महिनावारीप्रतिको भ्रम चिर्न ‘प्रोजेक्ट रजस्वला’

महिनावारी दिवसका अवसरमा पाल्पामा मेलाका साथै सचेतनाका विभिन्न कार्यक्रम गरिन्छ, महिनावारीका बारेमा रहेका संकोच र अफवाह हटाउन यस्तो मेला सहयोगी बन्दै आएको छ

असार १६, २०८१

माधव अर्याल

'Project Rajaswala' to remove confusion about menstruation

पाल्पा — पाल्पामा महिनावारीप्रतिको गलत धारणा हटाउन युवाको सक्रियता बढेको छ । युवाहरूको सक्रियतामै यहाँ ‘महिनावारी मेला’ पनि सञ्चालन भइरहेको छ । युवाको सक्रियतामा सुरु भएको मेलाअन्तर्गत सचेतनाका कार्यक्रम गरिन्छ । ‘प्रोजेक्ट रजस्वला’ नाम दिइएको मेलामा अहिले सय बढी युवा सहभागी हुन्छन् । ‘हामी १०–१५ जना युवाले सुरुवात गरेका हौं,’ युवा अभियन्ता डा.विनु नेपालले भनिन्, ‘अहिले सय बढी युवाको सक्रिय सहभागितामा अभियान चलाइरहेका छौं ।’

हरेक अंग्रेजी वर्षको अप्रिल र मे महिनामा ‘प्रोजेक्ट रजस्वला’ कार्यक्रम गरिन्छ । यसअन्तर्गत वक्तृत्वकला प्रतियोगिता, विद्यालय शिक्षा कार्यक्रम, जनचेतनामूलक नाटक, जनचेतनामूलक खेल खेलाउने गरिँदै आएको छ । यहाँको रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीको सक्रियतामा भइरहेको अभियानमा युवाको चासो पनि उत्तिकै रहेको अभियन्ता नेपालले बताइन् । ‘म पेसाले चिकित्सक हुँ तर यो समाजको कुरीतिमध्येको एक महिनावारीप्रतिको गलत धारणा हटाउने अभियानमा छु,’ उनले भनिन्, ‘तीन वर्षदेखि यसमा सक्रिय भूमिका निर्वाह गरेकी छु ।’

पाल्पाको तानसेन–७, प्रभासबाट सुरु भएको यो मेला अहिले अन्यत्र पनि गरिन थालेको छ । अभियन्ता नेपालका अनुसार एक सातादेखि महिना दिनसम्म पनि अभियान सञ्चालन गरिएको छ । उनको सुझाव छ, ‘महिनावारीलाई मर्यादित बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्ने हुन्छ ।’ महिनावारी सामान्य प्राकृतिक अवस्था हो । तर समाजमा अझै पनि महिनावारी हुनुलाई नराम्रो रूपमा लिइन्छ । त्यसैले धेरैजसो महिलाले सार्वजनिक रूपमा यसबारे चर्चासमेत गर्न नसक्ने अर्की अभियन्ता स्नेहा बस्नेतले बताइन् । ‘पिस फर नेपाल’ संस्थाका ब्रिटिस ह्वाट्सनले पुनः प्रयोग गर्न सकिने सेनेटरी प्याड बनाउन सिकाएपछि यसलाई मेलाका रूपमा लगेको उनले बताइन् । 

हुन त महिनावारीबारे महिलामा धेरै खालका भ्रम छन् । महिनावारी शारीरिक जैविक प्रक्रिया हो । त्यसैले पनि महिलाले महिनावारीबारे वैज्ञानिक जानकारी लिन जरुरी रहेको उनले बताइन् । ‘अझै पनि महिनावारी भएका बेला अमिलो, तारेका तथा मसलायुक्त खाना खानुहुन्न भन्ने छ,’ उनले भनिन्, ‘सडक नाटकमा र सचेतना कार्यक्रममा यस्ता विषयलाई उल्लेख गरिन्छ ।’ महिनावारी प्रत्येक २८ दिनमा हुनैपर्छ । महिनावारीको समयमा व्यायाम गर्नुहुन्न, आराम गर्नुपर्छ । महिनावारीसम्बन्धी विभिन्न भ्रम चिर्न पनि मेला सहयोगी बन्ने गरेको उनले बताइन् । 

महिनावारीको समयमा नुहाउनु अथवा कपाल धुनु हुन्न भन्ने जस्ता मान्यता पनि रहेका छन् । हुन त अझै पनि समाजमा छाउ बार्ने, छाउगोठ बस्ने प्रचलन कायमै छ । ‘महिनावारीका विषयमा अझै पनि बुझाउन सकिएको छैन,’ रोट्र्याक्ट क्लब अफ पाल्पा लुम्बिनीकी संस्थापक डा.नेपालले भनिन् । 

