कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एकीकृत समाजवादीको महाधिवेशन आइतबारदेखि, सहमतिमा नेतृत्व चयनको प्रयास

सहमति नभए वर्तमान अध्यक्ष नेपाल र महासचिव भुसालबीच प्रतिस्पर्धा हुने सम्भावना
गंगा बीसी

काठमाडौँ — एकीकृत समाजवादीको महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदै छ । शनिबार शीर्ष नेताहरूले महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्ने प्रयास गर्ने उल्लेख गर्दै त्यसो हुन नसके लोकतान्त्रिक विधिबाट अघि बढ्ने बताएका छन् ।

एकीकृत समाजवादीको महाधिवेशन आइतबारदेखि, सहमतिमा नेतृत्व चयनको प्रयास

एमालेबाट विभाजन भएको दुई वर्ष १० महिनापछि हुन लागेको महाधिवेशनमा वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल अध्यक्षका लागि आकांक्षी देखिएका छन् । २०७८ भदौमा नेपाल पक्ष एमालेबाट विभाजित भई एकीकृत समाजवादी गठन भएको थियो । नेपालको नेतृत्वमा पार्टीले स्थानीय, प्रदेश र संघको निर्वाचनमा कमजोर परिणाम ल्याएको भन्दै युवा नेताले नेतृत्व हस्तान्तरणमा जोड दिएका छन् ।

तीन नेताले नेतृत्व चयन सकेसम्म सहमतिबाट गर्ने शनिबार पत्रकार सम्मेलनमा बताए । तर नेपाल र भुसालले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । खनालले भुसाललाई समर्थन गर्ने संकेत दिएका छन् । सहमति नभए अध्यक्षका लागि नेपाल र भुसालबीच प्रतिस्पर्धा हुनेछ । अध्यक्ष नेपालले महाधिवेशनमा प्रस्तुत गर्ने दस्ताबेज सहमतिमा भएकाले प्रतिनिधिहरूले नेतृत्व पनि सहमतिमा टुंगियोस् भन्ने चाहेको दाबी गरे ।

‘दस्ताबेजझैं नेतृत्व सहमतिमा टुंगो लगाइयोस् भन्ने हामीले सुनिरहेका छौं,’ उनको भनाइ थियो, ‘नेपाली समाजमा ठूला उथलपुथल भएका छन् । उथलपुथलमा महत्त्वपूर्ण भूमिका खेलेका छौं । सहभागी मात्र होइन, नेतृत्व गरेका छौं । प्रत्येक चुनौतीको सफलताका साथ सामना गरेका छौं ।’ उनले एमालेबाट विद्रोह गरेपछि पनि पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

नेता खनालले नेतृत्व चयनका लागि अन्तिम समयसम्म सहमतिको प्रयास जारी राख्ने उल्लेख गर्दै कुरा मिल्न नसके प्रतिस्पर्धाको विधि लिइने बताए । आगामी समाजवादको कार्यदिशामा नेतृत्वबीच सहमति भएको उल्लेख गर्दै उनले नेताहरूबीच वैचारिक बहस हुनु स्वाभाविक भएको धारणा राखे ।

‘हामीले दस्ताबेज सहमतिका साथ पारित गरेका छौं । नेतृत्व पनि सर्वसम्मत ढंगले निर्माण गरौं । त्यसले सिंगो कम्युनिस्ट आन्दोलनलाई अघि बढाउँछ,’ उनको भनाइ थियो, ‘हामी नेताबीच ठूलो समस्या छैन । कम्युनिस्ट पार्टीबीच बहस हुनु ठूलो कुरा होइन । सम्पूर्ण प्रतिनिधिको सर्वसम्मत नेतृत्व होस् भन्ने चाहना छ । केही गर्दा पनि मिलेन भने लोकतान्त्रिक बाटो लिनुपर्ने हुन्छ ।’

महासचिव भुसालले नेतृत्व हस्तान्तरणमा सहमति भए मात्र स्वीकार गर्न सकिने उल्लेख गर्दै अध्यक्ष नेपालले नेतृत्वबाट विश्राम लिने सही मौका भएको बताए । नेतृत्व हस्तान्तरणले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्न सहज हुनुका साथै समाजमा आशा जगाउने उनले टिप्पणी गरे ।

‘सर्वसम्मतिका नाममा यथास्थितिमा निस्सासिएर सकिने हो कि पार्टीको समग्र प्रणालीमा पनि गति आउने विश्वास दिने हो ? आज जे छ वा इतिहासमा जे भयो, त्यसमा सन्तुष्ट हुने ? हामी सकिने हो कि भविष्यतर्फ हिँड्नका लागि प्रयत्न गर्ने हो ?’ उनको भनाइ थियो, ‘माधव कमरेडको नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा व्यक्तिका हिसाबले सबैभन्दा सक्रियता होला । अब उमेरको हिसाबले, योगदानको हिसाबले माधव कमरेडले त्यो खालको सक्रियताबाट विश्राम लिने बेला भयो ।’

उनले दोस्रो पुस्तालाई नेतृत्व दिनु इतिहास र भविष्यका लागि पनि महत्त्वपूर्ण भएको बताए । ‘भविष्यले जित्ने हो भने हामी आउनुपर्छ । म नेतृत्वमा आउनुपर्छ भन्ने दाबी हो । पार्टी चलाउन हामीलाई दिनुस् भन्नुको अर्थ इतिहास र भविष्यको सन्तुलन पनि हो ।’

खनाल र भुसालले वामपन्थी आन्दोलनलाई अघि बढाउन नेपाल चुकेको आरोप लगाउँदै कांग्रेसतिर नजिक हुनु वैचारिक हिसाबले स्खलन आएको टिप्पणी गरेका छन् । नेपाल भने खनाल र भुसालले पार्टी कब्जा गरी बिनासर्त एमालेमा विलय गराउन खोजेको आरोप लगाउँदै पुनः नेतृत्व लिने प्रयासमा छन् । एमाले र एकीकृत समाजवादी एउटै सत्ता समीकरणमा भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालबीच सम्बन्ध सुधार हुन सकेको छैन । गत आम निर्वाचनमा एकीकृत समाजवादी राष्ट्रिय दल बन्न नसके पनि नेपाल ओलीसँग संघर्षकै चरणमा छन् ।

दसौं राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुनेछन् । ती प्रतिनिधिले २९९ केन्द्रीय सदस्य, २१ पदाधिकारी चयन गर्नेछन् । विधान संशोधन गरी पार्टीको सम्मानित नेता, वरिष्ठ नेताको पद सिर्जना गरिएको छ । हाल सम्मानित नेता झलनाथ खनाल छन् । केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेका नेता पदाधिकारीमा प्रतिस्पर्धा गर्न पाउने छन् । ‘तर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पार्टीको स्थायी कमिटीको सदस्य हुन योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ । यसैगरी उपाध्यक्ष, उप–महासचिव, सचिव बन्नका लागि पोलिटब्युरोको सदस्य बन्न योग्यता पुगेको व्यक्ति हुनुपर्नेछ,’ अध्यक्ष नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन कमिटी, केन्द्रीय लेखापरीक्षण कमिटी र केन्द्रीय निर्वाचन कमिटीको सदस्य बन्नका लागि केन्द्रीय कमिटी वा केन्द्रीय निकायहरूको सदस्य भई काम गरेको हुनुपर्ने छ । संगठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष काम गरेको वा प्रदेश कमिटीको सदस्य भई एक कार्यकाल वा जिल्ला कमिटीको सदस्य भई दुई कार्यकाल काम गरेको व्यक्ति केन्द्रीय सदस्य हुन योग्य हुनेछन् ।

पार्टी केन्द्रीय कमिटीमा महिला, मधेशी, आदिवासी–जनजाति, दलित, मुस्लिम, थारू लगायतका जाति, भाषा र संस्कृतिको कम्तीमा ३३ प्रतिशत समावेशी प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ । महाधिवेशनले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन, महासचिव भुसालको सांगठनिक प्रतिवेदन पारित गर्ने छ । एकीकृत समाजवादीले पार्टीको संगठित सदस्य १ लाख ४६ हजार सदस्यबाट १ हजार ८ सय महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

प्रकाशित : असार १५, २०८१ २२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×