कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

फेरि चाहियो ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिका’

पाठक पत्र

कुनै पनि भाषा आफ्नै प्रकारको वर्ण, व्याकरण र विशेषताका आधारमा परिचित हुन्छ । यसमा बिस्तारै शब्दसंख्या बढ्दै जानु, कतिपय शब्दको अर्थ परिवर्तन हुनु र अर्को भाषाको धेरथोर प्रभाव पर्नु स्वाभाविकै हो । कतिपय शब्दमा भइआएका गलत प्रयोग र वर्णविन्यासगत त्रुटिलाई विज्ञसमूहले औंल्याइदिएर सचेत गराउनु पनि अत्यावश्यक हुँदै हो ।

फेरि चाहियो ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिका’

तर कसैको मनमा आएको लहडी विचारकै आधारमा वर्षौंदेखि चल्दै आएर सम्पदाका रूपमा स्थापित व्याकरणिक व्यवस्थालाई परिवर्तन गर्न मिल्दैन । यही नमिल्ने कुरा, नेपाली भाषा र व्याकरणका सन्दर्भमा हुँदै आएको पाइन्छ । यस क्रमको चरम रूप, २०६७ सालमा कक्षा ११ मा पढाइ हुने अनिवार्य नेपालीको पाठ्यपुस्तक ‘सबैको नेपाली’ मार्फत देखिएको थियो ।

२०६९ साउन १७ मा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्मासमक्ष ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिका’ को वर्णविन्याससम्बन्धी टिप्पणी आदेश पेस गरिएको थियो, जसलाई शर्माले साउन २२ मा सदर गरेका थिए । त्यसविरुद्ध विभिन्न रिट परे । स्वागत नेपाल र टपेन्द्र कार्कीले ‘सो टिप्पणी आदेश नेपालको संविधानको धारा १३३ (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी पाऊँ’ भनी २०७३ भदौ २४ मा दिएको रिटमा आठ वर्षपछि गत आइतवार निवेदकका पक्षमा फैसला आएको छ ।

विशेषतः ‘सबैको नेपाली’ पछि उत्पन्न भाषिक विवादलाई लिएर बलदेव शर्मा अधिकारीको संयोजकत्वमा ‘नेपाली भाषा बचाउ अभियान २०७२’ नै खडा गरिएको थियो । त्यसलाई हजारौं भाषाप्रेमी नेपालीले आफ्नो हैसियत र क्षमताअनुसार साथ दिएका थिए । ढिलै भए पनि सर्वोच्च अदालतले भाषिक व्यवस्थाको मर्म बुझेर फैसला गरिदिएकामा यतिखेर समस्त भाषाप्रेमी खुसी देखिएका छन् ।

तर दुःखलाग्दो कुरो के छ भने २०६७ यता शैक्षिक संस्था र शैक्षिक क्रियाकलापमार्फत अर्बौं खर्च गरेर नेपाली भाषाको वर्णविन्यास बिगार्ने काम गरियो । शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र र त्रिभुवन विश्वविद्यालयजस्ता जिम्मेवार निकायका मान्यतामा एकरूपता देखिएन । मानक मानिएको ‘नेपाली बृहत् शब्दकोश’ को संस्करण नै सम्पादन, फेरि सम्पादन र ‘विस्थापन’ का अवस्थामा पुग्यो । यसरी परिवर्तित वर्णविन्यास पढ्ने/पढाउने र सिक्ने/सिकाउने क्रममा गलत बुझाइ र गलत लेखाइ नै लत भइसकेको छ । यसरी नेपाली वर्णविन्यासको शुद्ध रूप के थियो भन्ने विषयमा एउटा पुस्तामा नै अनभिज्ञता रहेको छ ।

पहिला बनाउन गाह्रो भयो । बीचमा बिगार्न सजिलै भयो । अब फेरि बिग्रेकोलाई बनाउन गाह्रो छ । त्यसैले नेपाली भाषा र व्याकरणमा देखिएको पूर्ववत् वर्णविन्यासलाई सामान्य जानकारीसहित पुनःस्थापना गराउन सम्बन्धित निकायले यथाशीघ्र ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिका’ जारी गरोस् ।
– इन्द्रकुमार श्रेष्ठ, वागिश्वरी मावि, च्याह्मासिंह, भक्तपुर

प्रकाशित : असार १२, २०८१ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×