कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

सल्यानमा धमाधम बढ्दै स्क्रब टाइफसका बिरामी

आश्विन २, २०८१
सल्यानमा धमाधम बढ्दै स्क्रब टाइफसका बिरामी

सल्यान — जिल्लामा पहिलो पटक देखिएको स्क्रब टाइफसका बिरामी धमाधम बढ्न थालेका छन् । स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार दुई साताअघिसम्म मात्र जिल्ला अस्पतालमा उपचार गर्न आएका बिरामीको रगत परीक्षण गर्दा नौ जनामा स्क्रब टाइफस देखिएको थियो । गत आइतबारसम्म रोगबाट संक्रमित हुनेको संख्या २१ पुगिसकेको छ ।

बिरामीको संख्या दैनिक बढ्दै गएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा अर्जुन बुढामगरका अनुसार शारदा नगरपालिकामा १०, बाग्चौर नगरपालिकामा ४, बन्गाड कुपिण्डे नगरपालिकामा १, छत्रेस्वरी गाउँपालिकामा ४, दार्मा र सिद्धकुमाख गाउँपालिकामा एक/एक जना रोगबाट संक्रमित भएका छन् । संक्रमिट हुनेमा दुई पुरुष र १९ महिला छन् । जसमध्ये सात बालबालिका छन् ।

डेंगी रोगको लक्षणसँग मिल्दोजुल्दो देखिएपछि परीक्षण गर्दा धेरैमा स्क्रब टाइफस देखिएको डा बुढामगरले बताए । ‘जिल्ला अस्पतालमा ज्वरो आउने, टाउको दुख्ने गरेका बिरामी दैनिकजसो आउने गरेका छन् । तीमध्ये स्क्रब टाइफस परीक्षण गर्दा दैनिक एक/दुई जनामा देखिएको छ,’ उनले भने, ‘लक्षण देखिएका सबैको रगत परीक्षण गरिरहेका छौ । धेरैजसोमा पोजेटिभ देखिएको छ ।’

स्क्रब टाइफसबाट संक्रमित भएका सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भैरहेको र धेरैजसो निको भएर घर फर्किसकेको उनको भनाइ छ । सुरुवातमा शारदा नगरपालिकाका केहीलाई मात्र देखिएको स्क्रब टाइफस अहिले जिल्लाका सबै पालिकामा फैलिएको एमडिजिपी डा अभिषेक सिंहले बताए ।

जिल्ला अस्पताल सल्यानमा रगत परीक्षण गर्दा प्रायजसोलाई रोग देखिरहेको उनले जानकारी गराए । स्क्रब टाइफस रोग मुसालाई टोकेको किर्नो प्रजातिको किराले टोकेमा मात्र मान्छेलाई सर्ने भए पनि गाउँघरमा ज्वरो आउने, टाउको दुख्ने समस्या भएका बिरामी अझै धेरै भएकाले अन्य पनि उक्त रोगबाट संक्रमित हुन सक्ने उनको दाबी छ ।

डेंगुभन्दा पनि खतरा रहेको स्क्रब टाइफस रोगको समयमै पहिचान गर्न नसके शरीरका अंगहरु कामै गर्न नसक्ने बनाईदिने र अन्तिममा मृत्यु समेत हुने भएकाले रोगबाट बच्न उच्च ज्वरो आउने, टाउको दुख्ने, शरिरका विभिन्न भागमा घाउ, दाग, विवरा आउने जस्ता समस्या देखिए तत्काल उपचारका लागि अस्पताल आउन उनले सल्लाह दिएका छन् ।

मुसामा हुने माईट नामक परजिवि बर्षातको समयमा घर नजिकैको झाडी, बगैचामा प्रशस्त मात्रामा पाइने भएकाले किसानहरु उक्त रोगको उच्च जोखिममा रहेका उनको भनाइ छ । घरभित्र तथा वाहिरका फोहर/झाडी सफा गर्दा तथा खेतबारीमा काम गर्दा पुरै शरिर छोप्ने कपडा लगाउन, हातमा पन्जा, खुट्टामा प्लाष्टिकका बुट लगाउन उनले किसानलाई सल्लाह दिएका छन् ।

प्रकाशित : आश्विन २, २०८१ १६:१०
x
×