कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७१

'शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन'

काठमाडौँ — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक दलहरुले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्नुपर्ने बताएका छन् ।

'शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्नुहुँदैन'

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसर पारेर सानेपामा मंगलबार आयोजित कार्यक्रमाम बोल्दै नेता सिटौलाले शान्ति प्रक्रियाको काम तत्काल पूरा गर्दामात्रै पीडितले न्याय पाउने र गिरिजाप्रसाद कोइरालाप्रति पनि उचित श्रद्धासुमन हुने धारणा राखे । उनले सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा ढिला नगर्न पनि सरकार र राजनीतिक दलहरुलाई दबाब दिए ।

नेता सिटौलाले भने, ‘सत्य निरुपण तथा वेपत्ता छानबिन आयोग, त्यो सम्बन्धी कानुनले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । म कसैलाई दोष दिन चाहन्न । हाम्रो यो नालायकीबाट देशलाई मुक्त गरेनौं भने भविष्यमा मुलुकलाई राम्रो हुँदैन । पीडितले न्याय पाउने कुरा विस्तृत शान्ति सम्झौतामा हामीले लेख्यौं । हामीले आजको दिनमा कमिटमेन्ट गर्नु पर्छ–द्वन्द्वपीडितलाई न्याय दिनेगरी काम गर्छौं । ’

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रियामा दिएको योगदानको सम्मान गर्न पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूरा गर्ने कुरामा जोड दिए । उनले सरकार र राजनीतिक दलहरुले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिलाई गर्न नहुने बताए । उनले शान्ति प्रक्रियालाई पूर्णता दिने विषयलाई राजनीतिक दलहरुले समान्य रुपमा लिए मुलुकका लागि दुर्भाग्य हुने चेतावनीसमेत दिए । अध्यक्ष भट्टराईले शान्ति प्रक्रियाको बाँकी काम तत्काल पूरा गर्न पनि दलहरु प्रतिबद्ध भएर लाग्नुपर्ने बताए ।

उनले भने, ‘गिरिजाप्रसाद कोइरालाको योगदानको सम्मान गर्ने हो भने प्रतिबद्धता गरौं भन्न मेरा पनि आग्रह छ । संयोगले प्रमुख दलहरुले नै मिलेर सरकार बनाउने भन्ने कुरा आएको छ । मत सरकार पनि छैन । तर त्यो शान्ति प्रक्रियालाई टुंग्याउने जुन विषय छ । यसलाई हामीले किन हल्का रुपमा लिएका छौं ? कोइरालाले आफ्नो जीवनका अन्तिम कालका शान्ति प्रक्रियाको काम टुंगाउने जिम्मेवारी तपाईंहरुको काँधमा छ भन्नुभएको थियो । तर त्यो अझै पूरा हुन सकेको छैन । त्यसलाई तत्काल पूरा गर्नु पर्छ ।'

अध्यक्ष भट्टराईले सहमती, सहकार्य र एकताको बलमा शान्ति प्रक्रियाको कामलाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु गरिएको र त्यसलाई पूर्णता दिने विषयमा पनि दलहरु एकैठाउँमा उभिएर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए ।

प्रकाशित : असार १८, २०८१ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×