कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘प्ले द सिस्टम’

रंगकर्मी आकांक्षा कार्कीद्वारा निर्देशित नाटक‘प्ले द सिस्टम’ मा पितृसत्तात्मक संरचनाद्वारा सञ्चालित पात्रहरूको मनोविज्ञान, उनीहरूका बुझाइ र सोचमाथि व्यंग्य गरिएको छ
रीना मोक्तान

काठमाडौँ — कार्यकक्षमा उनी अन्य सहकर्मीजत्तिकै सक्षम र क्षमतावान छिन् । काममा उत्तिकै इमान्दार अनि लगनशील पनि । आफ्नो जिम्मेवारीमा कर्मठ अनि करिअरलाई लिएर संवेदनशील । आफूलाई सावित गर्न, क्षमता पस्कन हरदम तयार । पुरुष सहकर्मीले समाधान गर्न नसकेको समस्या तुरुन्तै फत्ते गर्न सक्ने क्षमता छ उनीमा ।

‘प्ले द सिस्टम’

अरूभन्दा चतुर, कामप्रति उत्तिकै लगाव पनि राख्छिन् । तर, उनी जुन पद र सुविधाका लागि योग्य छिन्, त्यसबाट भने वञ्चित । ती स्थान भने अयोग्य पुरुषले नै ओगटेका छन् । त्यसैले ती अयोग्य पुरुषको हैकममा चल्नुपर्ने बाध्यता छ उनलाई ।

आखिर किन ? त्यसको कारण प्रस्टै छ– उनी महिला हुन् । कस्तो महिला ? निडर र विद्रोहीको आवाज बोल्ने महिला । उनी कार्यक्षेत्रमा हुने गरेका लैंगिक असमानताविरुद्ध प्रतिवाद गर्न हिचकिचाउँदिनन् । आफूलाई अन्यभन्दा अब्बल सावित गर्न पाखुरा चलाउँछिन् । चाप्लुसी गरेर आफ्नो दुनो सोझाउनेहरूको भीडमा पर्दिनन् उनी ।

आफ्नो आवाज दबाउनेहरूविरुद्ध उभिने सशक्त महिला हुन् उनी । महिला भएकै कारण आफ्नो क्षमतामाथि अविश्वास गरिने सत्य बुझेर दोब्बर मिहिनेत गर्छिन् । तर पनि उनलाई दबाउन, मुख थुन्न र कमजोर सावित गर्न पितृसत्तात्मक संरचना नै स्थापना गरिएको छ ।

यो कौशी थिएटरमा मञ्चन भइरहेको ‘प्ले द सिस्टम’ को नमिता शर्मा (रञ्जना भट्टराई) को मात्रै कथा होइन । कार्य क्षेत्रमा महिला भएकै कारण असमान व्यवहार, लैंगिक दुर्व्यवहार र दमन सहिरहेका अनि यसविरुद्ध आवाज उठाइरहेका महिलाको साझा भोगाइ हो । जो अझै पनि यो संरचना भत्काउन लडिरहेका छन्, आफ्नो अस्तित्व, पहिचान र समानताका लागि आवाज उठाइरहेका छन् । खासमा आफ्नो आत्मसम्मान, स्वाभिमान र समान व्यवहारका लागि निरन्तर लड्दै आएका नमिताहरूको कथा हो, ‘प्ले द सिस्टम’ ।

आर्किटेक्चर फर्ममा भर्खरै जोडिएकी हुन्, नमिता । तर, फर्ममा जोडिएको महिनौंसम्म पनि म्यानेजर शैलेस (इलम दीक्षित) ले उनलाई कुनै काम दिँदैनन् । उनमा आफूलाई सावित गर्ने, क्षमता देखाउने हुटहुटी छ । नमितासँग साथमा जागिर मात्रै छ, जिम्मेवारी छैन । कार्यकक्ष पनि कुनातिर स्टोरछेउमा छ । फर्मको ६ करोडको महत्त्वाकांक्षी प्रोजेक्ट (ललितपुरको मल रेनोभेट) मा उनलाई सहभागीसमेत गराइएको छैन । आखिर किन ?

नमिताले कार्यकक्षमा महिला समानताको पक्षमा बोलेकी छन् । प्रतिभावान् छिन्, त्यो प्रोजेक्टमा आबद्धहरूभन्दा सक्षम पनि छिन् । तर, म्यानेजर शैलेसलाई नमिताको त्यही महिलावादसँग समस्या छ ।

शैलेस मात्रै होइन, कार्यालयका अधिकांश पुरुष सहकर्मीले उनको महिलावादी दृष्टिकोण पचाउन सकिरहेका छैनन् । पितृसत्तात्मक सोचले ग्रसित महिला सहकर्मी चाहना (रोशनी स्याङ्बो) लाई नमिताको त्यस किसिमको बलियो उपस्थितिले अन्यलाई झैं अस्तित्वकै संकटमा पुर्‍याएको छ । अन्ततः रोकिएको प्रोजेक्ट नमिताको योगदानकै कारण अघि बढ्छ । तर उनलाई त्यसको श्रेय दिन शैलेसको पुरुषत्वले दिँदैन । उनी आफूलाई नमिताअघि कमजोर बनाउन चाहँदैनन् वा भनौं नमिता बलियो भएको देख्न चाहँदैनन् । खासमा उनीभित्रको पुरुषत्वले कुनै महिलाले त्यस किसिमको समस्या समाधान गर्न सक्छ भन्ने सत्य स्विकार्नै चाहँदैन ।

