कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

बजेट कसका लागि ?

पाठक पत्र

अहिले हरेक पालिकामा धमाधम असारे विकास भइरहेको छ । कतै सरकारी भवन, कतै घेराबार त कतै बाटो, नालाहरू । कतिपय काम आवश्यकताअनुसार छन् । कतै बजेट सक्ने चटारो देखिन्छ । तर जसका लागि बजेट अत्यावश्यक छ, राज्यको नीतिले पनि बोलेको पिछडिएका वर्ग तथा क्षेत्र समुदाय, सीमान्तकृत उत्पीडित जातिहरूलाई बजेटले छोएको छैन ।

बजेट कसका लागि ?

विगतका वर्षमा कहींकतै त महिलाको बजेट पनि बाटो र चौतारोमा हालियो । स्कुले बच्चाका नाममा आएको दिवा खाजाको रकमबाट शिक्षकले तलब खाए । तर दिनभरि काम गरी साँझ एक पोका नुन किनेर घर फर्किने सीमान्तकृतका लागि बजेटमा सम्बोधन भएन । दैनिक बढिरहेको महँगीको चपेटामा गरिब पनि परिरहेकै छन् । तर उनीहरूका लागि न राज्य छ न राज्यको बजेट काम लाग्छ ।

गाउँ–गाउँमा सिंहदरबार पुग्यो भन्छन् । तर यहाँका बादी, कुसबन्दिया, चिडिमार, घरियारा, दलित, मधेशी, मुस्लिम, भूमिहीन सुकुम्बासी र फरक क्षमता भएका समुदायका लागि बजेट देखिँदैन । अहिले स्थानीय तहको होस् या संघ, पार्टी र कार्यकर्ता हेरेर बजेट बनाइन्छ । आफ्ना दलका ठेकेदारले पेस गरेको योजनाका आधारमा बजेट बन्छ ।

माथिदेखि तलसम्म बजेटको लुछाचुँडीमा यही देखिन्छ । बजेट दलमुखी, नेतामुखी भएको र बजेटको किताव नै च्यातेको दृश्य पनि नदेखेका होइनौं । खासमा बजेट देश र जनताका लागि हुनुपर्ने होइन र ? हामीले हाम्रा लागि बजेट बन्यो, नीति तथा कार्यक्रम बन्यो भनेर खुसी हुने दिन कहिले आउँछ ?
– विष्णु रोका, नेपालगन्ज, बाँके

प्रकाशित : असार १३, २०८१ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×