कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सर्बियामा ११ नेपाली बन्धक

बन्धक बनेका आफन्तलाई छुटाउन भन्दै नेपालबाट ९ लाख बुझाइयो, परिवारजन चिन्तामै 

झापा — वैदेशिक रोजगारीका लागि सर्बिया पुगेका नेपालीलाई इजिप्ट लगिदिने प्रलोभनमा मानव तस्करले बन्धक बनाएको पाइएको छ । तस्करले झापाका पाँचसहित ११ जनालाई दक्षिण पूर्वी युरोपेली मुलुक सर्बियाको जंगलमा बन्धक बनाएर परिवारजनलाई प्रतिव्यक्ति तीन लाख रुपैयाँ फिरौती रकम मागेको हो ।

सर्बियामा ११ नेपाली बन्धक

पारिवारिक स्रोतका अनुसार शनिबार राति नै तीन जनाको ९ लाख रुपैयाँ रकम पठाइएको छ । उक्त रकम रोमानियामा बस्ने एक नेपाली एजेन्टमार्फत तस्करसम्म पुर्‍याइएको पीडितका परिवारले खुलाए ।

एजेन्टलाई साढे छ लाख रुपैयाँ बुझाएर गत चैत दोस्रो साता सर्बिया पुगेका बिर्तामोड नगरपालिका–२ का ४५ वर्षीय आमाशु राजवंशीले त्यहाँ बोलकबोलअनुसारको तलब नपाएपछि इजिप्ट जाने मनसाय बनाएका थिए । काठमाडौंको एफएस वर्कर्स एजेन्सी सञ्चालक विज्ञान खनालमार्फत सर्बिया पुगेका आमाशुलाई साढे ५ सय युरो तलब हुने बताइएको थियो । यसअघि उनै खनालले आमाशुलाई रोमानिया पुर्‍याइदिने भन्दै झन्डै १४ महिना झुलाएपछि सर्बिया पुर्‍याएका थिए ।

सहकारी, लघुवित्तलगायतबाट ऋण लिएर विदेश हान्निएका आमाशुलाई रोमानियामा रहेका आफन्त पर्ने नेपालीले नै राम्रो काम र तलबको लोभ देखाएर इजिप्ट लगिदिने आश्वासन दिएका थिए । आमाशुसँगै सर्बिया पुगेका २५ वर्षका पशुपति राजवंशी, बाह्रदशी–५ का २९ वर्षीय दीपेश राजवंशी, शिवसताक्षी नगरपालिकाका बम राजवंशीलगायत ११ जनाको टोली नै इजिप्ट जान लागेको थियो । तर इजिप्ट लगिदिने भनिएका तस्करले नै उनीहरूलाई बन्धक बनाएको हो ।

गत शुक्रबार अचानक पशुपतिको ह्वाट्सएप नम्बरबाट श्रीमती चानसरीलाई फोन आएको थियो । श्रीमान्को फोन आएपछि खुसी भएकी चानसरी तब छाँगाबाट खसेझैं भइन्, जब उनका श्रीमान्सहितका नेपाली बन्धक भएको थाहा पाइन् । तस्करले फोनमा उनलाई फिरौती रकम तीन लाख रुपैयाँ तीन दिनभित्र नपठाएमा श्रीमान्को ज्यान लिने धम्की दिए । पशुपतिले पनि चानसरीलाई रुँदै आफूहरूलाई जंगलमा हातखुट्टा बाँधेर राखेको र रकम नबुझाए गोली हानेर मार्ने धम्की दिएको सुनाए ।

‘३ दिनभित्र तीन लाख नबुझाए हामीलाई गोली हानेर मार्छु भनेका छन् भन्दै रुनुभयो,’ चानसरीले कान्तिपुरसँग भनिन् । श्रीमान्को चित्कारसहितको फोन कल चानसरीले परिवार र आफन्तलाई सुनाइन् । तस्करको फोनमा धम्की शनिबार रातिसम्म तारन्तार आइरह्यो ।

‘बन्धककर्ताहरूले कुनै बेला हिन्दी बोल्थे त कुनै बेला अरबी बोल्थे’, आमाशुका दाजु गोबिनलालले भने, ‘चाँडो पैसा पठाउनु नत्र हामी मार्न पनि सक्छौं भन्थे ।’ पशुपति, आमाशु, दीपक पनि फोनमा बोल्दै चाँडो पैसा पठाउन अनुनय गरिरहन्थे ।

‘हात काट्न सुरु गर्‍यो, अब एकछिनमा टाउको छिनाउँछ रे, म मारिनेको पहिलो नम्बरमा छु’, पशुपतिले श्रीमतीलाई बारम्बार फोनमा भनिरहेका थिए । शुक्रबार रातभरि परिवारमा बेचैनी बढ्यो, मार्ने त्रासले परिवारका कोही पनि निदाउन सकेनन् । मध्यराति नै इलाका प्रहरी कार्यालय बिर्तामोड पुगेर जीवनरक्षाको माग गर्दै प्रहरीमा जाहेरी पनि दिए । तर, सर्बियाको घटनामा झापाको प्रहरीले सान्त्वनाबाहेक केही दिन सक्ने अवस्था थिएन । बिर्तामोडका डीएसपी प्रकाश विष्टले नेपाली बन्धक भएको भनी परिवारले निवेदनमार्फत जानकारी गराएको बताउँदै उद्धारका लागि सम्बद्ध निकायसँग समन्वय भइरहेको जनाए ।

सर्बिया, रोमानियालगायत देशबाट इजिप्ट, इटाली, माल्टा, हंगेरी लगायतका देशमा पठाइदिने भन्दै मानव तस्करहरू त्यहाँ सक्रिय रहेको पाइएको छ । मानव तस्कर गिरोहमा नेपालीकै पनि संलग्नता रहेको पाइएको पीडितका परिवारजनको दाबी छ । उक्त गिरोहले अरबी र पाकिस्तानीलाई पनि प्रयोग गर्ने गरेको बताइएको छ । सर्बिया उडाउने एजेन्सीका सञ्चालक खनालका अनुसार सर्बियादेखि करिब २ हजार १ सय १ किमि टाढाको अरबी मुलुक इजिप्ट पुर्‍याउने भन्दै २ हजारदेखि २२ सय युरोसम्म असुलिन्छ । उनले भने, ‘मैले वैधानिक रूपमा सर्बिया पठाएको हो, त्यहाँबाट भागेर अरू कुनै देश जान खोज्छन् भने हामीले पनि त्यसको जिम्मा लिन सक्दैनौं ।’

स्थानीय कृषि थोक बजारमा ढुवानी गरेर जीविकोपार्जन गर्दै आएका आमाशु राम्रो कमाइको आशामा ऋण खोजेरै भए पनि रोमानिया जान चाहेका थिए । आमाशुलाई मेचीनगर–१५ की सपना (कल्पना) राजवंशीले नै झापा, धुलाबारी घर भएका विज्ञानसँग सम्पर्क गराइदिएकी थिइन् । आमाशुकी श्रीमती धिराकुमारीले भनिन्, ‘विदेश जानैपर्ने बाध्यता भएपछि रोमानिया जानका लागि ऋण जुटाएका थियौं ।’ तर आमाशुले रकम र राहदानी बुझाएपछि विज्ञानले ‘केही दिन पर्खिनुपर्छ, सरकारले रोमानियामा अहिले अलि टाइट गरिरा‘छ भनेका थिए ।

तर १४ महिना पर्खंदा पनि उनी रोमानिया उड्न पाएनन् । त्यसपछि विज्ञानले उनलाई ‘रोमानिया उडाउन तत्काल सम्भव भएन । तर, रोमानियाकै छिमेकी देश सर्बिया जाने भए राम्रो काम छ । तलब पनि राम्रो छ, त्यति नै पैसामा म उडाइदिन सक्छु’ भन्ने नयाँ प्रस्ताव गरेपछि उनी सर्बिया पुगेका थिए ।

रोमनिया जान नपाएका पशुपति, दीपेश, बमलगायत पनि सर्बियाका लागि राजी भएका थिए । सबैसँग एजेन्टले जनही साढे ६ लाख रुपैयाँ असुलिसकेको थियो । दीपक र आमाशु गत चैत दोस्रो साता सर्बियाका लागि उडेका थिए भने पशुपति गत जेठमा मात्रै सर्बिया पुगेका थिए ।

ट्र्याक्टर चलाएर परिवारको गर्जो टारिरहेका पशुपति पनि केही बढी कमाइको आशामा विदेशिएका थिए । ८ धुर जमिन धितो राखेर पशुपति विदेश उडेका थिए । तर सर्बियामा भनेजस्तो काम र दाम नपाएपछि उनीहरू साताअघि मात्रै काम छाडेर इजिप्ट जाने भन्दै भागेका थिए ।

प्रकाशित : असार १७, २०८१ ०६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×