कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पकेट क्षेत्रबाटै दूध प्रतिलिटर ५५ रुपैयाँमा किनेर १०० मा बिक्री

भाद्र २९, २०८१
पकेट क्षेत्रबाटै दूध प्रतिलिटर ५५ रुपैयाँमा किनेर १०० मा बिक्री

सल्यान — दार्मा गाउँपालिका–५ ढाँकाडामका किसान ४८ वर्षीय मनबहादुर खत्रीले दुई दशकदेखि भैंसीपालन गर्दै आएका छन् । आठ वटा भैंसी पालेका उनले दैनिक ३२ लिटर दूध उत्पादन गर्छन् । वर्षौंदेखि दूध उत्पादन गर्दै आएका उनी गाउँनजिकै रहेको साना किसान सहकारीलाई प्रतिलिटर ५० देखि ५८ रुपैयाँमा बिक्री गर्न बाध्य छन् ।

बजारमा प्रतिलिटर दूधको मूल्य १०० रुपैयाँ भए पनि आफैंले लगेर बिक्री गर्न सक्ने सम्भावना नरहेपछि उनी लिटरमा ३० देखि ३५ रुपैयाँ कम मूल्यमा दूध बेच्दै आएका छन् ।

यस्तै दार्मा गाउँपालिका–५ का अर्का किसान ६५ वर्षीय हीरालाल खत्रीले दुई भैंसी पालेर दैनिक बिहान ७ र बेलुकी ४ लिटर दूध बेच्छन् । मनबहादुरजस्तै उनी पनि प्रतिलिटर फ्याटका आधारमा स्थानीय सहकारीलाई ५० देखि ५८ रुपैयाँसम्ममा नै दूध बिक्री गर्छन् ।

दार्मा गाउँपालिका–५ ढाकाडाम र १ दार्माकोट दूध उत्पादनको पकेट क्षेत्र हो । यहाँका २ हजार बढी किसानले घरघरमा परम्परागत रूपमै र केहीले व्यावसायिक रूपमा फर्म दर्ता गरेर भैंसीपालन गरी दूध उत्पादन गर्दै आएका छन् । पछिल्लो समयमा बजारमा प्रतिलिटर दूध १०० मा बिक्री हुँदै आए पनि किसान भने ५५ देखि ५८ रुपैयाँ प्रतिलिटरमा बेच्न बाध्य छन् ।

प्रत्येक वर्ष ३ लाख लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएका दार्माका किसान बिचौलियाको भूमिका निर्वाह गर्दै आएका स्थानीय सहकारीको भर पर्दा ५५ रुपैयाँ लिटरमा दूध बिक्री गर्न बाध्य हुँदै आएका हुन् । किसानले उत्पादन गरेको दूध ५५ रुपैयाँमा सहकारीले खरिद गरेर डेरीवालालाई ७० मा बिक्री गर्दै आएका छन् । डेरीले उपभोक्तालाई १०० रुपैयाँमा बिक्री गर्दै आएको छ ।

वर्षौंदेखि भैंसीपालन गरेर दूध बिक्री गर्दै आएका किसान भाउ नपाउँदा पहिलाकै अवस्थामा छन् । उनीहरूलाई दुई छाक खर्च जुटाउन सकस हुने गरेको छ भने बिचौलियाको भूमिका निर्वाह गर्दै आएका सहकारीले थोरै मिहिनेतमा बढी लाभ लिइरहेको किसानहरूको गुनासो छ ।

दार्मा–५ अधेरीखोलाकी किसान पवित्रा केसी पशुपालनको लगानी र मिहिनेत अनुसार आफूहरूले दूधको मूल्य पाउन नसकेको बताउँछिन् । ‘बाहिरका खरिदकर्ता गाउँमा आउँदैनन् । हामीसँग बाहिर लगेर बिक्री गर्ने सामर्थ्य छैन । बाध्य भएर सहकारीलाई बिक्री गर्न बाध्य छौं,’ उनले भनिन्, ‘प्रतिलिटर ५० देखि ५८ मा बिक्री गर्दा अहिले परिवार पाल्न गाह्रो हुने गरेको छ । दूध बिक्री गरेको रकमबाट नुन, तेल किन्नेभन्दा अरू केही भएको छैन ।’ स्थानीय र प्रदेश सरकारले प्रतिलिटर ८ रुपैयाँ अनुदान दिए पनि खासै राहत नभएको उनको भनाइ छ ।

नजिकै बजार नभएको र पहिलाजस्तो डेरीवालाले सिधै आएर लिन छाडेपछि किसान सस्तोमा स्थानीय सहकारीलाई दूध बिक्री गर्न बाध्य भएको दार्मा गाउँपालिका सल्यानका पशु शाखा प्राविधिक समिर न्यौपानेले बताए । किसानबाट ५० देखि ५८ रुपैयाँमा खरिद गरेर सहकारीले डेरीवालाई ७० रुपैयाँमा बिक्री गर्दै आएको उनले बताए । पालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालयले बजार व्यवस्थापनमा ध्यान दिन नसकेको उनको गुनासो छ ।

आगरनेटास्थित रहेको साना सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रप्रकाश केसीले किसानले उत्पादन गरेका दूध त्यत्तिकै खेर जान थालेपछि बिक्री वितरणमा सहजीकरणका लागि दूध खरिद गरेर डेरीलाई बिक्री गर्दै आएको बताए । फ्याटका आधारमा किसानबाट दूध किन्ने गरेको र प्रतिलिटर ५० देखि ५८ सम्म पर्ने गरेको उनले बताए । प्रत्येक वर्ष २ लाख लिटर दूध सहकारीले खरिद गरेर डेरीलाई उपलब्ध गराउँदै आएको र उक्त दूध जिल्लाको सदरमुकाम खलंगा र श्रीनगरमा खपत हुने उनको भनाइ छ ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका सूचना अधिकारी वीरेन्द्र केसीले दार्मामा उत्पादन भएको सबै दूध खपत हुन सक्ने नजिकै बजार नभएकाले पनि किसानहरूले उचित मूल्य पाउन नसकेको बताए । जिल्लामा वर्षभरि १९ हजार मेट्रिक टनभन्दा बढी दूध उत्पादन हुने गरेकामा दार्मामा मात्र ३ लाख लिटरभन्दा बढी हुने गरेको उनले बताए । उत्पादित दूध अधिकांश जिल्लाभित्रकै बजारमा खपत हुँदै आएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २९, २०८१ २१:१८
×