कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

१३ वर्षपछि पहिलो दीक्षान्त समारोह

भाद्र २२, २०८१
१३ वर्षपछि पहिलो दीक्षान्त समारोह

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहको अन्तिम तयारी पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जुम्लामा उद्घाटन गर्ने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको हो ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली र सहकुलपति स्वास्थ्यमन्त्री प्रदीप पौडेल जुम्ला आउने कार्यक्रम रहेको उपकुलपति डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे जुम्ला आइपुग्नेछन् । स्थापनाकालको १३ वर्षपछि पहिलो पटक दीक्षान्त समारोह हुन थालेको प्रतिष्ठानका उपकुलपति डा. रावलले बताए ।

प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुँदै छन् । प्रतिष्ठानबाट अहिलेसम्म जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीलाई दीक्षित गरिनेछ ।

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बीपीएचमा पहिलो र दोस्रो ब्याचका ३८, बीएमएसका दुई ब्याचका १३ र स्नातकोत्तरतर्फ एमडीजीपीका तीन जना, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँच जनासहित कुल ५६ जना विद्यार्थी उत्तीर्ण भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले कर्णाली प्रतिष्ठानको शैक्षिक भवन र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालन हुन लागेको आँखा केन्द्रको पनि उद्घाटन गर्नेछन् ।

प्रकाशित : भाद्र २२, २०८१ २०:२०
×