कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायाणप्रसाद दाहालले संसद् ऐन, कानून बनाउनुपर्ने भूमिकामा चुक्दै गएको बताएका छन् ।

संसद् ऐन, कानुन बनाउनुपर्ने भूमिकामा चुक्दै गयो : अध्यक्ष दाहाल

आइतबार संसद् भवनमा ६६ औं संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली नागरिकको उत्कृष्ट प्रतिनिधिको थलो संसद् भएपनि नागरिकका ऐन, कानून बनाउनतर्फ अहिले कतै न कतै चुकेको बताएका हुन् ।

अध्यक्ष दाहालले सांसदहरूले निर्माण गर्ने ऐन, कानूनले नै देश कता जान्छ भन्नेकुराको निर्धारण हुने भन्दै सांसदहरू ऐन निर्माणमा बढी केन्द्रित हुनुपर्ने बताए । समयमा ऐन, कानून निर्माण गर्न संसद्ले ध्यान नदिएकोतर्फ उनले सचेत गराए । उनले नेपाल सबैभन्दा धनी संविधानमा रहेको बताए ।

‘नेपाल धनी संविधानमै छ भन्छु म । २००७ सालदेखि अहिलेसम्मका संविधानहरू हेर्ने हो भने धेरै संविधानहरू हामीले व्यहोर्‍यौं र पनि मुख्य गरेर २०१५ सालदेखि आम निर्वाचनपछि बनेको संविधान आफ्नै ढंगले जो हामीले उत्कृष्ट र राम्रो पनि गर्‍यौँ । २०१९ मा उत्कृष्ट ल्यायौँ भन्यौँ, २०४८ मा पनि भन्यौँ । त्यसपछि २०६३ सालपछि अन्तरिम हुँदै २०७२ सालमा अहिलेको नयाँ संविधान ल्याएका छौँ,' अध्यक्ष दाहालले भने, 'संविधानलाई हेर्ने पनि सबैको आफ्नो आफ्नो दृष्टिकोण हुन्छ भन्ने लाग्छ । यो वर्गीय समाजमा आफ्ना आफ्ना दृष्टिकोण हुन्छन् । मुख्य कुरा संविधानलाई ठिक र बेठिक भनेर प्रमाणित गर्नेकुरा, सही र गलत भनेर प्रमाणित गर्नेकुरा त्यो संविधानलाई कार्यान्वयन गर्ने जिम्मा लिएका तपाईं हामी नै हौँ । हाम्रो सोच, कार्यशैली, कार्ययोजना र मुख्यगरी नेपाली जनताले अपेक्षा गरेको, चाहेको, खोजेको, हामी जिम्मा लिएर आएका जो नेपाली जनताको उत्कृष्ट थलो प्रतिनिधिको थलो भनेको संसद हो । जो सबै जनताको प्रतिनिधित्व गर्दछ । हामीले निर्माण गर्ने ऐन, कानून कस्तो बनाउने र कस्तो दिशा दिन्छ भन्नेकुराले निर्धारण गर्दछ । अहिले हामी अलिकति त्यसमा कहीँ न कहीँ चुकेका छौं।'

संसद्बाट समयमा ऐन, कानून निर्माण गर्न नसकिएको अध्यक्ष दाहालको भनाइ थियो । 'परिस्थितिले दिएको छैन भनौँ वा हामी धेरै सोच र दृष्टिकोणका मानिसको संगालो संसद् भएको हुनाले त्यो सबैलाई व्यवस्थापन गरेर अघि बढ्न हामीलाई कठिनाइ भएको छ,’ उनले भने ।

अध्यक्ष दाहालले संसद्लाई प्रभावकारी बनाउने सांसदहरूको भुमिका भनेको नेपाली नागरिकसँग गरेका वाचा, अहिलेको नेपालको वर्तमान राजनीतिक परिस्थिति, भविष्यको नेपालको सिंगो अर्थतन्त्रलाई कसरी अघि बढाउने र नेपाली जनताको जनजीविकाको सवालमा गम्भीर हुनुपर्ने बताए । सांसदहरूले देश र जनतालाई फाइदा हुने ढंगले सोच्न जरुरी रहेको बताए ।

प्रकाशित : असार १६, २०८१ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×