कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महामन्त्री ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

एक महिना लगाएर ३८ जिल्लाका करिब ३ हजार मतदाता, शुभेच्छुकसँग अन्तरक्रिया गरी तयार पारिएको दाबी
यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्छ, यसलाई सभापतिमा मात्र सीमित नराख्न अनुरोध छ । -मुकुल ढकाल, महामन्त्री, रास्वपा

काठमाडौँ — देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै प्रतिवेदन तयार पारेका महामन्त्री मुकुल ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार स्पष्टीकरण सोधेको छ । सभापतिलाई बुझाइएको प्रतिवेदन पहिल्यै सञ्चामाध्यममार्फत सार्वजनिक गरेको भन्दै ढकाललाई स्पष्टीकरण सोधिएको हो ।

महामन्त्री ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सभापति रवि लामिछानेकै निर्देशनमा ढकाललाई अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोधेको हो । रास्वपा सहप्रवक्ता प्रतिभा रावलले पनि महामन्त्री ढकालसँग स्पष्टीकरण सोधिएको जनाइन् ।

रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समिति स्रोत*का अनुसार प्रतिवेदन सार्वजनिकलगायतका विषयलाई लिएर ढकालसँग स्पष्टीकरण सोधिएको हो । ‘पार्टीको अनुशासन उल्लंघन गरेको, प्रतिवेदन सञ्चारमाध्यममा सार्वजनिक गरेको र सत्ता गठबन्धनलगायत विषयमा बोलेपछि स्पष्टीकरण सोधिएको हो,’ उक्त स्रोतले भन्यो ।

महामन्त्री ढकालले भने स्पष्टीकरण पत्र सहयोगीमार्फत प्राप्त भएको बताए । भने, ‘दर्ता भएको छ भनेर स्टाफले भनेका छन् । आइतबार हेर्छु । मलाई सभापतिबाहेकले स्पष्टीकरण सोध्न मिल्दैन । उहाँले त्यस्तो केही भन्नुभएको छैन ।’

ढकालले गत बुधबार सभापति तथा उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई ३२ पृष्ठको प्रतिवेदन बुझाएका थिए । महामन्त्री ढकालको प्रतिवेदनले पहिलो पटक रास्वपामा बहस सिर्जना गरेको छ । उक्त प्रतिवेदनको विषयवस्तुलाई लिएर पार्टी बाहिर पनि चर्चा बढेपछि ढकाललाई स्पष्टीकरण सोधिएको बुझिएको छ । भरतमणि देवकोटा प्रमुख रहेको उक्त अनुशासन समितिमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने सदस्य छन् । प्रमुख देवकोटा भने यतिबेला देश बाहिर छन् ।

इलाम–२ को उपनिर्वाचनमा पार्टीले निराशाजनक नतिजा बेहोरेपछि रास्वपा सचिवालयले नै महामन्त्री ढकाललाई देशभरबाट समीक्षात्मक प्रतिवेदन ल्याउन खटाएको थियो । त्यसैअनुसार ढकालले एक महिना लगाएर ३८ जिल्लाका करिब ३ हजार मतदाता, शुभेच्छुकसँग अन्तरक्रिया गरी प्रतिवेदन तयार गरेका हुन् ।

जुन प्रतिवेदन सभापति लामिछानेलाई बुझाइएको छ भने असार १९ मा उक्त प्रतिवेदनमाथि रास्वपाको केन्द्रीय समितिको बैठकमा छलफल हुँदै छ । ढकाल पार्टीले नै आफूलाई प्रतिवेदन तयार गर्न लगाएको बताउँछन् । ‘पार्टीले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार पारेको हुँ । प्रतिवेदन समीक्षा गरेर त्यसबाट निकालिएको प्रस्ताव सार्वजनिक होस् भन्ने चाहना हो,’ उनले थपे, ‘प्रतिवेदनमा प्रस्ताव गरिएको छैन । त्यसमा यस्तो हुनुपर्छ भनेर समीक्षा गरिएको छ । त्यसको आधारमा पार्टीलाई अगाडि बढाइयोस् भन्ने हो ।’

रास्वपाका मुख्य सचेतक सन्तोष परियारले महामन्त्रीको प्रतिवेदनमा छलफल गर्न बाँकी रहेको बताए । भने, ‘प्रतिवेदनभित्र के छ भन्ने हेर्न बाँकी नै छ । हामीले थाहा पाएको पनि सञ्चारमाध्यममा आएका सूचना नै हुन् । त्यसबाहेक के छ, हामीलाई पनि थाहा छैन । असार १९ मा त्यसबारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।’ समीक्षा प्रतिवेदन सभापतिलाई हस्तान्तरण गरेपछि ढकालले जारी गरेको विज्ञप्तिमा पार्टीभित्र आफ्नाविरुद्ध अराजनीतिक क्रियाकलाप भएको आरोप लगाएका छन् । उनले आफूले गर्दै नगरेका कामको दोष लगाइएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

रास्वपा सांसद शिशिर खनाल महामन्त्री ढकालले पार्टी सभापतिसमक्ष पेस गरेको प्रतिवेदनलाई पार्टीले गम्भीरताका साथ अध्ययन गर्ने बताउँछन् । ‘हो, उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वाभाविक रूपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं,’ उनले भने, ‘अध्ययनका आधारमा निष्कर्ष आइसकेपछि थप प्रतिक्रिया राख्नु उचित हुन्छ होला ।’

* रास्वपा केन्द्रीय अनुशासन तथा आचरण समिति स्रोत*का अनुसार हुनुपर्नेमा भूलवश सहप्रवक्ता प्रतिभा रावलका अनुसार हुन गएकोमा सच्याइएको छ । -सम्पादक

प्रकाशित : असार १५, २०८१ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×