कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

एप्पलमा एआई, मस्क रुष्ट

एप्पलले ओपनएआईलाई अपरेटिङ सिस्टमकै तहमा आफ्ना डिभाइसमा राखेको खण्डमा आफ्ना कम्पनीमा एप्पलका डिभाइसलाई प्रतिबन्ध लगाउने अमेरिकी धनाढ्य इलन मस्कको चेतावनी 
सजना बराल

काठमाडौँ — अमेरिकी धनाढ्य अर्बपति इलन मस्क र ओपनएआईबीचको शीतयुद्धले अर्को मोड लिएको छ । एप्पलले सोमबार आयोजना गरेको वार्षिक डिभलपर्स कन्फेरेन्समा आफ्ना कम्पनीका विभिन्न प्लाटफर्म र उत्पादनहरूमा च्याटजीपीटीलगायत ओपनएआईका जेनेरेटिभ इन्टेलिजेन्सलाई व्यापक रूपमा समाहित गर्दै लैजाने घोषणा गरेपछि मस्कले यसलाई ‘सुरक्षामाथिको खेलवाड’ भएको संज्ञा दिएका छन् ।

एप्पलमा एआई, मस्क रुष्ट

‘यदि एप्पलले अपरेटिङ सिस्टमकै तहमा ओपनएआईलाई आफ्ना डिभाइसहरूमा राख्यो भने म मेरा कम्पनीमा एप्पलका डिभाइसहरूमा प्रतिबन्ध लगाउँछु,’ मस्कले भनेका छन् ।

उनले आफ्नो कम्पनीमा आउने व्यक्तिहरूले एप्पल डिभाइसहरूलाई ‘फराडे केज’ भनिने सुरक्षित स्थानमा राखेपछि मात्र भित्र छिर्न दिने मस्कको योजना छ । तथापि ओपनएआईसँगको विवाद मस्कका लागि नयाँ विषय भने होइन । उनले २०१८ यता निरन्तर उक्त आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्मसँग घम्साघम्सी गर्दै आएका छन् ।

ओपनएआई मात्र होइन समग्र आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रकै विषयमा पनि मस्कको धारणा निरन्तर बदलिने गरेको छ । गत वर्ष झन्डै एक हजार प्रविधि क्षेत्रका व्यक्तिहरूसँगै लागेर मस्कले अहिले ओपनएआईजस्ता प्रविधि सार्वजनिक प्रयोग हुने समय आइनसकेको भन्दै त्यसको कठोर व्यवस्थापन हुने तर्क गरेका थिए । गएको वर्ष यस्ता आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्महरूले मानवतालाई नै खतरामा पार्न सक्ने भनेका मस्कले आफैंले भने ओपनएआईसँग प्रतिस्पर्धा गर्न एक्सएआई नामक कम्पनी सुरु गरेका छन् ।

कम्पनीको कुल बजार मूल्य केही साता अघिको लगानी अभियानसँगै ७ अर्ब डलरले बढेर करिब २५ अर्ब अमेरिकी डलरभन्दा बढी भएको बजार विश्लेषकहरूले बताएका छन् । अहिलेका आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्म नियन्त्रण बाहिर जान सक्ने भन्दै बारम्बार नियमनको माग गर्ने उनले

आफ्नो एक्सएआईलाई भने एक्स (ट्वीटर) मा समाहित गरिसकेका छन् । र, त्यसलाई निरन्तर बढाउने र प्रवर्द्धनसमेत गर्दै आएका छन् । सन् २०१५ को डिसेम्बरमा अहिलेका ओपनएआई प्रमुख साम अल्टम्यानसमेत अन्य ८ व्यक्ति र कम्पनीसँग मिलेर ओपनएआई कम्पनी सहस्थापना गरेका मस्कले पहिले सो कम्पनीलाई महत्त्वाकांक्षी बनाउन प्रमुख भूमिका खेलेका थिए । नाफा वितरण नगर्ने कम्पनीको रूपमा स्थापित कम्पनीको सुरुवातमा ग्रेग र सामको झन्डै एक सय मिलियन डलर लगानी उठाउने लक्षलाई एक अर्ब डलर फन्ड रेज गर्नुपर्ने र आफूले त्यसमा सक्रिय भूमिका खेल्ने मस्कले आश्वासन दिएको ओपनएआईको ब्लगमा उल्लेख छ ।

