेरीबीच दुवै टिमलाई मैदानबाट फिर्ता बोलाएका थिए । खेल २५ मिनेट रोकिएपछि फेरि सुरु भएको हो ।

जित भने अन्त्यमा आयोजक देशकै रह्यो । यसै कारण जर्मनीले जुलाई १४ मा हुने फाइनलमा उपाधि जित्ने सम्भावना कायम रह्यो । तर टोलीका लागि अबको बाटो सजिलो भने हुने छैन । किनभने अब टोलीमाथि बाधा तेर्स्याउने टिम हुनेछन्, स्पेन वा आश्चर्यजनक टोली जर्जिया । अहिलेका लागि जर्मन टिम र टोलीका प्रशिक्षक जुलियन नागेल्समन भने खुसी नै देखिए ।

खेलपछि उनको भनाइ थियो, ‘यो खेल यस्तो रह्यो, जसमा अनेक बाधा अड्चन आए । तर यसविरुद्ध हामीले लड्यौं । अहिले हामीले खुसीले खेलिरहेका छौं, सबैको मन प्रसन्न छ । फुटबल यस्तै अवस्थामा सुन्दर हुने हो ।’ डेनमार्कलाई भने अब घर फर्किनुपर्नेछ । टोलीले सन् १९९२ को फाइनल पुनरावृत्ति गर्ने छनक दिन सकेन । त्यस वर्ष युरो फाइनलमा डेनमार्कले जर्मनीमाथि प्रसिद्ध जित निकालेको थियो ।

यसपल्ट टोलीका लागि भने प्रतियोगिता सुखद रहेन, किनभने घर फर्कंदा टोलीको खातामा कुनै जित रहेन । लिग चरणमा तीन बराबरी खेलेर डेनमार्क अन्तिम १६ मा पुगेको थियो । भारको निर्णयलाई लिएर डेनमार्कका प्रशिक्षक कास्पर हेजुलमन्डलाई भने केही गुनासो रह्यो । यो निर्णय टोलीको विपक्षमा गएको थियो ।

उनले भने, ‘जसरी भारको प्रयोग भएको छ, त्यो त्यसरी गर्ने नै होइन । एक सेन्टिमिटरको गणना गरिएको छ । त्यसको एकै मिनेटमा पेनाल्टीको निर्णय भयो । ह्यान्ड बलको नियमले म आफैं हायलकायल भइसकें, यो बेकारको निर्णय छ ।’

प्रकाशित : असार १७, २०८१ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×