कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जर्मनीसँग डेनमार्कको जम्काभेट : दोहोरिएला १९९२ को घटना ?

एएफपी

जर्मनी —  युरो २०२४ को आयोजक जर्मनीलाई अन्तिम १६ को आफ्नो प्रतिद्वन्द्वी डेनमार्क हुने त्यतिबेला थाहा भयो, जतिबेला आफूलाई स्विट्जरल्यान्डले १–१ को बराबरीमा रोकेको थियो । ठूला प्रतियोगितामा एक दशकको संघर्षपछि अहिले जर्मनी लयमा छ । टोली शनिबार डेनमार्कविरुद्ध मैदानमा उत्रँदै छ ।

जर्मनीसँग डेनमार्कको जम्काभेट : दोहोरिएला १९९२ को घटना ?

स्कटल्यान्ड र हंगेरीविरुद्ध निकालेको प्रभावशाली जितले टिममा उत्साह फर्केको थियो । तर स्विस टिमविरुद्ध खेल्दा जर्मन टिममा समस्या भने देखियो ।

टिम लगभग हारकै संघारमा थियो, तर निकलस फ्युलक्रगले इन्ज्युरी समयमा बराबरी गोल फर्काए । यही नतिजाका कारण जर्मनी समूह जित्न सफल रह्यो । जर्मन टिमका लागि यो ठीक समयमा आएको चेतावनी जस्तै बन्यो । नत्र जर्मन समर्थकहरू आफ्नो टिमले चौथोपल्ट युरो जितेको सपना देखिसकेका थिए । तर, अब तय भएको छ, प्रशिक्षक जुलियन नागेल्समनले आफ्नो टिमलाई अगाडि बढाउने हो भने अझै धेरै काम गर्न बाँकी छ ।

सन् १९९२ को युरो फाइनलमा डेनमार्कले अविश्वसनीय रूपमा उपाधि जित्दा जर्मनीलाई नै हराएको थियो । त्यतिबेला डेनमार्क युरोमा छनोट हुन समेत असफल रहेको थियो । तर, युगोस्लाभाकियालाई निष्कासन गरिएपछि डेनमार्कले मौका पाएको थियो । अन्ततः त्यही टिमले उपाधि जितेको हो । त्यस फाइनल अगाडि जर्मनीले डेनमार्कलाई बलियो प्रतिद्वन्द्वीसमेत मानेको थिएन । जर्मनीका लागि युरो र विश्वकप दुवै जितेका बर्टी भोग्ट्स मान्छन्, जर्मनीले त्यतिबेला डेनमार्कलाई कमजोर मानेर भुल गरेकै हो ।

उनले लेखेका छन्, ‘सन् १९९२ मा डेनमार्कमाथि हामी नै उपाधिका लागि बलियो दाबेदार थियौं । तर अन्त्यमा जित उसकै भयो । अहिलेको खेलमा पनि स्थिति लगभग त्यस्तै हो । अहिले नै हाम्रा खेलाडीले उपाधि नै जितिसकेको जस्तो कुरा गरिरहेका छन् ।’ उनी के मान्छन् भने अहिलेको डेनमार्क टिम सन् १९९२ जत्तिको बलियो त छैन, तर यसपल्ट दबाब जति सबै जर्मन टिममाथि नै हुनेछ । उनी मान्छन्, ‘यो टिम आश्चर्य निकाल्न सक्षम छ ।’

सन् २०२३ मा जर्मनीले खेलेका ११ खेलमध्ये तीन मात्र जित आत्मसात् भएको थियो । सन् २०२४ मा यही टिम हारेको छैन । टोलीले ५ खेल जितेको छ भने दुई बराबरी खेलेको छ । यसका लागि प्रशिक्षक नागेल्समनलाई धन्यवाद दिनैपर्छ, किनभने उनले सुरुआती ११ खेलाडीको सूची समान रूपमा दोहोर्‍याइरहेका छन् । यी प्रशिक्षकले त्यतिबेला मात्र सामान्य परिवर्तन गरेका छन्, जतिबेला खेलाडीलाई चोटको समस्या परेको छ ।

यही कारणले जर्मन टिममा स्थायित्व आएको छ । डेनमार्कविरुद्धको खेलमा एक प्रमुख खेलाडी सेन्टर ब्याक जोनाथन ताह भने हुने छैनन् । किनभने उनले स्विट्रल्यान्डविरुद्धको खेलमा दोस्रो पहेँलो कार्ड पाएका थिए । उनको स्थानमा बोरुसिया डर्टमन्डका प्रतिभाशाली खेलाडी निको स्केटरबेकले खेल्न सक्नेछन् । उनी मान्छन्, जर्मन टिमलाई डेनमार्कबारे लगभग सबथोक थाहा छ । उनी भन्छन्, ‘त्यसैले डेनमार्कविरुद्ध हामीलाई कसरी खेल्ने, त्यसबारे राम्रो जानकारी छ ।’

प्रकाशित : असार १५, २०८१ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×