कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

छाउगोठ हटाउन ‘देवता’को डर 

डीबी बुढा

जुम्ला — गुठीचौर–४ उखाडीगाउँकी सविता प्याकुरेल अधिकारीले छाउगोठ भत्काएर घरभित्र बस्ने प्रयास थालेको धेरै भइसक्यो । घरपरिवारको दबाब र देवताको त्रासले उनको घरभित्र सुरक्षित रुपमा बस्ने धोको पूरा हुन सकेको छैन । अहिले उनी छाउगोठमा बस्न बाध्य छिन् ।

छाउगोठ हटाउन ‘देवता’को डर 

‘छाउपडी हुनु फुल फुल्नु हो । कुनै अभिशाप त होइन । पक्कै पनि फुल नफुलेर फल लाग्न सक्दैन,’ उनले भनिन्, ‘समाजको कानुनले घरमा बस्न दिँदैन । यो बिडम्बना ग्रामिण क्षेत्रका महिलाले भोगिरहेका छौं ।’

उनको छाउगोठ तुलनात्मक रुपमा सफासुग्घर छ । तर छाउ भएकै कारण अलग्गै गोठमा बस्नु परेको पीडाले उनी भक्कानिन्छन् । ‘स्थानीय सरकारका प्रतिनिधि, कर्मचारी, संघसंस्थाका मानिस आएर छाउगोठमा बस्नुपर्दाको बेफाइदा सुनाउँदा प्रतिरोध गर्ने मन त लाग्छ, तर घर फर्किसकेपछि देवताको त्रासले कुनै कदम चाल्न सकिदैन्,’ उनले भनिन्,‘छाउपडी हुँदा गोठमा बस्नाले स्वास्थ्य अवस्था कमजोर हुने गरेको छ । तर हाम्रो यो पीडा कसले बुझिदिने होला ।’

गुठीचौर–४ की जयदेवी अधिकारी चलिआएको परम्परा छोड्न हुँदैन भनेर देउताको डर देखाउने गरेको बताउँछिन् । ‘देवताको त्रास देखाएर छाउगोठमा बस्न बाध्य बनाउने गरेका छन् । अहिलेसम्म त देवता लागेको देखेका छैनौं तर मनस्थिति कमजोर बनाइदिँदा घर बस्न सकिएको छैन,’ उनले भनिन्, ‘जबसम्म समाजको परम्परावादी सोच बद्लिदैन तबसम्म छाउगोठ रहिरहने जस्तो छ ।’

आफ्नो सुरक्षाका लागि पहल गरिरहेको तर एकैपटक छाउगोठ छोड्न नसक्ने उनीहरुको धारणा छ । अधिकारीका अनुसार यहाँ अधिकांश घरमा छाउगोठ छन् । कतिपय महिला घरको तल्लोतलामा सुरक्षित र सफासुग्घर गरेर बस्ने गरेका छन् । घरभित्र बसेर खाना पकाउने खुवाउने काममा भने सहभागी हुन सकिरहेका छैनन् ।

सबिता र जयदेवी प्रतिनिधिपात्र मात्र हुन् । उनी जस्तै जिल्लाका आठ वटा स्थानीय तहका महिला छाउगोठमै बस्न बाध्य छन् । सामाजिक कुरीतिको रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्ने भन्दै सरकारी तथा गैरसरकारी संस्थाहरुले ठूलै रकम लगानी गरिरहेका छन् तर छाउगोठ बस्ने चलनमा कुनै असर परेको छैन ।

गुठीचौर–४ का श्रीचन्द्र पाण्डे बुडु मष्टो देवताका मुख्य धामी हुन् । उनी छाउपडीलाई धार्मिक आस्थासँगै जोड्छन् । उनका लागि महिलाहरु छाउ दैवीयशक्तिका कारण हुने गर्छन् । अहिले महिलाले छाउ भएको समयमा अलग्गै बस्नुपर्छ भन्ने उनको सोच छैन । छाउ हुँदा महिलालाई घरमा सुताउन सकिने उनको धारणा छ । उनी अचेल छाउगोठ भत्काउनुपर्ने भन्दै गाउँतिर वकालत गरिरहेका छन् । उनले भने,‘हामी बदलिसकेका छौं । छाउ हुँदा छाउगोठमा बस्न हुँदैन् भन्ने सन्देश फैलाइरहेका छौं, तर महिलाहरु आफै त्रास मानेर घरभित्र बस्न नमानेका हुन् ।’

घरघरमा छाउगोठ भेटिएपछि गुठीचौर–४ ले छाउगोठको उच्च निगरानी गरिरहेको छ । पहिलो चरणमा छाउगोठमा बस्दा हुने बेफाइदाका घरदैलोमा सुनाइरहेको वडा कार्यालयले अहिले छाउगोठको पहिचान गरिरहेको छ ।

