कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सल्यानमा ६ जनामा डेंगी देखियो

आश्विन १, २०८१
सल्यानमा ६ जनामा डेंगी देखियो

सल्यान — सल्यानमा ६ जनामा डेंगी देखिएको छ । जिल्ला अस्पताल सल्यानमा उपचार गर्न आएकाको रगत परीक्षण गर्दा ६ जनामा डेंगी देखिएको हो । 

डेंगी देखिएकामा चार जना महिला र दुई जना पुरुष रहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा अर्जुन बुढामगरले शारदा नगरपालिकाका पाँच र बाग्चौर नगरपालिकाका एक जनामा डेंगी देखिएको बताए । डेंगी देखिएका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भएको र केही ठिक भएर घर फर्किसकेका उनले जानकारी गराए ।

उनका अनुसार पछिल्नो समयमा देशभरी डेंगीको संक्रमण बढिरहेको बेला जिल्लाभरी ज्वरो, टाउको दुख्ने बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएकालाई रगत परीक्षण गर्दा डेंगी देखिएको हो । अस्पतालमा उपचार गर्न आएका र लक्षण मिल्दोजुल्दो भएका अन्यको पनि रगत परीक्षण भइरहेको डा. बुढामगरको भनाइ छ ।

जिल्लामा ज्वरोको बिरामी बढ्दै गएकाले अन्यमा पनि डेंगी हुनसक्ने उनले जानकारी गराए । डेंगी रोगका कारण समयमै उपचार नपाए ज्यानै जानसक्ने भएकाले उच्च ज्वरो आएमा टाउको दुःखेमा, शरीर कटकटी खाएमा तत्काल अस्पताल आएर डाक्टरको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गराउन उनले आग्रह गरेका छन् । डेंगी लामखुट्टेको टोकाइबाट हुने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्नका लागि राति सुत्ने बेला झुल लगाएर तथा लामखुट्टे धपाउने धुप बालेर सुत्न उनले जिल्लाबासीलाई सल्लाह दिएका छन् ।

सल्यानमा डेंगीको बिरामी भेटिए पनि अहिलेसम्म जटिल समस्या भने कसैलाई नदेखिएको र कसैको ज्यान समेत नगएको जिल्ला अस्पताल सल्यानका एमडी जिपी डा अभिषेक सिंहले बताए । दैनिक सय भन्दा बढी बिरामी आउने अस्पतालमा ज्वरोका बिरामी र डेंगीको लक्षणसँग मिल्दोजुल्दो बिरामी धेरै आउने गरेपनि रगत परीक्षण गर्दा सबैमा भने रोग नदेखिएको उनले जानकारी गराए । रोगले मान्छेको ज्यानै लिनसक्ने भएपनि सामान्य सर्तकर्ता अपनाउन सके रोगबाट बच्न सकिने उनको भनाइ छ ।

प्रकाशित : आश्विन १, २०८१ १५:३७
x
×