कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बीएण्डबी अस्पतालमा रोबोटबाट शल्यक्रिया

काठमाडौँ — ललितपुरको बिएण्डबी अस्पतालमा रोबोटिक सर्जरी भएको छ । वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन् । अस्पतालको दाबी अनुसार रोबोट प्रयोग गरेर नेपालमा शल्यक्रिया गरिएको यो पहिलो पटक हो ।

बीएण्डबी अस्पतालमा रोबोटबाट शल्यक्रिया

ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोट प्रयोग गरेर ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिस्ट र ३४ वर्षकी महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् ।

डा. शर्माले नेपालमा रोबोटिक सर्जरी गरिरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेको पनि अस्पतालले जनाएको छ । रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ ।

बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यका अनुसार नेपालमै पहिलो पटक रोबोटमार्फत शल्यक्रिया सम्पन्न भएको हो । रोबोटिक सर्जरी अब स्त्री तथा प्रसूति रोगका बिरामीलाई मात्रै नभएर अन्य रोगको शल्यक्रियामा पनि प्रयोगमा ल्याइने उनले जानकारी दिए । डा. वैद्यका अनुसार यो उपलब्धिले नेपालको स्वास्थ्य क्षेत्रका लागि नयाँ युगको सुरुआत गरेको छ ।

शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा. शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ । यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उनको भनाइ छ ।

प्रकाशित : असार १६, २०८१ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×