गुठीचौर गाउँपालिकाले छाउ गोठ नभत्काउने र कुप्रथालाई मान्यता दिने परिवारलाई सबै प्रकारका सुविधाबाट वञ्चित गर्ने निर्णय गरिसकेको छ । वडाध्यक्ष टीकादत्त न्यौपानले वडाभित्रका धामीझाँक्री र पुजारी सबैलाई छाउगोठ भत्काउने अभियानमा सामेल गरिएको बताए । छाउ भएकी महिला हिँडेको बाटो नहिँड्ने धामी नै छाउ गोठ भत्काउन सक्रिय छन् ।


गुठीचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीको अगुवाइमा वडा ४ का १२ वटै गाउँमा पुगेर छाउगोठको उच्च निगरानी राखिएको छ । एक साताभित्रै छाउगोठ भत्काउन भनिएको छ ।

गाउँमा धार्मिक आस्थालाई गलत रूपमा परिभाषित गर्ने र पुरानो अन्धविश्वासलाई प्राथमिकतामा राख्नेहरुबाटै छाउ कुप्रथाजस्ता सामाजिक कुसंस्कारले स्थान लिएको उपाध्यक्ष भण्डारीको तर्क छ । जसले छाउ प्रथा मान्ने गलत संस्कारलाई प्रश्रय दिए । उनीहरुबाट नै छाउगोठ भत्काउने अभियानको थालनी भइरहेको उपप्रमुख भण्डारीले बताइन् ।

महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले छाउ भएको समयमा महिलाले नुवाइधुवाइ गरेर सफासुग्घर रहनुपर्नेमा जोड दिइन् । ‘छुइ भएको समयमा गोठमा राख्नु हुँदैन, बरु आराम गर्न दिएर पोषिलो खानेकुरा खुवाउनुपर्छ । यो निकै संवेदनशील अवस्था भएकाले स्वास्थ्य र सुरक्षाका क्षेत्रमा सबैको ध्यान पुग्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘छुइ हुनु कुनै अभिशाप होइन । यो नियमित शारीरिक प्रक्रिया हो । यसमा आश्चर्य र अस्वाभाविक मान्नुपर्ने केही छैन ।’

गुठीचौर–४ मा रहेका १२ टोलमा ४१ वटा छाउगोठ भेटिएका छन् । ८ सय ४० घरधुरी रहेको यो वडामा ४ सय भन्दा बढी छाउगोठ हुन सक्ने अनुमान गरिएको छ । वडाध्यक्ष न्यौपानेका अनुसार प्यकुरेबाडामा ५, उखाडीमा १६, खल्लावाडामा ६, दशौदीमा ३, विगारेमा ७ र चौरविगारेमा ४ वटा छाउपडी गोठ छन् ।

गुठीचौर ४ उखाडीगाउकी सम्झना अधिकारीले छाउगोठ भत्काएर स्थानीय सरकारले थालेको अभियानमा सरिक भएको बताइन् । उनी छाउगोठ भत्काउने यहाकी पहिलो महिला समेत बनिन् । छाउगोठहरुको जुम्लामा एकिन तथ्यांक नभए पनि अहिले पनि महिलाहरु छाउ भएको समयमा गाइबस्तुसंगै सुत्ने गरेको पाइएको छ । केही महिलाले छाउगोठ त्यागेर घरमा बस्दा गाउँमा एक्लिनु परेको अनुभव समेत सुनाउने गरेका छन् ।

आगामी दिनमा पालिकाले छाउगोठ मुक्त अभियानलाई प्राथमिकताका साथ अघि बढाएर लैजाने पालिका अध्यक्ष दानबहादुर बुढाले बताए । उनका अनुसार पहिलो चरणमा सचेतना छर्ने कार्य सकिएको छ ।

‘दोस्रो चरणमा छाउगोठको संख्या एकिन गर्ने, छाउगोठको अवस्था अवलोकन गर्ने र छाउगोठमा नबस्न सुझाउने कार्य चलिरहेको छ,’ अध्यक्ष बुढाले भने,‘आगामी दिनमा कानुनको डण्डा लगाएर भए पनि महिलाहरुलाई सुरक्षित रुपमा घरमै बस्ने वातावरण बनाउने तयारी भइरहेको छ ।’ जुम्लाका आठ स्थानीय तहमा ६० वडा छन् । सबै वडाका छाउपडी भएको समयमा अधिकांश महिला गोठमै बस्ने गरेका छन् ।

प्रकाशित : असार १६, २०८१ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×