हुन त हरेक वर्ष अन्तर्राष्ट्रिय महिनावारी दिवस मनाइँदै आएको छ । महिनावारीलाई मर्यादित रूपमा लिन महिला तथा बालबालिका मन्त्रालयले निर्देशिका पनि बनाएको छ । तर त्यसको यथोचित रूपमा राज्यका सबै निकाय, सबै क्षेत्रमा लागू भएको छैन । ‘महिनावारी मेला मात्र होइन, सचेतनाका कार्यक्रम गर्न जाँदा पनि विभिन्न कुरा सुनिन्थ्यो,’ अर्का अभियन्ता राजेश कोइरालाले भने, ‘यसलाई तत्काल र भर्खरै निमिट्यान्न पार्न सकिन्न । तर पनि जति सकिन्छ, सूचना दिने काम गरेका छौं ।’ उनका अनुसार विद्यालय, आमा समूह, क्लबमा पुगेर यससम्बन्धी सचेतना जगाउने काम भइरहेको छ । महिनावारी मेलामा सकेसम्म रमाइलो ढंगले सिकाउने गरिएको छ । ‘विद्यार्थीहरू पनि महिनावारीका विषयमा खुलेर बोल्न सक्ने हुँदा हामी खुसी छौं,’ उनले भने, ‘कतिपय विद्यार्थीले आफैं पुनः प्रयोग गर्ने सेनेटरी प्याड बनाएको देख्दा खुसी लाग्छ ।’

अझै पनि महिनावारीका बारेमा संकोच छ । यसलाई हटाउन महिनावारी मेलाले ठूलो सहयोग पुग्ने अर्की युवा अभियन्ता स्मारिकासिंह प्रधानले बताइन् । महिनावारीप्रतिको अनभिज्ञतालाई हटाउने उद्देश्यले महिनावारी दिवसका अवसरमा मेलाका साथै सचेतनाका कार्यक्रम गरिँदै आएको उनले बताइन् । ‘महिनावारीबारे धेरैजसो अहिले पनि खुलेर कुरा नगर्ने र प्राकृतिक प्रक्रियाबारे ग्रामीण क्षेत्रमा नकारात्मक सोच र भ्रमसमेत रहेकाले मेलामार्फत सचेत गराउने काम भइरहेको छ,’ महिनावारी मेलाकी कार्यक्रम संयोजकसमेत रहेकी प्रधानले भनिन्, ‘सामुदायिक विद्यालय, कलेजहरूमा यी कुराको विशेष ध्यान दिइनुपर्ने हुन्छ ।’

महिनावारी प्राकृतिक प्रक्रिया भएकाले यसलाई कुनै पाप वा गलत कुराका रूपमा लिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको सुझाव छ । महिनावारीका विषयमा गलत धारणा हटाउन सचेतनाका कार्यक्रम विद्यालय तहबाटै सुरु गर्नुपर्ने उनले बताइन् । यो प्राकृतिक प्रक्रिया हो भन्ने बुझाउन जरुरी रहेको युवाको भनाइ छ । ‘यसलाई कसरी हुन्छ सुरक्षित र सरसफाइमा विशेष ख्याल गर्नुपर्ने हुन्छ,’ उनले भनिन् । अझै पनि कतिपय ठाउँमा छोरीहरूलाई महिनावारीका बेला घरबाहिर राख्ने प्रवृत्ति कायमै छ । रजस्वलासम्बन्धी गलत धारणा र अन्धविश्वास चिर्न मेला सहयोगी बनेको उनको अनुभव छ । 

मेलामा राखिने स्टलमा महिनावारी प्याडको प्रयोग र यसको फाइदा, महिनावारी कप, महिनावारीमा पोषणयुक्त खानेकुराका विषयमा समेत जानकारी दिने गरेको सहयोगी संस्था नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए । विशेषगरी लुम्बिनी मेडिकल कलेजमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले यो अभियान सुरु गरेका हुन् । यसमा परिवार नियोजन संघ, स्वास्थ्य कार्यालयलगायत दर्जन बढी संघसंस्थाले समन्वय र सहयोग गरेका छन् । महिनावारी मेलामा सहभागी भएर यस विषयमा रहेका गलत धारणा हटाउन सहयोगी बन्ने विश्वास लिइएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टीकाराम अधिकारीले बताए । यस्ता मेलालाई ग्रामीण भेगमा पुगेर सचेत गराउन सकियो भने प्रभावकारी हुने उनले बताए । ‘हामीसँग बजेटको अभाव हो,’ उनले भने, ‘युवाको अभियानलाई हौसला दिनेबाहेक केही हुँदैन ।’ 

स्थानीय, प्रदेश र संघीय सरकारले आगामी वर्षको बजेटमा यस्ता सचेतनामूलक कार्यक्रमका लागि सम्बोधन गर्नुपर्ने युवा अभियन्ता दीक्षा राणाले बताइन् । ‘आगामी दिनमा स्थानीय तहले यस्ता मेला आयोजना गर्ने हो भने महिनावारीप्रतिका भ्रम चिर्न सहज हुने थियो,’ अभियन्ता राणाले भनिन्, ‘पहिलो कुरा घरपरिवारबाटै यसको समाधान गर्नुपर्ने हुन्छ । महिनावारी भएका बेलामा घरबाटै सहयोग हुन सक्नुपर्छ ।’ महिनावारी मेलामा विद्यार्थी, युवायुवती र आमा समूह, स्वयंसेविकाको सहभागिता रहने गरेको छ ।

सहभागीलाई महिनावारीका बारेमा चेतना जगाइने खालका नाटक, नृत्य पनि देखाइने गरेको अभियन्ता राणाले बताइन् । ‘महिनावारी गलत होइन, यो प्राकृतिक प्रक्रिया हो भन्ने बुझाउन अझै सकिएको छैन,’ उनले भनिन्, ‘महिनावारीका विषयमा रहेका कुरीति चिर्नका लागि महिनावारी मेलाजस्ता अभियानले गलत मान्यतालाई परिवर्तन गर्न मद्दत पुग्ने विश्वास हामीमा छ ।’

युवा ग्यालरी

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully