कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लमजुङको बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

आश गुरुङ

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका-३ बगुममा पहिरोले घर बगाउँदै एकै परिवारका ४ जना बेपत्ता भएका छन् । वडा सदस्य विनप्रसाद घलेका अनुसार गएराति १२–१ बजेतिर गएको पहिरोले ३ वटा घर बगाउँदा २ घरका ४ जना बेपत्ता भएका हुन् ।

लमजुङको बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता

पहिरोले अन्दाजी ६९ वर्षीय रुद्रमान गुरुङ, उनका बुहारी अन्दाजी ३७ वर्षीया पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू अन्दाजी ७ वर्षीया इच्छा र अन्दाजी ५ वर्षीया नम्रता बेपत्ता भएका हुन् ।

पहिरोमा परेर अन्दाजी ३६ वर्षीय भीमबहादुर घले घाइते भएका छन् । स्थानीयका अनुसार भीमबहादुरको घर बगाएपनि उनी खोपीतिर सुतेका कारण बच्न सफल भएका हुन् । रुद्रमानका श्रीमती लिलाकुमारी र पञ्चकुमारीका छोरा अन्दाजी ९ वर्षीय निरज छिमेकीकोमा सुत्न गएकोले उनीहरु बच्न सफल भएका छन् ।


स्थानीय जुना घलेले पहिरोमा परेर ४ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको बताए । अहिले पनि पानी परिरहेकाले उनीहरुको खोजीमा समस्या भएको घलेले बताए ।

यसैगरी, बेंसीसहर नगरपालिका ११, चिती स्याउतमा पहिरोले घर भत्किाउँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी मिनबहादुर घलेले बगुममा पहिरोले बगाउँदा ४ जना बेपत्ता भएको खबरपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठको नेतृत्वमा र अस्थायी प्रहरी पोष्ट मालिङबाट प्रहरी खटिएका छन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । क्व्होलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पहिरोले बेपत्ता भएकाको खोजीकार्य भइरहेको बताए ।


प्रकाशित : असार १२, २०८१ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×