कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसको असुली प्रकरण : विद्यार्थी होस्टलमै बन्धक

विनय आजाद

सिरहा — मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थी र अभिभावकसँग गर्दै आएको अवैध असुलीको पर्दाफास भएपछि क्याम्पसले विद्यार्थीलाई छात्रावासमै बन्धक बनाएको छ । कान्तिपुर टेलिभिजनमा बुधबार साँझ र कान्तिपुरमा बिहीबार बिहान यस विषयमा समाचार सम्प्रेषण भएपछि कलेजले विद्यार्थीलाई बाहिर निस्कनै नदिएको हो । 

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसको असुली प्रकरण : विद्यार्थी होस्टलमै बन्धक

तीनवर्षे नर्सिङ पहिलो र दोस्रो वर्षमा अध्ययनरत ७८ छात्राहरू सिरहास्थित प्रादेशिक अस्पताल र मिर्चैयास्थित मिर्चैया अस्पतालमा प्रयोगात्मक अभ्यास गर्दै आएका थिए । तर, उनीहरूलाई समाचार आएदेखि नै अस्पताल पनि जान दिइएको छैन ।

यति मात्र होइन, सातामा शुक्रबार र शनिबार विद्यार्थीलाई मोबाइल दिने गरेकोमा त्यसयता मोबाइल पनि नदिएको र उनीहरूसँग कुरा पनि गर्न नदिएको एक अभिभावकले कान्तिपुरलाई सुनाइन् । ‘शुक्रबार र शनिबार मोबाइल दिन्थ्यो तर अस्तिदेखि दिएको छैन,’ उनले सुनाइन्, ‘कोअर्डिनेटर म्यामलाई कुरा गराइदिन पनि भन्दै आएको छु, तर गराएको छैन ।’

यस विषयमा क्याम्पस प्रमुख भावना साहले आन्तरिक कुरा भन्न नमिल्ने जवाफ दिएकी छन् । ‘आन्तरिक कुराहरु पनि भन्नपर्छ र ?,' उनले भनिन्, ‘त्यो त हाम्रो कलेजको कुरा हो, आन्तरिक रुपमा धेरै समस्याहरु भएर हो ।’

क्याम्पसले नर्सिङ अध्ययनरत विद्यार्थीसँग अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि पोस्टिङ, छात्रावास र शुल्कलगायतका नाममा मनपरी शुल्क असुली गर्दै आएको र मानसिक यातना दिँदै आएको खुलासा भएपछि यो विषय बिहीबार संसद्‌मा पनि उठेको छ ।

जनमत पार्टीका सांसद अब्दुल खानले सरकारले गर्नुपर्ने काम मिडियाले गरिदिएको भन्दै क्याम्पसलाई अब पनि कारबाही गर्ने कि/नगर्ने भनेर सरकारलाई प्रश्न गरेका थिए ।

यसैगरी, सीटीईभीटीको मधेश प्रदेश कार्यालय, जनकपुरधामले पनि यस विषयमा बिहीबार तीन दिनभित्र जवाफ पेस गर्न स्पष्टीकरण सोधेको छ ।


प्रकाशित : असार १५, २०८१ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×