एप्पलमा एआई, मस्क रुष्ट

एप्पलले ओपनएआईलाई अपरेटिङ सिस्टमकै तहमा आफ्ना डिभाइसमा राखेको खण्डमा आफ्ना कम्पनीमा एप्पलका डिभाइसलाई प्रतिबन्ध लगाउने अमेरिकी धनाढ्य इलन मस्कको चेतावनी 

जेष्ठ ३०, २०८१

सजना बराल

AI at Apple, Musk furious

काठमाडौँ — अमेरिकी धनाढ्य अर्बपति इलन मस्क र ओपनएआईबीचको शीतयुद्धले अर्को मोड लिएको छ । एप्पलले सोमबार आयोजना गरेको वार्षिक डिभलपर्स कन्फेरेन्समा आफ्ना कम्पनीका विभिन्न प्लाटफर्म र उत्पादनहरूमा च्याटजीपीटीलगायत ओपनएआईका जेनेरेटिभ इन्टेलिजेन्सलाई व्यापक रूपमा समाहित गर्दै लैजाने घोषणा गरेपछि मस्कले यसलाई ‘सुरक्षामाथिको खेलवाड’ भएको संज्ञा दिएका छन् ।

‘यदि एप्पलले अपरेटिङ सिस्टमकै तहमा ओपनएआईलाई आफ्ना डिभाइसहरूमा राख्यो भने म मेरा कम्पनीमा एप्पलका डिभाइसहरूमा प्रतिबन्ध लगाउँछु,’ मस्कले भनेका छन् । 

उनले आफ्नो कम्पनीमा आउने व्यक्तिहरूले एप्पल डिभाइसहरूलाई ‘फराडे केज’ भनिने सुरक्षित स्थानमा राखेपछि मात्र भित्र छिर्न दिने मस्कको योजना छ । तथापि ओपनएआईसँगको विवाद मस्कका लागि नयाँ विषय भने होइन । उनले २०१८ यता निरन्तर उक्त आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्मसँग घम्साघम्सी गर्दै आएका छन् । 

ओपनएआई मात्र होइन समग्र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रकै विषयमा पनि मस्कको धारणा निरन्तर बदलिने गरेको छ । गत वर्ष झन्डै एक हजार प्रविधि क्षेत्रका व्यक्तिहरूसँगै लागेर मस्कले अहिले ओपनएआईजस्ता प्रविधि सार्वजनिक प्रयोग हुने समय आइनसकेको भन्दै त्यसको कठोर व्यवस्थापन हुने तर्क गरेका थिए । गएको वर्ष यस्ता आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्महरूले मानवतालाई नै खतरामा पार्न सक्ने भनेका मस्कले आफैंले भने ओपनएआईसँग प्रतिस्पर्धा गर्न एक्सएआई नामक कम्पनी सुरु गरेका छन् ।

कम्पनीको कुल बजार मूल्य केही साता अघिको लगानी अभियानसँगै ७ अर्ब डलरले बढेर करिब २५ अर्ब अमेरिकी डलरभन्दा बढी भएको बजार विश्लेषकहरूले बताएका छन् । अहिलेका आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्म नियन्त्रण बाहिर जान सक्ने भन्दै बारम्बार नियमनको माग गर्ने उनले 

आफ्नो एक्सएआईलाई भने एक्स (ट्वीटर) मा समाहित गरिसकेका छन् । र, त्यसलाई निरन्तर बढाउने र प्रवर्द्धनसमेत गर्दै आएका छन् । सन् २०१५ को डिसेम्बरमा अहिलेका ओपनएआई प्रमुख साम अल्टम्यानसमेत अन्य ८ व्यक्ति र कम्पनीसँग मिलेर ओपनएआई कम्पनी सहस्थापना गरेका मस्कले पहिले सो कम्पनीलाई महत्त्वाकांक्षी बनाउन प्रमुख भूमिका खेलेका थिए । नाफा वितरण नगर्ने कम्पनीको रूपमा स्थापित कम्पनीको सुरुवातमा ग्रेग र सामको झन्डै एक सय मिलियन डलर लगानी उठाउने लक्षलाई एक अर्ब डलर फन्ड रेज गर्नुपर्ने र आफूले त्यसमा सक्रिय भूमिका खेल्ने मस्कले आश्वासन दिएको ओपनएआईको ब्लगमा उल्लेख छ ।

