काठमाडौँ — सन् २००७ मा आजकै दिन (जुन २९) मा एप्पल कम्पनीको पहिलो स्मार्टफोन ‘आइफोन’ को बिक्री सुरु भएको थियो । २००७ को जनवरी ९ मा सार्वजनिक आइफोनको पहिलो मोडलको बिक्री जुन २९ देखि सुरु भएको थियो । कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले फोन सार्वजनिक गरेका थिए ।
आइफोनको पहिलो स्मार्टफोनको मूल्य ४ जीबीको ४९९ र ८ जीबीको ५९९ अमेरिकी डलर तोकिएको थियो । आइफोनको अपरेटिङ सिस्टम आईओएस ३.१.३ रहेको फोनमा ३.५ इन्चको डिस्प्ले र २ मेगापिक्सेलको एक मात्र क्यामेरा थियो ।
कम्पनीले एक वर्षपछि फोनको दोस्रो मोडल बजारमा ल्याएको थियो । त्यसको नाम आइफोन थ्रीजी राखिएको थियो । थ्रीजी नेटवर्क सपोर्ट गर्ने भए पनि फोनको मूल्य पहिलेको तुलनामा कम थियो । डेढ दशकभन्दा लामो यात्रामा एप्पलले पछिल्लो पटक आइफोनको १५ औं मोडल सार्वजनिक गरिसकेको छ ।