रंगकर्मी आकांक्षा कार्कीद्वारा निर्देशित, थेरेसा रिबेकको नाटक ‘ह्वाट वी आर अप अगेन्स्ट’ बाट प्रियंकरले अनुवाद गरेको नाटक ‘प्ले द सिस्टम’ मा पितृसत्तात्मक संरचनाद्वारा सञ्चालित शैलेसजस्ता पात्रहरूको मनोविज्ञान, उनीहरूका बुझाइ र सोचविरुद्ध व्यंग्य गरिएको छ । शैलेस नेपाली समाजको प्रतिनिधि पात्र मात्रै हुन्, जो पितृसत्तात्मक संरचनाअनुसार चल्छन् । नाटकमा देखिने अधिकांश पुरुषमा यो समस्या बलियोसँग जरा गाडेर बसेको देखिन्छ । उनीहरूलाई नमिताको प्रतिभा, उपस्थिति र सहभागितासँग ठूलै समस्या छ । उनीहरू महिलालाई आफूभन्दा माथि देख्नै चाहँदैनन् । नमिताहरूलाई कमजोर बनाउन शैलेस मात्रै होइन, अधिकांश पुरुष लागिपरेका छन् । कारण, उनीहरूलाई महिला नेतृत्व, समान व्यवहार र समावेशी समाजले ढाल्ने पितृसत्तात्मक समाजसँग प्रेम छ ।

नाटकमा चाहनाजस्ता पात्रहरूलाई पनि उभ्याइएको छ । चाहना महिला हुन् तर पितृसत्तात्मक सोच हाबी भएकी । चाहनालाई पनि नमिताको व्यवहारले अचाक्ली पोल्छ । स्त्रीद्वेषी चरित्र उनमा मज्जाले भरिएको छ । उनी नमितालाई पुरुषकै दृष्टिकोणबाट हेर्छिन् । नमिताको प्रतिभा, हठी स्वभाव उनलाई पनि बिझ्छ ।

पछिल्लो समय बलात्कारदेखि दुर्व्यवहारजस्ता मुद्दामा असंवेदनशील भई नारा लगाउँदै हिँड्ने, पुरुषवादी चिन्तनद्वारा पीडितलाई झनै पीडित बनाइराख्ने स्वभावका महिलालाई चाहना चरित्र खडा गर्दै नाटकले कटाक्ष गर्छ ।

नाटकमा कार्यक्षेत्रमा हुने दुर्व्यवहारका मिहिन दृश्यहरू पनि केलाइएको छ । जब विश्वास (सुरज मल्ल) ले नमिताले पाइपलाइनको डिजाइन तयार पारिसकेको खबर छलफलमा सुनाउँछ, तब पंकज (ऋषिकेश बस्याल) ले नमितालाई कमजोर देखाउँदै तथानाम गाली गर्न थाल्छ । ती गालीलाई उनी यति सामान्य तरिकाले बोलिरहेका हुन्छन् कि, मानौं ‘सरी’ शब्द छेउको महिलासँग बोल्नका लागि अनुमति मात्र लिइएको हो ।

नाटकमा अधिकांश पुरुषलाई खराब रूपमा चित्रण गरिएको छ । लैंगिक असमानता र यौन दुर्व्यवहारजस्तो गम्भीर मुद्दा बुझ्ने पुरुष समाजमा नभएका पनि होइनन् । तर थोरैले भए पनि यो मुद्दाको गहिराइ बुझेका छन् । आकांक्षाले विश्वास चरित्रमार्फत यसको सन्तुलन मिलाउने प्रयास गरेकी छन् । तर, विश्वासले कतै पाइपलाइनको डिजाइनका लागि नमितातिर झुकाव बढाउँदै गएका त होइनन् ? प्रश्न गर्ने ठाउँ पनि छ नाटकमा । यस किसिमको गम्भीर मुद्दालाई स्थापित गर्न केही पुरुष चरित्रलाई सन्तुलित बनाइएको भएनाटकले उठाउन खोजेको मुद्दाको शक्ति झनै बढ्ने थियो ।

नाटकमा नमिताको जटिल अवस्था, मनोविज्ञानमा पारेको प्रभाव, उनीभित्रको हुटहुटीलाई रञ्जनाले दुरुस्तै अभिनयमा पस्केकी छन् भने म्यानेजर शैलेसको आक्रोश र पुरुषत्वलाई इलमले मञ्चमा बाँचिदिएका छन् । चाहनाको द्वैध चरित्रमार्फत ढोंगीहरूको ढोंगलाई रोशनीले सुन्दर ढंगले अभिनयमा प्रस्तुत गरेकी छन् । विश्वास चरित्रमा सुरज र पंकज बनेका ऋषिकेश पनि अभिनय प्रस्तुतिमा दमदार देखिएका छन् ।

संवेदनशील मुद्दामा प्रश्न उठाइरहने, समाजलाई खबरदारी गरिरहने आकांक्षाले फेरि दुर्व्यवहारको फरक मुद्दालाई फरक सेटिङमार्फत ‘प्ले द सिस्टम’ मा प्रस्तुत गरेकी हुन् । नाटकले कार्यक्षेत्रमा मात्र नभई सबैतिर व्याप्त यौन दुर्व्यवहारको प्रभाव उजागर गरेको छ । अनि बलियोसँग भनेको छ, जबसम्म पितृसत्तात्मक संरचनाभित्र बस्छौं, तबसम्म नमिताहरूले यसको विरुद्ध संघर्ष गरिरहनुपर्छ, लडिरहनुपर्छ । यौन दुर्व्यवहारविरुद्ध लड्दै आइरहेका महिलाहरूको साहस, आँट र उनीहरूको मनोवैज्ञानिक पक्षलाईसरल तरिकाले प्रस्तुत गर्न नाटक सफल भएको देखिन्छ ।

प्रकाशित : असार १४, २०८१ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×