कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७
मेड इन नेपाल

दैनिक जीवनको एक हिस्सा ‘हाम्रो पात्रो’

प्रयोगकर्ताको ‘इन्गेजमेन्ट’ बढाउन समाचार सामग्री राख्ने, राशिफल थप्ने, नेपाली र अंग्रेजीसहित नेपालभाषा, भोजपुरी, मैथिली, डोटेली र बज्जिका भाषामा पनि यस एपलाई रूपान्तरण गरिएको छ, हाल ५ सयभन्दा धेरै रेडियो र ९२ भन्दा धेरै ‘न्युजपोर्टल’ ‘हाम्रो पात्रो’ मा आबद्ध छन्
सजना बराल

काठमाडौँ — केही समययता नेपालमा सूचना प्रविधि क्षेत्रले आशालाग्दो प्रगति गरेका विवरण सार्वजनिक भएका छन् । विशेष गरी सूचना प्रविधि सेवा निर्यातमा नेपाली जनशक्तिले विभिन्न देशका माग पूरा गरेर लाखौं डलर भित्र्याइरहेको अध्ययनले देखाएका छन् । तथापि, स्थानीय रूपमा उल्लेख्य मात्रामा प्रयोग हुने ‘आईटी प्रोडक्ट’ भने कमै बनेका छन् ।

दैनिक जीवनको एक हिस्सा ‘हाम्रो पात्रो’

स्थानीय आवश्यकता पूरा गर्ने नेपालका ठूला ‘आईटी कम्पनी’ वा ‘आईटी प्रोडक्ट’ औंलामा गन्न सकिन्छ । यस्ता एपमा ईसेवा, कनेक्ट आईपीएस, खल्ती, नागरिक एप, एनसेल एप, लुडो, कलब्रेकलगायत रहेका छन् । यस सूचीमा छुट्नै नहुने एउटा नामचाहिँ ‘हाम्रो पात्रो’ हो ।

भित्ते पात्रो वा पकेट क्यालेन्डर बोक्नुपर्ने र नेपाली तिथिमिति याद गर्नुपर्ने झन्झटको विकल्पका रूपमा सुरु गरिएको यो एप अहिले २ करोडभन्दा बढी डिभाइसमा डाउनलोड भइसकेको छ । नेपालीले नै बनाएको र नेपालमा दैनिक रूपमा सर्वाधिक प्रयोग हुने एपमा यसको गणना हुन्छ । नेपालमा सबैभन्दा धेरै डाउनलोड हुने विदेशी एपमा ह्वाट्सएप म्यासेन्जर, फेसबुक, म्यासेन्जर, टिकटक, क्यापकट, सेयरइट, इन्स्टाग्राम, फ्रि फायर, स्न्यापच्याटलगायत छन् । वेबसाइट र एप्लिकेसनहरूको ट्राफिक (प्रयोगकर्ता) गणना गर्ने सिमिलर वेबको सूचीमा पछिल्लो समय नेपालमा सर्वाधिक डाउनलोड हुने ५० एपमध्ये नेपाली एपचाहिँ ईसेवा, हाम्रो पात्रो, हाम्रो नेपाली किबोर्ड, खल्ती, नागरिक एप र एनसेल हुन् ।

विश्व सूचना प्रविधिको केन्द्र मानिने क्यालिफोर्नियास्थित सिलिकन भ्यालीमा तीन वर्ष काम गरेको अनुभव ‘हाम्रो पात्रो’ लगायत आफ्ना उत्पादनलाई सफल बनाउनमा लगाएका शंकर उप्रेतीले नेपालमा १ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । एपमा जोडिएका १५ ज्योतिषी र करिब ४ सय डाक्टरले पनि हाम्रो पात्रोबाट अप्रत्यक्ष रोजगारी वा ‘साइड हसल’ को विकल्प पाएका छन् ।

