कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

धानका बेर्ना तयार नहुँदा गण्डकमा पानी ३५० क्युसेक मात्रै

शंकर आचार्य

पर्सा — रोपाइँका लागि पर्सा,  बारा, रौतहट जिल्लाका किसानको धानको बेर्ना अझै तयार नभएको भन्दै नारायणी सिंचाई व्यवस्थापन कार्यालय वीरगन्जले हाललाई गण्डक नहरमा भारतीय पक्षसँग ३ सय ५० क्युसेक मात्र पानी माग गरेको छ ।

धानका बेर्ना तयार नहुँदा गण्डकमा पानी ३५० क्युसेक मात्रै

कार्यालयका सूचना अधिकृत एवम् इन्जिनियर सुरेश साहले नहरमा आश्रित तीन वटै जिल्लाका किसानको धानको बेर्ना रोपाइँका लागि अझै तयार नभई सकेको र हाल किसानबाट पानीको माग समेत नआएकाले तत्काललाई नहरमा ३ सय ५० क्युसेक मात्र पानी दिन भारतीय पक्षलाई आग्रह गरिएको बताए ।

‘रोपाइँ अघि किसनको खेत डुबानमा पार्नु भन्दा हामीले हाललाई पानीको कम माग भएकाले नहरमा थोरैनै पानी दिन भनेका हौं,’ उनले भने, ‘भारतीय पक्षले पनि हाल ३ सय ५० क्युसेक मात्र पानी दिएको छ, किसानबाट माग आउन थालेपछि फेरि पानीको परिमाण बढाउन भारतीय पक्षसंग आग्रह गर्ने छौं ।’

नहरमा भारतीय पक्षले बिहीबार साँझ ४ बजे नै २ सय ५० सय क्युसेक पानी छोडिसकेको थियो । शुक्रबार भने नहरमा भारतीय पक्षले ३ सय ५० क्युसेक पानी दिन थालेको हो । यसअघि राष्ट्रिय धान दिवशकै दिन किसानको रोपाइँ गर्ने निर्धारित कार्यक्रमलाई लक्षित गरी पानी दिन कार्यालयले भारतीय पक्षलाइ पत्राचार गरेको थियो ।

नहरमा हाल उपलब्ध पानी नहरको ब्लक नम्बर ११ अर्थात् बाराको महागढीमाई नगरपालिका भन्दा पूर्व जमुनी खोला पारी पिपरपाती क्षेत्र सम्म सम्म पुगेको इन्जिनियर साहले बताए ।

बर्षेनी धान बालीका लागि असार १५ र गहु बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिने पर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल भारत सीमामा निर्मित व्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किमी यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा,बारा र रौतहटमा गरी १५ ब्लकमा बिभाजित गण्डक नहरको लम्बाई नेपाल तर्फ ८१ किमी रहेको छ ।

गण्डक व्यारेजको निर्माण भारतले आफै गरेको र सन्चालन पनि भारतीय पक्ष आफैले गर्छ । उसले व्यारेजबाट नेपाल भन्दा भारतीय भूमीमा बढी पानी लग्ने गरी नहरको संरचना निर्माण गरेको छ ।

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीन वटा जिल्लामा गरी ३७ हजार ४ सय हेक्टर जग्गा सिंचित गर्ने लक्ष्य भएपनि रौतहटको मध्य भाग सम्म पानी भने प्रायः पुग्दैन ।

नहरको नियमित सरसफाई र मर्मत सम्भार नहुँदा रौतहट सम्म नहरमा पर्याप्त पानी पुग्न नसकेको हो ।

प्रकाशित : असार १६, २०८१ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×