कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एकीकृत समाजवादीको दसौं महाधिवेशन : शीर्ष नेताद्वारा वाम एकता र संविधान रक्षामा जोड

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको महाधिवेशन बहिष्कार गरेका छन् । महाधिवेशन उद्घाटन सत्र बहिष्कार गरेर ओलीले अध्यक्ष नेपालसँग आफ्नो अझै पनि पुरानो तुष बाँकी रहेको एक पटक फेरि पुष्टि गरेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

काठमाडौँ — नेकपा एकीकृत समाजवादीको महाधिवेशन काठमाडौंमा सुरु भएको छ । एमालेबाट विभाजन भएको २ वर्ष १० महिनापछि एकीकृत समाजवादीको दसौं महाधिवेशन आइतबारबाट नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो । उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेताहरूले संविधानको रक्षा र संघीय लोकतान्त्रिक व्यवस्थाको सुधार गरी अघि बढ्नुपर्ने बताए भने वामपन्थी नेताहरूले वाम एकतामा जोड दिएका छन् ।

एकीकृत समाजवादीको दसौं महाधिवेशन : शीर्ष नेताद्वारा वाम एकता र संविधान रक्षामा जोड

महाधिवेशनको उद्घाटन सत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विद्रोह गरी नयाँ पार्टी बनाउनुको औचित्य पुष्टि भएको बताए । महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकीकृत समाजवादीसँग एकताको प्रयास भइरहेको दाबी गरे । ‘एकीकृत समाजवादी र माओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,’ उनले भने, ‘महाधिवेशनले यसबारेमा पनि ठोस निर्णय गरोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुस् भनेर शुभकामना पनि दिन चाहन्छु ।’

एकीकृत समाजवादीको पारित हुन बाँकी राजनीतिक दस्ताबेजले आफूलाई अस्थिर चरित्रको नेताका रूपमा प्रस्तुत गरेकामा दाहालले गुनासो गरे । ‘त्यही चरित्रका कारण मुलुकमा परिवर्तन सम्भव भएको हो,’ उनले भने । मञ्चमा आसीन समाजवादी मोर्चाको एक घटक नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई देखाउँदै माओवादीहरू गतिशील भएको उनको टिप्पणी थियो । ‘गतिशीलता हो, अस्थिरता होइन । यदि युद्धबाट देशमा शान्ति आयो भने त्यो अस्थिरता होइन,’ उनले भने, ‘संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र आयो भने त्यो गतिशीलता हो, अस्थिरता होइन ।’

एकीकृत समाजवादीको महाधिवेशनमा शुभकामना दिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति प्रमुख मुद्दा रहेको बताए ।

पूर्वप्रधानमन्त्री देउवाले मुलुक सुशासन र समृद्धिको दिशातिर लाग्नुपर्ने पनि बताए । ‘नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन तथा समृद्धि प्राप्त गर्ने महत्त्वपूर्ण एजेन्डा हुन्,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति एकीकृत समाजवादीले कार्य गरेको छ । यो व्यवस्थाका लागि गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले कार्य गरिरहेको छ । भविष्यमा पनि यसको निरन्तरता रहनेछ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताए । जनता र किसानका कारण नभई नेतृत्वले नै मुलुकलाई अप्ठ्यारोमा पारेको उनले बताए । ‘जब आमजनता र नेतृत्वको प्राथमिकता फरक हुन्छ, मुलुक जहिले पनि अप्ठ्यारोमा पर्छ । नेपालमा आमजनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन । त्यसैले लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो,’ उनले भने, ‘लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन् । नेताहरूले चिन्ता गर्नै पर्दैन ।’

शुभकामना मन्तव्य दिँदै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको आरोप लगाए । ‘अहिले मुलुक जटिल अवस्थामा छ । संघीय, लोकतान्त्रिक गणतन्त्रलाई ठूलो दुर्घटनामा पर्नबाट जोगाएका छौं । यसमा माधवजी र उहाँको पार्टीको ठूलो योगदान छ,’ उनले भने ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री दाहाललगायत वामपन्थी नेताको समाजवादको रटानप्रति व्यंग्य गरे । उनले ४३ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देशमा महिनाको १५ दिन पाँचतारे होटलमा खाना खाने नेताले समाजवाद ल्याउन नसक्ने ठोकुवा गरे । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले संविधानलाई अझै समृद्ध बनाउन जरुरी रहेको तर्क गरे । उनले संविधानलाई अझै खारेर पहिचानयुक्त, सुदृढ र सफल बनाउन आवश्यक रहेको बताए । ‘हामीले धेरै मिहिनेत गरेर यो परिवर्तन ल्याएका छौं । म पनि नेपाली राजनीतिको संघर्षशील क्षणको एउटा बिन्दुबाट यहाँ बस्नुभएका वरिष्ठ नेताहरूको पछिपछि आन्दोलनमा सरिक भएको मान्छे हुँ,’ उनको भनाइ थियो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाल पेचिलो परिस्थितिमा रहेको बताए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले नेपालको राष्ट्रिय स्वाधीनता आजको विश्वको ध्रुवीकृत राजनीति, नेपालको भूराजनीतिका कारणले निकै ठूलो दबाबमा रहेको पनि उल्लेख गरे ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अझै पनि संसद् विघटनको खतरा रहेको उल्लेख गरे ।

‘संविधानलाई समाप्त पार्न खोजिएको थियो तर विफल पारियो । पार्टी निर्माण गरेर कार्यकर्ताको रक्षा गरेका छौं,’ उनले भने । एमालेबाट विद्रोह गर्नुको औचित्य पनि आफूहरूले पुष्टि गरेको उनले बताए । ‘विद्रोहको पुष्टि क्षणक्षणमा भएको छ,’ उनले प्रधानमन्त्री दाहालतर्फ इंगित गर्दै भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू ! अहिले पनि सुनिन्छ कि संसद् विघटनको सिफारिस गरेर ठीक गरियो भनेर बोलिरहेका छन् । अहिले विघटनको सिफारिस गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान्, ख्याल गर्नुहोस् ।’

एमालेद्वारा बहिष्कार

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको महाधिवेशन बहिष्कार गरेका छन् । महाधिवेशन उद्घाटन सत्र बहिष्कार गरेर ओलीले अध्यक्ष नेपालसँग आफ्नो अझै पनि पुरानो तुष बाँकी रहेको एक पटक फेरि पुष्टि गरेको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

२०७८ मंसिरमा चितवनमा भएको एमालेको दसौं महाधिवेशनमा नेपाललाई निम्तो दिइएको थिएन भने एकीकृत समाजवादीको आइतबारदेखि सुरु भएको महाधिवेशनमा निम्तो पाएर पनि एमालेले बहिष्कार गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले विभाजनको औचित्य पुष्टि नभएकाले एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी नभएको बताए । ‘एमालेबाट किन अलग भएको हो ? त्यसको औचित्य पुष्टि भएको छैन,’ उनले भने, ‘सरकारमा सहकार्य भए पनि महाधिवेशनमा सहभागी नहुने निष्कर्ष निकालेका हौं ।’

उता एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफूले फोन र म्यासेज गर्दा पनि महाधिवेशनमा एमालेको प्रतिनिधित्व नभएको बताए । ‘एमाले किन आएन भन्ने होला, मैले आफैं दसचोटि फोन गरेको छु । फोन नलागेपछि सहयोगीलाई पनि फोन गरेको छु । मेरो फोनै लागेन,’ उनले भने, ‘डिटेल लेखेर म्यासेज पठाएँ । म्यासेज पुगेको खबर पनि पाएँ । पुरानो घाउ आलै रहेजस्तो लाग्यो ।’ उनले राजनीतिमा विगतका तीता कुरा पचाएर जानुपर्ने बताए । ‘कुनै घृणाभाव राख्नुपर्ने आवश्यकता छैन,’ उनले भने ।

प्रकाशित : असार १७, २०८१ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×