बैंक तथा वित्तीय संस्था, किताब पसल र अन्य कार्यालयहरूले उपलब्ध गराएका पात्रो कतिपय घरका भित्तामा अहिले पनि झुन्डिएका होलान् । तर, तपाईंले बजारमै गएर पात्रो किन्न छोडेको कति भयो ? अझ मानिसहरू गोजीमा १२ पानाको फुच्चे पात्रो बोकेर हिँड्थे भन्ने सुन्दा ‘जेन जी’ पुस्ता छक्कै पर्ला । तथापि, उनीहरू पनि आफ्ना खल्तीमा पात्रो त बोकेरै हिँड्छन् । फरक यत्ति हो– पहिले छापा पात्रो बोकिन्थ्यो भने अहिले ‘डिजिटल’ ।

पात्रोसँगै युवा पुस्ताले यो एपमा धेरै प्रयोग गर्ने अर्को फिचर चाहिँ कुण्डली हो । यस एपबाट हरेक महिना ४ देखि ५ लाख कुण्डली बन्ने गरको शंकरले बताए । ‘यो चाहिँ रोचक नम्बर छ,’ उनले भने, ‘विशेष गरी युवा उमेरका व्यक्तिहरूले कुण्डली बनाउने र कुण्डली बनाएर एक–अर्कासँग गुण मिलान गर्ने गरेको देखिन्छ । कतिले चाहिँ कुण्डली मिलाएर बिहे गरे पनि पछि झगडा पर्‍यो भनेर गुनासोसमेत गर्नुहुन्छ ।’

हिन्दु पञ्चाङ्ग वा नेपालको विक्रम संवत् पात्रोलाई सबैभन्दा पहिला डिजिटाइज गर्ने व्यक्ति हुन्, शंकर । उनले सन् २०१० मै नेपाली पात्रोलाई डिजिटाइज गरेका थिए । अहिले एपस्टोर र प्लेस्टोरमा टन्नै डिजिटल पात्रो भेटिन्छन्, छानी–छानी डाउनलोड गर्न मिल्ने पर्याप्त विकल्प छन् । तथापि, शंकरले बनाएको ‘हाम्रो पात्रो’ अधिकांश नेपालीको साझा रोजाइमा पर्छ । यो अन्दाजका भरमा भनिएको होइन, तथ्यांकले देखाउँछ– दुई करोड डाउनलोड्स, दैनिक सक्रिय प्रयोगकर्ता १८ लाख, एकपटक एप खोल्दा प्रयोगकर्ताले औसत १० मिनेट बिताउने गरेका छन् ।

रातो गोलोमा एक जोडी सेतो चन्द्र सूर्य । राष्ट्रियता र स्थानीयपन झल्काउने यी दुई चिह्न भएको एपभित्र सेवा भने ४० वटाभन्दा धेरै छन् । ताजा समाचारदेखि मिठा रेसिपी बनाउने तरिका, स्क्यान एन्ड पेदेखि रिचार्ज गर्ने सुविधा एपमा उपब्ध छ । चिकित्सक र ज्योतिषी एकै ठाउँमा भेटिन्छन् । बिहान उठेर सबैभन्दा पहिला रेडियो सुन्ने कि राशिफल हेर्ने ? रोजाइअनुसार सेवा लिन सकिन्छ । तरकारी र सुनचाँदीको भाउदेखि बैंक ब्याजदरबारे पनि यस एपमा जानकारी राखिएको छ । यिनै विविध सेवाका कारण आममानिसको दैनिक जीवनमा जोडिन पुगेको छ हाम्रो पात्रो ।

‘युजर टु युजर कल र एन्ड टु एन्ड च्याटजस्ता कम्युनिकेसनका सुविधा पनि हामी एपमा थप्न चाहन्छौं तर त्यसका लागि केही समय लाग्ला,’ अमेरिकाको नेभाडास्थित हाम्रो पात्रोको कार्यालयबाट शंकरले ह्वाट्सएपमार्फत भने, ‘अबको एक महिनामा एपलाई पर्सनलाइज गर्न सकिने सुविधा ल्याउँदै छौं । धेरै थोक एकै ठाउँमा भएर गज्याङगुजुङ भयो भन्ने गुनासो आएकाले प्रयोगकर्ताले आफूले चाहेको सेवा मात्र देखिने र अरू सेवा हाइड गर्न मिल्ने फिचर ल्याउन लागेका छौं ।’

