कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सिद्धबाबा सुरुङ मार्ग अब तीन महिनामा ‘ब्रेक थ्रु’

दुई वर्षमा गरेको प्रगति विस्फोटक पदार्थको प्रयोगपछि एक महिनामै
 ११ सय २६ मिटरको सुरुङ मार्ग दैनिक ८ देखि ९ मिटरका दरले खनिँदै

सिद्धबाबा, पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्न थालिएको छ । कुनै समस्या नआए अबको साढे दुईदेखि तीन महिनाभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यले बताए ।

सिद्धबाबा सुरुङ मार्ग अब तीन महिनामा ‘ब्रेक थ्रु’

‘मेसिनबाट मात्र काम गर्दा निर्माणमा ढिलाइ भएको थियो, चट्टान ठूला भएकाले त्यसलाई काट्न दुई/तीन दिन नै लाग्थ्यो,’ उनले भने, ‘जसले गर्दा प्रगति कम थियो ।’ निर्माणको काम थालेको दुई वर्ष बित्दा प्रगति १२ प्रतिशत कट्न सकेको थिएन ।

‘एक महिनाअघिबाट विस्फोटक पदार्थ प्रयोग गरेर काम थालेपछि दैनिक ८ देखि ९ मिटरका दरले सुरुङ खनिराखिएको छ,’ उनले भने, ‘अहिले सुरुङको समग्र प्रगति २६ प्रतिशत छ ।’ एक महिनामा १० प्रतिशत प्रगति बढाउन सकिएको उनले सुनाए । ‘दुई वर्षमा गरेको प्रगति एक महिनामा हासिल भएको छ,’ उनले भने, ‘राति पनि विस्फोट गराएर काम गर्न पाए प्रगति बढ्छ, त्यसको तयारी भइरहेको छ ।’ उनका अनुसार राति विस्फोट गराएर काम गर्न पाए दैनिक १२ मिटरका दरले सुरुङ खन्न सकिनेछ । सुरुका दिनमा निर्माण व्यवसायीबाट काममा ढिलाइ भए पनि अहिले कामको गति बढेको उनको दाबी छ ।

यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यो मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिने छ । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ ।

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो । सुरुङको बीचबीचमा आपत्कालीन द्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । विस्फोटक पदार्थ प्रयोग गर्नुअघि मुख्य सुरुङ १ सय २७ मिटर खनिएको थियो । अहिले विस्फोट गराएर १ सय ४९ मिटरसहित कुल २ सय ७६ मिटर मुख्य सुरुङ खनिएको छ । त्यस्तै क्रस प्यासेज मात्र १ सय ४० मिटर खनिएको छ ।

‘मुख्य सुरुङ र क्रस प्यासेजसहित ४ सय १६ मिटर खनिसकिएको छ,’ निर्देशक शाक्यले भने, ‘समग्रमा २७.१८ प्रतिशत सुरुङ खन्ने काम सकिएको छ ।’ उत्तर–दक्षिण दुवैतर्फ र तीन वटा क्रस प्यासेजमा एकसाथ निर्माणको काम भइरहेको उनले सुनाए । सुरुङमार्ग बाहिरपट्टिको खण्डमा ‘रक सेट’ बनाउन सडक नै बन्द गर्नुपर्छ । तर यो सडकमा सवारी चाप धेरै छ । यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन् ।

‘सुरुङ खन्ने काम सकेर अस्थायी रूपमा सवारीसाधनलाई सुरुङबाट पठाएर पहिरो खस्ने जोखिम क्षेत्रमा रक सेट बनाउने योजनामा छौं,’ उनले भने, ‘त्यसैले सुरुङ निर्माणको काम छिटो सक्नु छ ।’ उक्त रक सेटको दूरी ७ सय ८० मिटर छ । ‘सुरुङ निर्माण गरिएको क्षेत्रमा ढुंगा खसे तल झर्ने गरी ओरालो पारेर सिमेन्टेड रक सेट बनाइनेछ,’ उनले भने, ‘त्यसलाई धान्न सक्ने/नसक्ने सबै विषयलाई आधार मानेर रक सेटको डिजाइन गरिएको हो ।’

आगामी ०८ जेठबाट उक्त सुरुङबाट औपचारिक रूपमा सवारीसाधन चलाउन मिल्ने गरी काम गरिरहेको उनको दाबी छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । निर्माण थालेको साढे २७ महिना भइसकेको र बाँकी रहेको समय भित्र सक्ने गरी काम भइरहेको उनले बताए । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो ।

सुरुमा रूख काट्न समस्या हुँदा आयोजनाको कामले गति लिन सकेको थिएन । निर्माणमा १ सय ९० टन विस्फोटक पदार्थ लाग्ने अनुमान छ । ‘अहिले ४० टन मौज्दात छ, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाबाट १८ टन आउनेछ,’ उनले भने, ‘अपुग विस्फोटक पदार्थ नेपाली सेनासँग मागेका छौं ।’ अहिले कुनै समस्या नभए पनि चाहिएको बेला विस्फोटक पदार्थ नपाए काममा ढिलाइ हुने निर्माण कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षमा विनियोजन भएको बजेट अपुग भएर ३३ करोड रुपैयाँ रकमान्तर दिन लागिएको शाक्यले बताए । ‘यति भएपछि चालु आर्थिक वर्षमा समस्या छैन, आगामी आर्थिक वर्षका लागि ७० करोड मात्र बजेट छुट्याइएको छ, काम निरन्तर भइरहेकाले दुई अर्ब रुपैयाँ बजेट चाहिनेछ,’ उनले भने, ‘पर्याप्त बजेट उपलब्ध हुन नसके समग्र प्रगतिमा असर पर्छ । यसबारे सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जानकारी गराएका छौं ।’

प्रकाशित : असार १५, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×