कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

सिंजा क्षेत्रमा रणनीतिक अस्पताल बनाउँदैछौं : मन्त्री भण्डारी

आश्विन २, २०८१
सिंजा क्षेत्रमा रणनीतिक अस्पताल बनाउँदैछौं : मन्त्री भण्डारी

जुम्ला — कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जुम्लाको सिंजा क्षेत्रमा रणनीतिक अस्पताल खोलेर स्वास्थ्य सेवालाई थप सहज बनाउन लागिएको बताएका छन् । उनले सिंजा, हिमा र कनकासुन्दरीको बीचमा रणनीतिक अस्पताल खोलिने बताएका हुन् । 

जुम्लाको हिमा गाउँपालिका १ स्थित भैरव आधारभूत विद्यालय भवन उद्घाटन तथा हस्तान्तरण गर्दै मन्त्री भण्डारीले रणनीतिक अस्पताल स्थापनाको लागि प्रक्रिया सुरु भइसकेको बताए । उनले भने, ‘सिंजाका नागरिकले सहजै रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मन्त्रालयको मान्यता छ । सोहीबमोजिम रणनीतिक अस्पतालको कार्यक्रम अघि बढाउन खोजिएको छ ।’

सिंजा हुँदै आन्तरिक तथा बाहृय पर्यटकहरु मुगुको राराताल जाने भएकोले अस्पताल स्थापनाले ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । जुम्ला सदरमुकाम खलंगामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि तत्कालीन कर्णाली अस्पताल हटाइएको थियो ।

उतिबेला नै सिंजावासीले जिल्ला अस्पताल सिंजा क्षेत्रमा रहने गरेर प्रतिष्ठान स्थापना गर्नुपर्नेमा जोड दिँदै आएका थिए । अहिले घण्टौं हिँडेर वा सवारी साधन प्रयोग गरेर बिरामीहरु अस्पतालसम्म आइपुग्ने गरेका छन् ।

मन्त्री भण्डारीले अर्को प्रसंगमा जनप्रतिनिधिहरुले निस्कलंकित भएर काम गर्नुपर्ने बताए । ‘जनप्रतिनिधि भन्नेवित्तिकै गलत खालको भावनाको विकास भएको छ,' मन्त्री भण्डारीले भने, ‘हामीले गरेका कामहरु सार्वजनिक गरौं । व्यवस्था र राजनीतिक प्रतिको आस्था बढाउने काम गरौं ।'

उनले कर्णालीको स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्न मन्त्रालय तयार रहेको समेत बताए । मन्त्री भण्डारी तीन दिन जुम्ला बस्ने कार्यक्रम छ । सिंजा क्षेत्रको हिमा, सिंजा र कनकासुन्दरीमा बनेका विद्यालयहरुको उद्‌घाटन तथा हस्तान्तरण कार्यक्रम छ ।

प्रकाशित : आश्विन २, २०८१ २२:४४
x
×