नेपालीलाई चाहिरहने तिथिमिति, चाड वा दिवसहरू कागजी क्यालेन्डरको सट्टा स्मार्टफोनमै हेर्न मिल्ने सुविधासहित सुरु भएको हाम्रो पात्र अहिले पात्रोमा मात्र सीमित छैन, यसले आफूलाई सुपर एपमा परिवर्तन गरिसकेको छ । यस एपमा विविध सुविधा एकै थलोमा उपलब्ध छन् । चीनको विच्याट, अमेरिकाको आमेजन र इन्डोनेसियाको गोजेक सफल सुपर एपका उदाहरण हुन् । म्यासेजिङ प्लाटफर्मका रूपमा सुरु भएको विच्याट विश्वकै अग्रणी सुपर एप हो । यसका मासिक सक्रिय प्रयोगकर्ता १.३ अर्ब छन् ।

काठमाडौंको सिफलस्थित 'हाम्रो पात्रो'को कार्यालयमा कार्यरत कर्मचारीहरू । तस्बिर : दीपक केसी/कान्तिपुर

विच्याटमार्फत चीनमा म्यासेजिङसहित सामाजिक सञ्जाल, मोबाइल पेमेन्ट, फुड डेलिभरी, यातायात बुकिङ र कतिपय सरकारी सेवासमेत लिन सकिन्छ । हाम्रो पात्रोको झुकाव पनि विच्याटजस्तै सुपर एप बन्नेमा छ । यसका लागि कम्पनीले विभिन्न व्यवसायसँग साझेदारी गरिसकेको छ भने आफ्नै भुक्तानी प्रणाली, विदेशबाट रकम पठाउन मिल्ने सुविधा, अनलाइन सपिङजस्ता आन्तरिक इकोसिस्टम तयार पारेको छ । सन् २०१० मा क्यालेन्डर, फोरेक्स, मिति परिवर्तन, नेपाली शब्दकोश हुँदै कम्पनीले सन् २०२१ मा हाम्रो रेमिट र सन् २०२३ मा हाम्रो पे वालेट सार्वजनिक गरेको थियो । योसँगै हाम्रो ज्योतिष, हाम्रो हेल्थ, हाम्रो गिफ्ट, हाम्रो मार्टजस्ता सेवा एपमा समावेश छन् ।

एउटा रोचक प्रसंगचाहिँ कम्पनीले सबैथोक ‘हाम्रो’ अन्तर्गत राखे पनि कम्पनीको आधिकारिक नाम ‘स्मार्ट आइडिया प्रालि’ हो । कम्पनी निर्देशका, २०७२ अनुसार कम्पनीको नाममा सर्वनाम (मेरो, हाम्रो, तिम्रोलगायत) शब्द प्रयोग गर्न नमिल्ने व्यवस्थाका कारण ‘हाम्रो पात्रो’ ब्रान्ड नेममा सीमित छ । ‘सुरुमा मैले एपको नाम नेपाली क्यालेन्डर राख्ने सोचेको थिएँ तर त्यो साह्रै आमशब्दजस्तो लाग्यो,’ शंकरले भने, ‘सबैले प्रयोग गर्न मिल्ने, सबैको एप भएकाले साथीहरूको सल्लाहमा अन्ततः हाम्रो पात्रो भन्ने नाम राखिएको हो ।’

तीन वर्षअघि सुरु गरिएको हाम्रो रेमिट सेवामार्फत मासिक औसत ३० लाख रुपैयाँ स्वेदश भित्रिरहेको कम्पनीकी प्रबन्ध निर्देशक सुदिना गौतमले जानकारी दिइन् । हाम्रो एपबाट रेमिट्यान्स पठाउने सुविधा अहिले अमेरिकाका ३२ वटा राज्य र अस्ट्रेलियामा मात्रै रहेको उनले बताइन् । आर्थिक वर्षको अन्त्यमा गरिने हिसाब–किताब र वर्ष समीक्षाका काममा व्यस्त सुदिना एपमा भइरहेका ‘फिचर’ हरूको प्रयोग बढाउनेमा आफूहरू केन्द्रित रहेको सुनाउँछिन् । उनका अनुसार एक वर्षअघि सुरु गरिएको हाम्रो पे वालेटलमा अहिले ३ लाख मात्रै प्रयोगकर्ता रहेको, हाम्रो मार्ट पनि प्रारम्भिक चरणमा रहेको, टेलिहेल्थ र ज्योतिष सेवामा पनि प्रयोगकर्ता थप्न सक्ने ठाउँ छन् ।

‘हरेक बिहान राशिफल हेर्नेदेखि मोबाइल रिचार्ज र डेट कन्भर्ट गर्नेजस्ता सानो युनिट हुँदै विदेशबाट नेपालमा पैसा पठाउने प्रयोजनका लागि समेत हाम्रो एप देश–विदेशका नेपालीले प्रयोग गर्दै आएका छन्,’ प्रबन्ध निर्देशक गौतमले भनिन्, ‘हरेक मानिसको दैनिक जीवनलाई थोरै भए पनि सजिलो बनाइदिएको हुनाले हाम्रो एप रुचाइएको हो । यसले विश्वभरका नेपालीलाई आफ्नो संस्कृतिसँग भावनात्मक रूपले पनि जोडेको छ ।’ राति बच्चा रुँदा तुरुन्तै डाक्टरलाई फोन गर्न सकिने, सस्तो मूल्यमा चाँडै रेमिट्यान्स पठाउन मिल्ने, कुन तिथिमा पूजा–आजा वा कार्जे गर्ने भन्नेबारे एपबाटै थाहा पाउन सकिने जस्ता सुविधाले देश–विदेशका नेपालीको दैनिक जीवनका समस्या समाधान गर्ने विषय भएको उनको दाबी थियो ।

विदेशका नेपालीलाई टार्गेट’

सन् २००८ मा उच्च शिक्षाका लागि अमेरिका गएका शंकरले साथमा भित्ते पात्रो पनि लिएर गएका थिए । त्यस बेला विदेश जाने सबै नेपालीको लगेजमा पात्रो अनिवार्य हुन्थ्यो । नयाँ वर्ष लागेसँगै शंकरले नेपालबाट लगेको पात्रो ‘डेट एक्स्पायर’ भयो । छापा पात्रोको यो समस्या बर्सेनि दोहिरिने भएपछि उनले पात्रोलाई डिजिटल बनाउने सोचे । त्यही सोचले जन्मिएको हो– हाम्रो पात्रो । ‘मैले नितान्त व्यक्तिगत प्रयोजनका लागि बनाएको एप हो यो,’ उनले भने, ‘बोस्टन विश्वविद्यालयमा कम्प्युटर साइन्समा स्नातक गर्दाताका बिदाको दिन पात्रोका लागि कोडिङ गर्थें । यो एप बनाइसक्न तीन महिना लागेको थियो ।’

एप बनाएर शंकरले त्यसलाई म्याकबुकमै थन्काए । संयोगवश त्यस बेला एप्पलले भर्खरै रिलिज गरेको आफ्नो एप मार्केटप्लेस ‘एपस्टोर’ चर्चामा थियो । सन् २००८ मा ५ सयवटा र सन् २०१० मा ५ लाख एप एपस्टोरमा थिए, अहिले १८ लाखभन्दा धेरै एप रहेको अनुमान छ । शंकरले ९९ डलर तिरेर सन् २०१० मा ‘हाम्रो पात्रो’ लाई एपस्टोरमा पब्लिस गरे । अहिलेजस्तो जे चिजका लागि पनि एप बनाउने चलन त्यस बेला थिएन । गुगलको प्लेस्टोर त रिलिजसमेत भएको थिएन । शंकरले विदेशमा भएका नेपालीलाई सजिलो होस् भनेर एपमा मिति कन्भर्ट गर्ने र विदेशी विनियम (फोरेक्स)बारे पनि जानकारी दिने सुविधा थपेर बर्सेनि ९९ डलर तिर्दै एप नवीकरण गरिरहे ।

‘आम्दानीको कुनै स्रोत थिएन, विद्यार्थी मान्छेलाई ९९ डलर तिर्न पनि गाह्रै हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘सन् २०१२ मा गुगलले प्लेस्टोर रिलिज गर्‍यो, त्यसमा पनि हाम्रो पात्रो पब्लिस गरें । यता, नेपालमा एन्ड्रोइड फोन बोक्नेहरू बढे । सन् २०१३ मा १ लाखवटा डिभाइसमा एप डाउनलोड भयो ।’ यतिन्जेल शंकरले गुगल एडमार्फत एपबाट आम्दानीसमेत गर्न थालेका थिए । ‘मनिटाइजेसन’ सुरु गरेको पहिलो दिन नै १० डलर प्राप्त भएपछि निकै उत्साहित भएको उनी स्मरण गर्छन् । कम्पनीले हाल विज्ञापनसँगै कमिसनबापत आय आर्जन गर्ने गरेको छ । ज्योतिषी र चिकित्सकसँग कमिसन लिन्छ । शंकरले सन् २०१४ मा हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरे । मोबाइलमा नेपालीमै लेख्न मिल्ने यो सुविधा धेरैले रुचाएका छन् । अहिले हाम्रो किबोर्डको डाउलोड्स गुगलप्लेमा मात्रै १ करोडभन्दा बढी छ ।

विदेशमा बस्ने नेपालीलाई आफ्नो संस्कार र संस्कृतिसँग जोड्न, भावनात्मक रूपमा मातृभूमिप्रति आत्मीय बनाइराख्न र मूलतः विदेशका नेपालीको सहजताका लागि सुरु गरिएको एप बिस्तारै नेपालभित्र बढी लोकप्रिय हुन थाल्यो । सुरुमा एक्लै, त्यसपछि एक जना कर्मचारी राखेर हाम्रो पात्रोलाई अपग्रेड गरेका शंकरले नेपालीका दैनिक जीवनका स–साना आवश्यकता पहिल्याएर त्यसलाई एपमा समावेश गर्न थाले । यसले गर्दा उनको एप झन्झन् मौलिक बन्दै गयो ।

सिलिकन भ्यालीको सिम्यान्टेक इन्टरप्राइजमा प्रिन्सिल इन्जिनियरका रूपमा निकै आकर्षक सेवा सुविधासहितको जागिर छोडेर सन् २०१५ मा शंकर उद्यमी बन्न तम्सिए । त्यसयता उनी हाम्रो पात्रोको प्रवर्द्धनकै लागि पूर्ण रूपमा लागिपरेका छन् । नेपाल र अमेरिका दुवैतिर कार्यालय खोलेर एपलाई सुपर एप बनाउने यात्रा तय गरेका छन् । एपमा प्रयोगकर्ताको ‘इन्गेजमेन्ट’ बढाउन समाचार सामग्री राख्ने, राशिफल थप्ने, नेपाली र अंग्रेजीसहित नेपालभाषा, भोजपुरी, मैथिली, डोटेली र बज्जिका भाषामा पनि एपलाई रूपान्तरण गरेका छन् । हाल ५ सयभन्दा धेरै रेडियो र ९२ भन्दा धेरै न्युजपोर्टल हाम्रो पात्रो एपमा आबद्ध छन् ।

‘बिहान राशिफल राख्न एकछिन ढिलो गर्‍यो भने दिनभर अफिसमा फोन आउँछ,’ कम्पनीकी प्रबन्ध निर्देशक सुदिना भन्छिन्, ‘हामीले विभिन्न मिडियाका समाचार एग्रिगेट गर्ने भए पनि प्रयोगकर्ताले त्यसलाई हाम्रो पात्रोकै समाचार मानेर पढ्छन् । सायद यो नै हाम्रो सफलता हो ।’ सुदिना मात्र होइन, प्रविधि क्षेत्रका जानकारहरूले पनि दैनिक जीवनका अत्यावश्यक र सर्वसाधारणको रुचि रहने झिनामसिना राशिफल, सुनचाँदीका भाउ, विनिमय दर, मिति कन्भर्टर, कुण्डलीलगायत विषयलाई सामान्य साक्षर व्यक्तिले पनि सजिलै प्रयोग गर्न मिल्ने बनाउनु नै हाम्रो पात्रोको निरन्तर वृद्धिको आधार भएको बताउँदै आएका छन् ।

प्रकाशित : असार १६, २०८१ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×