कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

स्थानीय उत्पादनको प्रदर्शनी (तस्बिरहरु)

डीबी बुढा

जुम्ला — जुम्लामा स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा स्थानीय बालीको संरक्षण प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय उत्पादनको प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा किसानहरुले आफै उत्पादन गरेका रैथाने वस्तुहरु राखेका छन् ।

जिल्लाको एक नगरपालिका र सातवटै गाउॅपालिकाबाट किसानहरुले प्रदर्शनीमा भाग लिएका हुन् । पछिल्लो समयमा आयतित खाद्यन्नका कारण स्थानीय उत्पादनमा गिरावट आउन थालेपछि किसानहरुलाई स्थानीय उत्पादनमा लाग्न प्रेरित गर्ने हेतुले प्रदर्शनी आयोजना गरिएको हो ।

स्थानीय कच्चा पदार्थ स्वदेशी उत्पादन र रोजगारीमा अभिवृद्धि, लघु घरेलु तथा साना उद्यममा लगानी कर्णालीको समृद्धि भन्ने मूलनाराका साथ सुरु भएको प्रदर्शनीमा किसानहरुको उत्साहवर्द्धक सहभागिता रहेको छ । प्रदर्शनीमा १८ वटा स्टल राखिएका छन् । स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थहरुको बारेमा जानकारी र परम्परागत एवं सुधारका प्रविधिहरुको प्रदर्शनी गरिएको छ । स्थानीय उत्पादनको प्रदर्शनीसँगै विभिन्न स्थानीय झाँकीहरुसमेत देखाइएको थियो ।

स्थानीय उत्पादनमा मकै, सिमी, आलु, कोदो, चिनो, कागुनो, मार्सीचामल, जौ, गहुँ, फाफर लगायतका कृषि उपजहरु प्याकेजिङ बनाएर राखिएको छ । राडीपाखी, स्वीटर, खरायोको टोपी लगायतका सामग्रीहरुदेखि स्याउका चाना, आरु, ओखर पनि प्रदर्शनीमा राखिएको थियो । फापरको केक, कोदोको मम, जडिबुटी चिया, मह, शिलाजित, देवद्यारको तेल पनि प्रदर्शनीमा राखिएको छ ।

पातारासी ६ की चुक्की महताराले स्थानीय बालीको प्रदर्शनीले वास्तविक किसानको पहिचान दिलाएको बताइन् । उनले किसानहरुको दुःख अनुसारको फल प्राप्ति भइरहेको बताउँदै आगामी दिनहरुमा किसानहरुलाई लघु उद्यम संग जोड्नुपर्ने बताइन् । उनले भनिन्, ‘हामी किसानहरु रैथानेबालीहरुको उत्पादन गर्न तयार छौं । सरकारले बेच्ने वातावरण बनाइदिनुपर्‍यो ।’ उनले झण्डै २० प्रकारको रैथानेबालीहरुको प्याकेजिङ गरेर प्रदर्शनीमा राखेकी छिन् ।

गुठिचौर ४ का नारायण धिताल किसानहरुको मिहिनेतमा सरकारको अपनत्व हुनुपर्ने बताए । उनले भने, ‘गाउॅमा किसानहरु रैथानेबाली जोगाउन लागि परेका छन् तर उचित बजारीकरणको अभावमा व्यावसायिक रुपमा अघि बढाउन सकेका छैनन् । प्रदर्शनीमा उत्कृष्ट किसानहरुले पुरस्कार पाउनेछन् । जुम्लाको रैथानेबालीको उत्पादनलाई स्तरोन्नती गर्ने, गाउॅगाउॅमा उद्योगहरु छन् । उनीहरुको पहिचान र बजारीकरणका लागि सहयोग पुगोस् भन्नका खातिर प्रदर्शनीको आयोजना गरिएको छ । आठै वटा स्थानीय तहका स्टलहरु राख्न भनिएको थियो । २२ वटा दर्ता भएकोमा १८ मात्रै राखिएको छ, कार्यालय प्रमुख विनोद बानियाँले जानकारी दिए । उनका अनुसार उत्कृष्ट किसान छान्न कार्यालयको मापदण्ड र अवलोकनकर्ताहरुको भोटिङले महत्वपूर्ण भूमिका रहनेछ । प्रथमलाई ३० हजार, दोस्रो २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजक उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले जनाएको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतका सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुले प्रदर्शनीको अवलोकन गरेका छन् ।

प्रकाशित : असार ७, २०८१ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्