कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७१

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा सास्ती

प्रकाश बराल

बागलुङ — असारको १४ गते रातभर परेको वर्षात्‌ले जैमिनी नगरपालिकाको मुकाम रहेको कुश्मीसेरादेखि सर्कुवा, बिनामारे, दमेक, कुशीगाउँ र टुनीबोट तर्फको सडक अवरुद्ध भयो । किसानले तत्कालै दूध बजारमा लैजान नपाएपछि चिन्ता बढ्यो । नगरपालिकाले जसोतसो सदरमुकाम जाने सडक ४ घण्टा लगाएर खुलायो ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा सास्ती

ग्रामीण सडक भने सातादेखि खुल्न सकेका छैनन् । ग्रामीण सडकमात्र होइन यहाँ पुग्ने कालीगण्डकी करिडोरमा पनि सवारी चल्न सकेका छैनन् । वडा नं ५ को पहिरो र वडा नं १ मा अजंगको ढुंगा खसेपछि सडक ठप्पै छ । त्यसबाहेक बागलुङ नगरपालिका १० को दब्ल्याङस्थित पहिरोले पनि लोकमार्गलाई नै असर गरेको छ ।

यी सडक अवरुद्ध भएपछि कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका किसानले दूध बजार पठाउन सकेका छैनन् । गाडी नचलेपछि बोकेर पर्वत सदरमुकाम कुश्मासम्म लगेपछि मात्रै गाडीमा राखेर पोखरा पठाउन पाएको सहकारीका अध्यक्ष कृष्णप्रसाद लामिछानेले बताए । ग्रामीण क्षेत्रका किसानले त कुश्मीसेरा बजारसम्म पनि बोकेरै ल्याउँछन् । समयमा ल्याउन नसक्दा दूध फाट्ने खतरा भएको जैमिनी नगरपालिका ८ का रघुनाथ पौडेलले बताए । ‘दैनिक ५० देखि ६० लिटर दूध सदरमुकाम पठाउने गरेको थिएँ,’ पौडेलले भने, ‘सडक अवरुद्ध भएपछि कहिले घरै फाटेको छ, कहिले बोकेर पुर्‍याउन बाध्य छौं ।’ समयमा दूध नपुग्दा फाट्ने गरेको उनले गुनासो गरे ।

वडा ८ को छिस्तीबाट करिडोर हुँदै सदरमुकाम आउने कुनै पनि सडक नियमित संचालनमा छैनन् । पर्वतको फलेवास हुँदै पठाउँदा पनि ढुवानीमा दोब्बर खर्च भएको उनले गुनासो गरेका छन् । यो समस्या बागलुङ नगरपालिका १२ अमलाचौरका किसानलाई पनि परेको छ । ‘गाउँमा दूध संकलन गरेर जोगाइराख्न चिलिङ भ्याट चाहिएको छ,’ स्थानीय मुक्तिराम आचार्यले भने, ‘दूध संकलन गर्न नपाएर वर्षात्‌मा धेरै किसानले दूधमा नोक्सानी व्यहोर्नुपर्नेछ ।’ गर्मी मौसममा छिटो दूध फाट्ने गर्छ । समयमा ढुवानी गर्न नपाएपछि किसानले झन् बढी नोक्सानी व्यहोर्नु परेको हो ।

यो सास्ती काठेखोला गाउँपालिका ३ को धम्जा, वडा ८ को लेखानी लगायतका स्थानका किसानले पनि भोगेका छन् । ताराखोला गाउँपालिका १ सिले गाउँका किसान त झन् पीडित छन् । उनीहरुले सडक अप्ठ्यारो भएकै कारण बजारमा दूध लैजान पाएका छैनन् । ‘लिमे’ र ‘पाराकोटे’ जातका भैसी पालन गरेका किसानले सडककै समस्याले दूध बेच्न नपाएको स्थानीय प्रमानन्द गौतमले गुनासो गरे । ‘सडक नभएपछि घरघरमा किसानले घिउ उत्पादन गरेका छन्, तर दूध बेचेजस्तो घिउमा फाइदा छैन,’ गौतमले भने, ‘किसानको हातमा नगद आउने भनेको दूधबाटै हो ।’ घिउ बनाउन चाहिने मिहिनेतको तुलनामा फाइदा नभएको उनले बताए ।

वर्षात् लागेपछि मध्यपहाडी लोकमार्गको पनि ठाउँठाउँमा पटक-पटक सडक अवरुद्ध भैरहेको छ । राष्ट्रिय राजमार्ग ठप्प बन्दा यात्रीले भन्दा किसानले बढी सास्ती खेपेको भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले बताए । ‘हामीले किसानको उत्पादन बजारीकरणमा साथ दिन खोजेका छौं, तर सबै ठाउँमा चिलिङ भ्याट दिन सकेनौं,’ सापकोटाले भने, ‘सडकहरु सहज बनाउने काममा पालिकाहरु सक्रिय बन्नुपर्छ ।’ केन्द्रले किसानको उत्पादनलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिएको र धेरै दूध उत्पादन भएका स्थानमा चिलिङ भ्याट वितरण गरिएको उनले बताए । स्थानीय तहले पनि पालिका केन्द्रमा रहने गरी एक/एकवटा चिलिङ भ्याटको व्यवस्थापन गर्न सकेमा किसानको उत्पादनलाई बजारीकरणमा साथ मिल्ने उनले बताए ।

काठेखोला गाउँपालिकाले किसानको दूध संकलन हुने स्थानमा चिलिङ भ्याट सहयोग गर्ने योजना बनाएको अध्यक्ष राजु थापाले बताए । अन्य पालिकाले भने तत्कालको योजना नबनाएको बताए । ‘हामीले दूध उत्पादनमै अनुदान दिएका छौं, चिलिङ भ्याट बनाउने कुरा आवश्यकता भयो भने सोच्न सकिन्छ,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘किसानको उत्पादन बढाउने, बजारीकरण गर्ने र आयआर्जनमा साथ दिन पहल गर्नेछौं ।’

दूग्ध उत्पादक सहकारी संघ बागलुङको तथ्यांकअनुसार काठेखोलाको मात्रै ४ हजार लिटर दूध सदरमुकाम आउने गरेको छ । केन्द्रका अनुसार बागलुङका सबै गाउँको उत्पादन एकमुष्ट गर्दा वार्षिक २५ हजार मेट्रिकटन दूध उत्पादन भैरहेको छ ।

प्रकाशित : असार १८, २०८१ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×