२०१७ मा बोर्डमाथिको नियन्त्रण, प्रमुख कार्यकारीको पद र प्रमुख सेयर हिस्सा दाबी गरेका मस्कले त्यसो हुन नसक्ने देखेपछि लगानी रोकेका थिए । त्यसपछि आफ्ना टेस्लाजस्ता कम्पनीमा ओपनएआईलाई जोड्नेसमेत प्रयास गरेका थिए । यी सबै प्रयत्न असफल भएपछि सन् २०१८ को सुरूआतमा कम्पनीको सफलताको संभावना शून्य बराबर रहेको भन्दै मस्क बाहिरिएका थिए । सोही समयमा सत्य नाडेलाको नेतृत्वमा आफ्नो लगानी विविधीकरण गर्ने प्रयत्नमा रहेको माइक्रोसफ्टले ओपनएआईमा अर्बौं डलर लगानी गरेर भरथेग गरिदिएको थियो ।

त्यसयताका केही समय ओपनएआईजस्ता कम्पनी अर्बौं डलर नभए चल्न नसक्ने प्रतिक्रिया दिने मस्क २०२२ को अन्त्यतिर च्याटजीपीटी सार्वजनिक हुँदै तहल्का मच्चाएपछि निरन्तर विरोधमा प्रतिक्रिया दिने गरेका छन् । सन् २०२४ को फेब्रुअरीमा उनले साम अल्टम्यान र ओपनएआईलाई विपक्षी बनाएर एक मुद्दासमेत दायर गरेका छन् । जसमा सो कम्पनीको स्थापनाका क्रममा भएको नाफा वितरण नगर्ने र निःशुल्क रहने साझा धारणाविपरीत माइक्रोसफ्टसँग मिलेर अर्बौं डलरको व्यवसायमा लागेको आरोप लगाइएको छ । मुद्दा दायर भएपछि ओपनएआईले मस्कलाई ढोंगी भएको भन्दै २०१५ यताका सबै इमेल र कुराकानी एक ब्लगमार्फत सार्वजनिक गरिदिएको थियो । उक्त मुद्दा भने हाल अदालतमा विचाराधीन छ ।

ओपनएआई प्रमुख अल्टम्यानले मस्कका निरन्तर आक्रमणको प्रतिवादमा उनी एक प्रतिभाशाली प्रविधि निर्माता रहेको तर आफ्नो धरातलबाट खस्किन थालेपछि प्रतिस्पर्धी वा आफैंले खोलेको संस्थालाई समेत गाली गर्न पछि नपर्ने जनाएका छन् । उनको बानीले आफूलाई निराश बनाउने गरेको अल्टम्यानले बताएका छन् ।

पछिल्लो समय अमेजन, अल्फाबेट (गुगल), माइक्रोसफ्ट, मेटा (फेसबुक) सँगै चिनियाँ र युरोपेली कम्पनीहरूबीच आगामी केही वर्षमा खर्बौं डलरको हुने अनुमान गरिएको जेनेरेटिभ एआई बजारमा प्रभुत्व जमाउन होड चलिरहेको छ । यस्तो अवस्थामा मस्क आफू पनि पछि पर्न चाहँदैनन् र उनको पछिल्लो आक्रमणले पनि त्यही निरन्तरताको झल्को दिन्छ ।

यसअघि मेटा प्रमुख मार्क जुकरवर्गलाई खुला रूपमा लड्न चुनौती दिएर पछि हटेका मस्कले एप्पल कम्पनीलाई समेत एकाधिकारबाट विज्ञापन र एपस्टोरमार्फत ठग्ने गरेको आरोप लगाएका थिए । मस्कको पछिल्लो खरो प्रतिक्रिया ओपनएआई र एप्पलसँगको पुरानै खटपटको निरन्तरता भएको र भविष्यमा यो झनै बढ्ने देखिएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?