२०१७ मा बोर्डमाथिको नियन्त्रण, प्रमुख कार्यकारीको पद र प्रमुख सेयर हिस्सा दाबी गरेका मस्कले त्यसो हुन नसक्ने देखेपछि लगानी रोकेका थिए । त्यसपछि आफ्ना टेस्लाजस्ता कम्पनीमा ओपनएआईलाई जोड्नेसमेत प्रयास गरेका थिए । यी सबै प्रयत्न असफल भएपछि सन् २०१८ को सुरूआतमा कम्पनीको सफलताको संभावना शून्य बराबर रहेको भन्दै मस्क बाहिरिएका थिए । सोही समयमा सत्य नाडेलाको नेतृत्वमा आफ्नो लगानी विविधीकरण गर्ने प्रयत्नमा रहेको माइक्रोसफ्टले ओपनएआईमा अर्बौं डलर लगानी गरेर भरथेग गरिदिएको थियो । 

त्यसयताका केही समय ओपनएआईजस्ता कम्पनी अर्बौं डलर नभए चल्न नसक्ने प्रतिक्रिया दिने मस्क २०२२ को अन्त्यतिर च्याटजीपीटी सार्वजनिक हुँदै तहल्का मच्चाएपछि निरन्तर विरोधमा प्रतिक्रिया दिने गरेका छन् । सन् २०२४ को फेब्रुअरीमा उनले साम अल्टम्यान र ओपनएआईलाई विपक्षी बनाएर एक मुद्दासमेत दायर गरेका छन् । जसमा सो कम्पनीको स्थापनाका क्रममा भएको नाफा वितरण नगर्ने र निःशुल्क रहने साझा धारणाविपरीत माइक्रोसफ्टसँग मिलेर अर्बौं डलरको व्यवसायमा लागेको आरोप लगाइएको छ । मुद्दा दायर भएपछि ओपनएआईले मस्कलाई ढोंगी भएको भन्दै २०१५ यताका सबै इमेल र कुराकानी एक ब्लगमार्फत सार्वजनिक गरिदिएको थियो । उक्त मुद्दा भने हाल अदालतमा विचाराधीन छ । 

ओपनएआई प्रमुख अल्टम्यानले मस्कका निरन्तर आक्रमणको प्रतिवादमा उनी एक प्रतिभाशाली प्रविधि निर्माता रहेको तर आफ्नो धरातलबाट खस्किन थालेपछि प्रतिस्पर्धी वा आफैंले खोलेको संस्थालाई समेत गाली गर्न पछि नपर्ने जनाएका छन् । उनको बानीले आफूलाई निराश बनाउने गरेको अल्टम्यानले बताएका छन् । 

पछिल्लो समय अमेजन, अल्फाबेट (गुगल), माइक्रोसफ्ट, मेटा (फेसबुक) सँगै चिनियाँ र युरोपेली कम्पनीहरूबीच आगामी केही वर्षमा खर्बौं डलरको हुने अनुमान गरिएको जेनेरेटिभ एआई बजारमा प्रभुत्व जमाउन होड चलिरहेको छ । यस्तो अवस्थामा मस्क आफू पनि पछि पर्न चाहँदैनन् र उनको पछिल्लो आक्रमणले पनि त्यही निरन्तरताको झल्को दिन्छ ।

यसअघि मेटा प्रमुख मार्क जुकरवर्गलाई खुला रूपमा लड्न चुनौती दिएर पछि हटेका मस्कले एप्पल कम्पनीलाई समेत एकाधिकारबाट विज्ञापन र एपस्टोरमार्फत ठग्ने गरेको आरोप लगाएका थिए । मस्कको पछिल्लो खरो प्रतिक्रिया ओपनएआई र एप्पलसँगको पुरानै खटपटको निरन्तरता भएको र भविष्यमा यो झनै बढ्ने देखिएको छ ।

युवा ग्यालरी

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully