कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

रोल्पा जिप दुर्घटना : मृतकहरूको पहिचान खुल्यो, शोकमा तालाबाङ

रोल्पा — रोल्पामा सोमबार बेलुकी यात्रुसहितको जिप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । प्रहरीले दुर्घटनामा परेर आठ जना घाइते भएको जनाएको छ । 

रोल्पा जिप दुर्घटना : मृतकहरूको पहिचान खुल्यो, शोकमा तालाबाङ

रोल्पाको घर्तीगाउँबाट तालाबाङ जाँदै क्रममा लु १ ज ३२५२ नम्बरको फोर्स जिप घर्तीगाउँ–तालाबाङ सडक खण्डअन्तर्गत पर्ने परेवा छहरानजिक सडकभन्दा ४ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा ४ महिला, २ पुरुष र १ बालक छन् । उनीहरूको सनाखत मध्य रातिसम्म प्रहरीले गरेको छ । मृत्यु हुनेहरूमा माडी गाउँपालिका–३ ७७ वर्षका खडकबहादुर डाँगी, वर्ष ३० की अमृता घर्तीमगर, उनकी छोरी १८ महिनाकी नाम नखुलेकी बालिका, ३३ वर्षकी जुनुमाया खड्का, परिवर्तन गाउँपालिका–राङ्सीकी ३२ वर्षकी रामकली पुन, माडी–३ का ७० वर्षका झुपलाल डाँगी, माडी–३ कै धनठानाकी ५० वर्षकी कर्मा घर्तीमगर छन् । झुपलाल र खडकबहादुर दाजुभाई हुन् । अमृता र उनकी १८ महिनाकी छोरीको पनि मृत्यु भएको छ । मृतक जुनुमायाका ३ वर्षका बालक हिटलर गम्भीर घाइते छन् ।

दुर्घटनामा घाइतेको उपचारपछि एक जनालाई रोल्पा अस्पतालबाट डिस्चार्ज गरिएको छ । डिस्चार्ज भएकामा माडी–३ की ४० वर्षकी दिलकुमारी घर्तीमगर हुन् । उनको दाँहिने खुट्टामा चोट लागेको छ भने सामान्य अवस्था छ । यस्तै दुर्घटनामा घाइते भएका माडी–३ का ३७ वर्षका खगेन्द्र बाँठालाई अस्पतालमा चिकित्सकको निरीक्षणमा उपचार जारी राखिएको छ । रोल्पा जलजला यातायात प्रालिको लु १ ज ३२५२ नम्बरको जिप दुर्घटनापछि पूर्ण रुपमा क्षतविक्षत अवस्थामा छ ।

गम्भीर घाइते भएका ६ जनालाई नै बुटवलस्थित अस्पतालमा थप उपचारका लागि रिफर गरिएको छ । रिफर गरिएकाहरूमा जिपका चालक परिवर्तन–६ का ४५ वर्षका दीपक थापा, माडी–२ का ३ वर्षका बालक हिटलर खड्का, माडी–३ की ६० की कर्म बुढा मगर, ४२ वर्षकी बरमाली घर्तीमगर, १३ वर्षकी प्रतिभा बुढामगर र गंगादेव–७ का ५२ वर्षका नैनसिंह पुनमगर छन् । उनीहरूलाई सोमबार राति नै बुटवल पठाइएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले बताए ।

रोल्पाका प्रहरीका प्रमुख डीएसपी भरत लामाले पहिरोका कारण दुर्घटना हुन पुगेको बताए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै उनले वर्षातका बेलामा सडक माथिबाट पहिल्यै झरेको पहिरोलाई छलेर अगाडि बढ्न खोज्दा जिप दुर्घटनामा परेको बताए । ‘जिपका चालकले पहिरो छलेर केही अग्लो भागबाट अघि बढाउन खोज्दा जिप पछाडि सर्दै चिप्लो भएको सडकबाट तल खसेको अवस्था छ,’ उनले भने ।

दुर्घटनाको एक मात्रै प्रत्यक्षदर्शी रहेकी यात्रु दिलकुकारी घर्तीमगरले चालकले जिप जोगाउन खोज्दा पनि नसकेको बताइन् । माडी–३ की ४० वर्षकी उनी जिप पछाडि जान खोजेपछि हाम फालेर जोगिएकी थिइन् । alहान तालाबाङबाट आएको जिप दिउँसो घर्तीगाउँबाट ४ बजे तालाबाङ तर्फ हिडेको थियो । त्यसको करिब एक घण्टापछि जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

शोकमा गाउँ

जिप दुर्घटनामा परेर एकै गाउँका ७ जनाको मृत्यु भएपछि तालाबाङ शोकमा डुबेको छ । अझ २ जना आफन्तहरूको मृत्युपछि थप पीडा छ । स्थानीय ज्योति डाँगी भन्छन्, ‘दुर्घटनामा मेरै दुई जना ठूलोबुवाको ज्यान गयो । असावधानीवश यात्रामा गाडी चलाउनु यातायात व्यवसायी र गाडी साहुको कमजोरी हो ।’

दुर्घटनापछि उद्धारका लागि प्रहरी पुग्न ढिला गरेकोमा स्थानीय निकै आक्रोशित छन् । स्थानीय शिक्षक शेरबहादुर डाँगी भन्छन्, ‘दुर्घटना भएपछि प्रहरीलाई छिटो खबर गरेका थियौं । तर प्रहरी पुग्न दुई घण्टा लाग्यो । हामीले घाइतेलाई उद्धार गरिसकेपछि पनि प्रहरी घटनास्थल पुगेन ।’ उनले प्रहरीलाई खबर गर्दा पनि तयारी गर्न र कपडा लगाउन समय लागेको जवाफ पाएको सुनाए । उनले प्रश्न गरे, ‘प्रहरीले कपडा लगाउँछौं वा केके गर्छौं भनेर जवाफ फर्काए । प्रहरीले कुनै लडाई भएको ठाउँमा पुग्ने जस्तो तयारी गर्नुपर्छ र ?’

प्रहरी घटनास्थल नपुग्दा सूचना प्राप्त गर्न पनि समस्या देखिएको थियो । दुर्घटना स्थलमा प्रहरी पुग्नु अघि नै स्थानीयले घाइतेको उद्धार गरेकाले यात्रु, मृतक र घाइतेको संख्या यकिन रूपमा पाउन निकै कठिन भयो ।

प्रकाशित : असार १८, २०८१ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×