कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गुठिचौर-४ बालविवाहमुक्त वडा घोषणा

डीबी बुढा

जुम्ला — जुम्लाको गुठिचौर गाउँपालिका वडा नं. ४ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । वडाभित्रका जनप्रतिनिधि, कर्मचारी,  समुदायदेखि बालबालिका र महिलाहरु सबैले बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि औपचारिक कार्यक्रम गरेर सिंगो वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो । 

गुठिचौर-४ बालविवाहमुक्त वडा घोषणा

महिला तथा बालबालिका शाखाका अनुसार गत पुष महिनादेखि गुठिचौर-४ मा बालविवाह भएको छैन । पुष भन्दा अघि संकलन गरेको तथ्यांक अनुसार यो आर्थिक बर्षमा कुल २३ विवाह भएकोमा १२ वटा बालविवाह भएका थिए ।

शाखा प्रमुख सुस्मिता थापाले पहिलो चरणमा प्रत्येक गाउँमा सचेतना फैलाइएको बताइन् । दोस्रो चरणमा हरेक बस्तीमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा बालविवाह नगरेको भेटिएकोले औपचारिक रुपमै वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले घोषणापत्र, सरकार र समुदाय बिचको प्रतिबद्धतामा दस्तखत गर्दै बालविवाह वडा भएको औपचारिक घोषणा गरेका थिए । उनले बालविवाहमुक्त वडामा अब कुनै पनि बालविवाहका क्रियाकलाप हुन नहुनेमा जोड दिदैं आगामी दिनमा परिपक्क उमेर भइसकेपछि मात्रै विवाह गर्नुपर्छ भन्ने सन्देश फैलाउन आग्रह गरे ।

गुठिचौर-४ का ८ सय ४० घरधुरीका स्थानीयले बालविवाह नगर्ने प्रतिबद्धता जनाएपछि वडालाई बालविवाहमुक्त घोषणा गरिएको वडाध्यक्ष टिकादत्त न्यौपानेले जानकारी दिए । उनले भने, ‘विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको छ । सिफारिस लैजाँदा जन्म दर्ता र शैक्षिक प्रमाणपत्र पेस गर्नुपर्ने प्राव्धान छ । ’

उनले बालविवाह गर्न उक्साउने, विवाह भइरहेको भोजभत्तेरमा सहभागी हुने कुनै पनि व्यक्ति समुह कानुनी दायरामा आउने बताए । यो बर्षको नीति तथा कार्यक्रममा पनि बालविवाह विरुद्धको विषयलाई प्राथमिकताका साथ उठान गरिएको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बालविवाह वडाहरु घोषणा गर्नेक्रम विस्तारै बढ्दै जाने बताए । उनका अनुसार बालविवाह लगायतका सामाजिक कुरीति रोक्न स्थानीय सरकार प्रतिबद्ध छ ।

महिला तथा बालबालिका शाखा सुस्मिता थापाले बालविवाह समाजको कुरीतिको जालो भएको भन्दै सबै मिलेर बालविवाह अन्त्य गर्नुपर्ने बताइन । उनले जनप्रतिनिधिलाई सक्रिय बनाउदै बालविवाह विरुद्धको अभियानमा सामेल गराएकी थिइन् । विद्यालय स्तर, गाउँटोल, बस्ती र वडास्तरमा घनीभुत छलफल गरेपछि बालविवाह वडा घोषणा गर्न सकिएको बताइन् ।

यो संगै जुम्लाका ६० वटा वडा मध्ये ४ वटा वडा बालविवाहमुक्त वडाका रुपमा घोषणा भइसकेका छन् । बालविवाह वडामुक्त घोषणा गर्न सहयोग गर्ने व्यक्ति, संस्था, समुहलाई सम्मान पत्र दिइएको थियो ।

प्रकाशित : असार १४, २०८१ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×