कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

सल्यानमा सकियो ७० प्रतिशत रोपाइँ

सल्यान — सल्यानमा मध्य असार बितिसक्दा ७० प्रतिशत रोपाइँ सकिएको छ । लामो समयसम्मको खडेरीका जेठको दोस्रो सातातिर केही समस्या भएपनि केही दिनदेखि भएको लगातार वर्षापछि किसानहरु धमाधम खेतमा खटिँदा असारको दोस्रो सातासम्म ७० प्रतिशत रोपाइँ भइसकेको छ ।

सल्यानमा सकियो ७० प्रतिशत रोपाइँ

जिल्लाको ७ हजार ७८ हेक्टर खेतीयोग्य जग्गा रहेकामा किसानले प्रत्येक वर्ष ६ हजार १ सय २५ हेक्टर क्षेत्रफल जग्गामा धान रोपाइँ गर्दै आएका छन् । अहिलेसम्म जिल्लाभरि ४ हजार २ सय हेक्टर जग्गामा रोपाइँ भैसकेको कृषि बिकास कार्यालयका निमित्त प्रमुख रेसमबहादुर बस्नेतले बताए ।

मानो छरेर मुरि फलाउने समय भएकाले अहिले सबै किसान अन्य कामकाज छाडी रोपाइँमै ब्यस्त भएकाले साउनको पहिलो साता भित्रै जिल्लाभरि रोपाइँ सम्पन्न हुने उनको भनाइ छ । उनका अनुसार गत वर्ष समयमै वर्षात् हुँदा असार २० भित्रै जिल्लाभरि रोपाइँ सम्पन्न भएको थियो ।

यसपालि समयमै वर्षात् हुन नसक्दा केही ढिला भएको हो । जिल्लाका १० स्थानीय तह अन्तर्गत बाग्चौर नगरपालिका, छत्रेस्वरी, त्रिबेणी, दार्मा, कुमाख र सिद्धकुमाख गाउँपालिकामा लगभग रोपाइँ सम्पन्न भैसकेको छ भने शारदा नदीको किनारमा रहेका केही भाग, खहरेखोला आसपासका जग्गा र बन्गाड कुपिण्डे नगरपालिकाको केही भागमा मात्र बाँकी रहेको छ ।

मनसुन भित्रिएपछि केही दिनदेखि लगातार वर्षा भएपनि खोलामा पर्याप्त पानी नहुँदा किसानले आलोपालो गर्दै सिँचाइको ब्यवस्था मिलाएर भएपनि रोपाइँ गरिरहेका कार्यालयका सुचना अधिकारी ईस्वरी नारायण घर्तीले बताए ।

जिल्लामा सरदर वार्षिक २९ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

प्रकाशित : असार १७, २०८१ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×