कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भाँडाकुँडा, गमलामा पानी जमे जाग्न सक्छ डेंगी 

रमेशकुमार पौडेल

चितवन — गाडीका पुराना टायरदेखि टुटेफुटेका भाडा वर्तन, ड्रमहरु त्यसै मिल्काए डेंगी रोग फैलने कारण बन्न सक्छ । एडिज जातको लामखुट्टेले टोकेमा डेंगी हुन्छ । यो लामखुट्टेले भाँडावर्तनहरुमा जमेको सफा पानीमा अण्डा पार्दछ ।

भाँडाकुँडा, गमलामा पानी जमे जाग्न सक्छ डेंगी 

गत वर्ष भएको एक अध्ययनमा गाडीको पुराना टायरदेखि ड्रम, ट्यांकी, जार, बाल्टी, गमला र टुटेफुटेका विभिन्न वस्तुहरुमा जमेका पानीमा एडिज लामखुट्टेका लार्भा फेला परेका थिए ।

भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा यो बारेमा जानकारी दिइएको हो । हेटौंडामा कार्यालय रहेको सरकारी निकाय किटजन्य रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रले गत वर्ष वाग्मती प्रदेशका पाँच जिल्लामा एडिजले अण्डा पार्ने सम्भावित ठाउँहरुको लेखाजोखा गरेको महानगरपालिकको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दिपक सुवेदीले बताए । जसमा चितवनको रत्ननगर नगरपालिकाका ५ सय ४७ घरमा अध्ययन भएको थियो । तीमध्ये १ सय ३३ घरमा डेंगी गराउने लामखुट्टे एडिजका लार्भा भेटिएका थिए । ‘यी घरहरुमा भेटिएका ७ सय ५३ ड्रममध्ये ७७ वटामा लार्भा भेटिए । १ सय ६४ वटा पानी ट्यांकीमध्ये २९ वटामा, जार १ सय २० मध्ये १२ वटामा, बाल्टी २ सयमध्ये १२ वटामा, गमला ७४ मध्ये ४ वटामा एडिजमा लार्भा फेला परे’ महानगरको जनस्वास्थ्य अधिकृत केशव भट्टले भने ।

त्यसैगरी ९२ वटा टायरमध्ये १७ वटामा र पानी जमेका अन्य २ सय २ फोहर वस्तुमध्ये १९ वटामा डेंगी फैलाउने एडिज लामखुट्टेका लार्भा फेला परेको भट्टले जानकारी दिए । ‘सबैभन्दा धेरै पानी जमेको ड्रमहरुमा लार्भा भेटिए । तर ड्रम पनि धेरै नै थिए र संख्या पनि धेरै आयो । प्रतिशतका हिसाबले सबैभन्दा बढी लार्भा टायरमा फेला परे । अध्ययनमा भेटिएकामध्ये साढे १८ प्रतिशत टायरमा लार्भा पाइए,’ भट्टले भने । त्यसैले टायरहरु पानी जम्ने गरेर मिल्काउनु घातक हुन सक्ने उनले बताए । ‘एडिजले पाँच एमएल पानी जमेको छ भने पनि त्यसमा अण्डा पार्दछ । त्यसैले सफा पानी तीन/चार दिनभन्दा बढी जम्न दिनु हुँदैन । गमला, कुलर घरमा हुनेहरुले यो ख्याल राख्नु पर्दछ,’ भट्टको अपिल छ ।

डेंगी भएमा उच्च ज्वरो आउने, हड्डी नै दुख्ने गरेर पीडा हुन्छ । यो एकखाले भाइरसका कारणले हुन्छ । डेंगीका चार प्रकारका भाइरस छन् । ‘ती भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेले टोकेमा मान्छेलाई डेंगी संक्रमण हुन्छ । ८० प्रतिशत जतिलाई त डेंगी लागेको लक्षण नै देखिन्न । बाँकी २० प्रतिशतमध्ये आधालाई मात्र गम्भीर समस्याहरु आउन सक्छन् । यसका लागि अस्पतालमा बेलैमा उपचार गराउनु पर्दछ,’ भट्टले भने ।

जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दिपक सुवेदीका अनुसार मनसुन सक्रिय भएसँगै डेंगी संक्रमण बढ्न सुरु हुन्छ । उनका अनुसार विश्वमा सन् १९५० मे डेंगी महामारी फैलिएको थियो । तर नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी देखिएको थियो । चितवनमा उपचार गराएका एकजना विदेशीलाई त्यो बेला डेंगी भएको पत्ता लागेको सुवेदीले जानकारी दिए । त्यसपछि सन् २००६ मै चितवनमा डेंगी निस्किएको थियो । सन् २०१० मा चितवन र रुपन्देहीमा डेंगीले महामारीको रुप लिएको थियो ।

चितवनमा प्राय जसो तीन वर्षको अन्तरालमा डेंगीले दु:ख दिने गरेको छ । गत वर्षसम्म देशका ७७ वटै जिल्लामा डेंगी पुगेको सुवेदीले बताए । सन् २०२३ मा देशभर ५१ हजार २ सय ४३ जनालाई डेंगी संक्रमण भएको र तीमध्ये २० को निधन भएको भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत भट्टले जनाए । गत वर्ष पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १६ थिए । चितवनमा गत वर्षको साउनदेखि यो असार १५ सम्म ६ सय ६५ पुरुष र ६ सय ३ महिला गरेर कुल १ हजार २ सय ६८ जना संक्रमित भएका छन् । जसमध्ये भरतपुर महानगरमा सबैभन्दा धेरै ६ सय ६३ जना छन् । जिल्लाको पहाडी भेग इच्छाकामना गाउँपालिकामा पनि ५४ जनामा संक्रमण देखिएकोले सबै क्षेत्रमा सतर्कता अपनाउन आवश्यक भएको भट्टको भनाइ छ । इच्छाकामनामा पछिल्लो २४ घण्टामा मात्रै ११ जनामा संक्रमण देखिएको छ ।

असारदेखि मंसिरसम्म डेंगीको उच्च जोखिम रहने गर्छ । ‘डेंगी नियन्त्रण गर्न व्यक्ति आफैं पनि सजग रहनु पर्ने हुन्छ । पानी जम्ने स–साना भाँडाकुँडा हटाउनु पर्‍यो । यस्तो काम आफ्नो घरमा आफै र सार्वजनिकस्थलमा स्थानीय पालिकाहरु र सरोकारवाला संघ संस्थाले गर्नु पर्दछ,’ महानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख सुवेदीले भने । लामखुट्टे मार्न भन्दै विषादी छर्कनु डेंगे नियन्त्रणमा प्रभावकारी नहुने उनको सुझाव छ ।

प्रकाशित : असार १६, २०८१ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×