कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भाँडाकुँडा, गमलामा पानी जमे जाग्न सक्छ डेंगी 

चितवन — गाडीका पुराना टायरदेखि टुटेफुटेका भाँडावर्तन, ड्रमहरु त्यसै मिल्काए डेंगी रोग फैलने कारण बन्न सक्छ । डेंगी फैलाउने एडिज जातको लामखुट्टेले जमेको सफा पानीमा अण्डा पार्छ । 

भाँडाकुँडा, गमलामा पानी जमे जाग्न सक्छ डेंगी 

गत वर्ष भएको एक अध्ययनमा गाडीको पुराना टायरदेखि ड्रम, ट्याङ्की, जार, बाल्टी, गमला र टुटेफुटेका विभिन्न बस्तुहरुमा जमेको पानीमा एडिज जातको लामखुट्टेका लार्भा फेला परेका थिए । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रबर्द्धन शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा यो बारेमा जानकारी दिइएको हो ।

हेटौंडास्थित किटजन्य रोग नियन्त्रण तथा अनुसन्धान केन्द्रले गत वर्ष वाग्मती प्रदेशका पाँच जिल्लामा एडिजले अण्डा पार्ने सम्भावित ठाउँको लेखाजोखा गरेको महानगरको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दिपक सुवेदीले बताए ।

चितवनको रत्ननगर नगरपालिकाका ५ सय ४७ घरमा भएको अध्ययनमा १ सय ३३ मा डेंगी गराउने एडिजका लार्भा भेटिएका थिए । ‘यी घरहरुमा भेटिएका ७ सय ५३ ड्रममध्ये ७७ वटामा लार्भा भेटिए । १ सय ६४ वटा पानी ट्याङ्कीमध्ये २९ मा, १ सय २० जार मध्ये १२ वटामा, २ सय बाल्टी मध्ये १२ वटामा, ७४ गमला मध्ये ४ वटामा एडिजका लार्भा फेला परे,’ महानगरको जनस्वास्थ्य अधिकृत केशव भट्टले भने ।

त्यसैगरी ९२ टायरमध्ये १७ वटामा र पानी जमेका अन्य २ सय २ फोहर वस्तुमध्ये १९ वटामा डेंगी फैलाउने एडिज जातको लामखुट्टेका लार्भा फेला परेको भट्टले जानकारी दिए । ‘सबैभन्दा धेरै पानी जमेको ड्रमहरुमा लार्भा भेटिए । प्रतिशतका हिसाबले सबैभन्दा बढी लार्भा टायरमा फेला परे,’ भट्टले भने ।

त्यसैले टायरहरु पानी जम्ने गरेर मिल्काउनु घातक हुन सक्ने उनले बताए । ‘एडिजले पाँच एमएल पानी जमेको छ भने पनि त्यसमा अण्डा पार्छ । त्यसैले सफा पानी तीन/चार दिनदेखि बढी जम्न दिनु हुँदैन । गमला, कुलर घरमा हुनेहरुले यो ख्याल राख्नु पर्छ,’ भट्टको अपिल छ ।

भाइरसका हुने डेंगी संक्रमणले उच्च ज्वरो आउने, हड्डी नै दुख्ने गरेर पीडा हुन्छ । ‘भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेले टोकेमा मान्छेलाई डेंगी संक्रमण हुन्छ । ८० प्रतिशत जतिलाई त डेंगी लागेको लक्षण नै देखिन्न । बाँकी २० प्रतिशतमध्ये आधालाई मात्र गम्भीर समस्या आउन सक्छन् । यसका लागि बेलैमा उपचार गराउनु पर्छ,’ भट्टले भने ।

जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख दिपक सुवेदीका अनुसार मनसुन सक्रिय भएसँगै डेंगी संक्रमण बढ्न सुरु हुन्छ । सुवेदीका अनुसार नेपालमा सन् २००४ मा पहिलो पटक डेंगी देखिएको थियो । चितवनमा उपचार गराएका एक जना विदेशीलाई त्यतिबेला डेंगी भएको पत्ता लागेको सुवेदीले जानकारी दिए । त्यसपछि सन् २००६ मै चितवनमा डेगी निस्किएको थियो । सन् २०१० मा चितवन र रुपन्देहीमा डेंगी महामारीको रुप लिएको थियो ।

चितवनमा प्रायजसो तीन वर्षको अन्तरालमा डेंगीले दुख दिने गरेको छ । गत वर्षसम्म देशका ७७ वटै जिल्लामा डेंगी फैलिएको सुवेदीले बताए । सन् २०२३ मा देशभर ५१ हजार २ सय ४३ जनालाई डेंगु संक्रमण भएको र तीमध्ये २० को निधन भएको भरतपुर महानगरका जनस्वास्थ्य अधिकृत भट्टले बताए । गत वर्ष पाँच सयभन्दा बढी संक्रमति भएका जिल्ला १६ वटा थिए ।

चितवनमा गत वर्षको साउनदेखि यो असार १५ सम्म ६ सय ६५ पुरुष र ६ सय ३ महिला गरेर एक हजार २ सय ६८ जना संक्रमित भएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै ६ सय ६३ जना छन् । जिल्लाको पहाडी भेग इच्छाकामना गाउँपालिकामा पनि ५४ जनामा संक्रमण देखिएको हुँदा सबै क्षेत्रमा सतर्कता अपनाउन आवश्यक भएको भट्टको भनाइ छ । इच्छाकामनामा पछिल्लो २४ घण्टामा मात्रै ११ जनामा संक्रमण देखिएको छ ।

असारदेखि मंसिरसम्म डेंगुको उच्च जोखिम रहने गर्छ । ‘डेंगी नियन्त्रण गर्न व्यक्ति आफै पनि सजग रहनुपर्ने हुन्छ । पानी जम्ने स–साना भाँडाकुँडा हटाउनु पर्‍यो । यस्तो काम आफ्नो घरमा आफै र सार्वजनिक स्थलमा स्थानीय पालिकाहरु र सरोकारवाला संघसंस्थाले गर्नुपर्छ,’ जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख सुवेदीले भने । लामखुट्टे मार्न भन्दै विषादी छर्कनु डेंगी नियन्त्रणमा प्रभावकारी नहुने उनले बताए ।

प्रकाशित : असार १६, २०८१ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×