कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एकीकृत समाजवादी महाधिवेशन सर्वसम्मत अध्यक्ष बन्ने कसरतमा नेपाल

विद्रोह गरी पार्टी बनाएकाले एक कार्यकाल दिन आग्रह, दाबेदारी नछोड्ने खनाल र भुसालको अडान 
गंगा बीसी

काठमाडौँ — एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष माधवकुमार नेपाल पुनः नेतृत्वमा सर्वसम्मत चयन हुने कसरतमा लागेका छन् । अध्यक्षको प्रतिस्पर्धामा नेपाललाई नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् । 

एकीकृत समाजवादी महाधिवेशन सर्वसम्मत अध्यक्ष बन्ने कसरतमा नेपाल

एमालेबाट ‘विद्रोह’ गरी पार्टी बनाएकाले एक कार्यकाल आफूलाई अध्यक्षका लागि सर्वसम्मत चयन गर्न नेपालले खनाललाई आग्रह गरेका छन् । आइतबारको संवादमा उनले खनाललाई सम्मानित स्थानमा राख्ने प्रतिबद्धता जनाएका थिए । तर, खनालले प्रस्ताव अस्वीकार गर्दै आफूलाई समर्थन गर्न आग्रह गरे । दुवैले अध्यक्षको अडान नछाडेपछि सहमति हुन नसकेको खनालले जानकारी दिए ।

दुवै नेता पञ्चायतकाल र जनआन्दोलन ०४६ पछि पार्टी र सरकारका नेतृत्व तहमा पटकपटक रहँदै आएका छन् । नेपाल एक पटक पार्टी अध्यक्ष, तीन पटक पार्टी महासचिव, एक पटक वरिष्ठ नेता, एक पटक प्रधानमन्त्री भइसकेका छन् । खनाल २०३९ सालमा नेकपा मालेको महासचिव र एक पटक प्रधानमन्त्री भइसकेका छन् । उनीहरूबीच फेरि नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको हो ।

आफूले नयाँ पार्टी बनाउन सफल भएको र देशव्यापी संगठन बनाउन नेतृत्व गरेको भन्दै नेपालले आगामी दिनमा बलियो पार्टी बनाउने प्रतिबद्धता गरेका छन् । खनालले भने नेपालको नीति दक्षिणपन्थीतिर उन्मुख भएको, नयाँ पार्टी बनाएपछि सशक्त नेतृत्व गर्न नसकेको, निर्वाचनमा अपेक्षित परिणाम ल्याउन असफल भएको भन्दै विकल्पस्वरूप अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

‘सर्वसम्मत नेतृत्व चयन गर्ने कि प्रतिस्पर्धा गर्ने माधवजीको हातमा निर्णय छ,’ उनले भने । खनालले महाधिवेशनबाट समाजवादको नीति पारित हुने उल्लेख गर्दै अध्यक्ष नेपालको जनताको बहुदलीय जनवादको नीति असफल हुने दाबी गरे । ‘समाजवादको नीति पारित हुने भइसकेपछि मेरो नेतृत्व स्वतः हुने नै भयो,’ उनले भने ।

नेपाल निकट नेता एवं उपाध्यक्ष बेदुराम भुसालले पार्टी निर्माणमा नेतृत्वदायी भूमिका खेलेको, एमालेभित्रको थिचोमिचोविरुद्ध विद्रोह गरेको, आगामी कार्यदिशा पनि उनैको भएकाले पुरानै नेतृत्व सर्वसम्मत गर्न संवाद सुरु भएको बताए । ‘अत्यधिक प्रतिनिधि साथीहरूको पुरानै नेतृत्व कायम हुनुपर्छ भन्ने मत आएको छ,’ उनले भने, ‘झलनाथजीसँग सर्वसम्मतका लागि छलफल सुरु भएको छ । माधवजीकै नेतृत्वमा सहमति हुन्छ होला ।’

चार दशकदेखि नेपाल र खनाल आलोपालो सत्ता र पार्टी शक्तिमा भएको भन्दै महासचिव भुसालले नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने भन्दै अध्यक्षमा प्रतिस्पर्धाको तयारी गरेका छन् । एमाले विभाजनको औचित्य सावित गरी पार्टीलाई नयाँ गति दिन वर्तमान नेतृत्व असफल भएको, समाजवादको आधार तयार गर्न पुरानो नेतृत्वमा क्षमताको कमी भएको उनले बताएका छन् ।

‘यही अवस्था हुने हो भने एकीकृत समाजवादी गोलचक्करमा फसिरहन्छ,’ भुसाल निकट एक नेताले भने, ‘त्यसकारण नेतृत्व हस्तान्तरण हुन जरुरी छ । त्यसका लागि भुसाल अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारीमा हुनुहुन्छ ।’ समाजवादीका युवा नेताले पनि कम्युनिस्ट आन्दोलन अघि बढाउन भुसालको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनलाई अध्यक्षमा समर्थन गरेका छन् ।

अध्यक्ष नेपाल भने भुसाललाई महासचिवमै दोहोर्‍याएर सर्वसम्मत नेतृत्व लिने पक्षमा छन् । २०७९ मंसिरको निर्वाचनमा रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल २०७९ चैतमा समाजवादीको महासचिव मनोनीत भएका थिए । २०७८ मंसिरमा सौराहमा भएको एमालेको दसौं महाधिवेशनमा उनी एमालेको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । त्यसपछि उनले एमाले त्याग गरेका थिए ।

नेपाल निकट उपमहासचिव गंगालाल तुलाधरले पार्टीमा भुसालकै कारण अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना भएको बताए । उनले कम्युनिस्ट पार्टीमा पुस्तान्तरणको विषयभन्दा विचार महत्त्वपूर्ण हुने भन्दै नेपालकै नेतृत्व उचित हुने दाबी गरे । ‘अध्यक्षका लागि चुनाव भयो भने घनश्यामजीकै कारणले हुन्छ । उहाँलाई कसैले उचालेको छ,’ तुलाधरको आरोप छ, ‘महासचिव भइसकेपछि उहाँले पार्टीलाई गतिदिन खेलेको भूमिकाको मूल्यांकन गरी अघि बढ्नु उचित हुन्छ ।’ अध्यक्षको दाबी गरिरहेका खनाललाई सम्मानित स्थानमा राख्ने वैधानिक आधार खोज्न सकिने तुलाधरले बताए । ‘पार्टी र क्रान्तिका लागि योगदान गरेका सम्मानित नेता खनाललाई गरिमामय स्थानमा राख्ने वैधानिक प्रावधान गर्न सकिन्छ,’ उनले भने ।

नेपाल निकट नेताहरूले अध्यक्षमा खनालको दाबेदारीप्रति आशंका गरेका छन् । ‘कार्यकारी भूमिकामा नबस्ने घोषणा गरेका खनाल अहिले अध्यक्ष हुन मरिहत्ते गर्नुभएको छ । उहाँ अध्यक्ष भए एमालेबाट विद्रोह गर्नु गलत थियो भन्दै विलय गराउनुहुन्छ,’ एक नेताको आरोप छ । महासचिवका लागि उपमहासचिवहरू तुलाधर, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेलले चाहना राखेका छन् ।

एकीकृत समाजवादी एमालेबाट २०७८ भदौमा विभाजित भएको थियो । पार्टीको महाधिवेशन यही असार १६ देखि २० सम्म काठमाडौंमा हुँदै छ । दसौं महाधिवशेनमा एक हजार ८ सय ७८ प्रतिनिधिले नेतृत्व चयन गर्नेछन् । यही साता महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । महाधिवेशनले राजनीतिक र सांगठनिक प्रतिवेदन पारित गर्नेछ । महाधिवेशनमा ४२५ महिला, १५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि रहनेछन् ।

प्रकाशित : असार १२, २०८१ ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×