कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मौरीघारमा भालु आतंक, किसान चिन्तत 

आश्विन ३, २०८१
मौरीघारमा भालु आतंक, किसान चिन्तत 

जुम्ला — भालुले मौरीघारहरूमा क्षति पुर्‍याउन थालेपछि मौरीपालक किसानहरू चिन्तत बनेका छन् । भालुबाट मौरी बचाउन कठिन भइरहेको उनीहरूको दुःखेसो छ । चन्दननाथ नगरपालिका-४ का रामकृष्ण बुढ्थापाको दुई वर्षमा १३ वटा घार भालुले खाइदियो । अब अहिले उनीसँग एक मात्र घार छ । त्यो घार पनि भालुबाट बचाउन कठिन भएको उनको भनाइ छ । 

'भालु धपाउन अनेकन जुत्तिहरू निकालेँ । रातभर मान्छेहरू जाग्राम बस्ने,थाल ठट्याउने,दमाह बजाउने,घण्टा बजाउने देखि टीनहरू ठट्याउने समेत गरियो,' मौरीपालक किसान बुढ्थापाले भने, ‘केही गरेर पनि भालुदेखि घार बचाउन सकिएन । न भालु धपाउन सकियो नत घारको सुरक्षा गर्न सकियो । बरु भालुले खाइरहेको घारहरू हरेक दिन हेरेर मन खिन्न बनाइरहनु पर्‍यो ।’

उनी बर्सेनि लाखौंको मह बेचिरहेका थिए । जंगलको छेउमा मौरीपालन भएकोले पनि चरन क्षेत्रको अभाव थिएन । बुढ्थापाले भने, ‘जंगलको छेउमा चरनक्षेत्र थियो । भालुदेखि बचाउन गाह्रो भयो । गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्न थाल्यो । हामी मौरीपालन किसानलाई काही गएपनि शान्ति छैन ।’

उनको मौरीपालन हेर्न आन्तरिक तथा बाहृय मौरीपालक किसानहरू आइरहन्थे । भालुले मौरीको लार्भा र मह खाइरहेको छ । दुधिलो र मिठो हुने भएकोले मौरी घार खोजीखोजी खाने गरेको किसानहरू बताइरहेका छन् ।

मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाइँले भदौ, असोज र कात्तिक महिना मौरीपालनमा भालु आतंकनै हुने गरेको बताए । उनले भने, 'भालु मौरीघारमा लाग्यो भने सिध्याएर मात्र अन्यत्र जान्छ । नत्र वरिपरि नै बसिरहन्छ।’

भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरीघारहरू सखाप पारिरहेको छ । कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरीघारमा भालु पल्किने गरेको छ । अहिले भालु मौरीको प्रमुख दुश्मन हो,' सचिव चौलागाइँले भने, ‘भालु धपाउने अनेक उपाय फेल भएपछि भालुले मौरी खाइरहेको टुलुटुलु हेर्नुको विकल्प छैन ।’

अहिले मान्छेहरू गोठाला बस्ने भएकोले घर नजिकैका घारहरू सुरक्षित छन् । जब मान्छेहरू घरतिर झर्छन् । भालु गाउँ नजिकै आएर मौरी खान थाल्छ,' उनले भने, ‘अज्ञात रोगले मौरीहरू त मार्‍यो नै । भालुले समेत छाडेन । उल्टै अहिले मानिसहरू समेत भालुदेखि डराउनुपर्ने अवस्था आइपुगेको छ ।’

मौरीपालन गरिरहेको स्थानमा घण्टा झुण्ड्याउने, थाल ठट्याउने हल्लीखल्ली गर्ने, सोलार बत्ती बाल्ने गरिएको छ । तर पनि भालुको आतंक कम भइरहेको छैन । पछिल्लो समयमा किसानहरू पटका पट्काएर पनि भालु धपाउन कोसिस गरिरहेका छन् । तर पनि तर्सिदैन । हाकाहाँकी मौरीको घार खाइहाल्छ ।

हरेक वर्ष कुल घार संख्याको १५ प्रतिशत घार भालुले खाइदिने गरेको मौरीपालन सहकारीको तथ्यांकमा छ । 'जब मान्छेहरू निदाउँछन् । उतिबेला घार खान भालु आइदिन्छ,' सचिव चौलागाइँले भने । किसानहरूले भालु धपाउने उपाय दिन सरकार सग माग गरेका छन् ।

भालु र रोगले मौरी मासिन थालेपछि किसानहरूले मौरीको दररेट तोक्न कृषि विकास कार्यालयमा पुगे । किनकि सरकारले ७५ प्रतिशत अनुदानमा मौरीको बिमा गर्ने व्यवस्था गरेको छ । अन्य जिल्लाहरूमा मौरी बिमाको सेवा किसानहरूले लिइरहेका छन् ।

मौरीपालन किसान समेत रहेका चौलागाइँले भने, ‘पहिलो पटक मौरीको बिमा गर्न भन्दै शिखर इन्सुरेन्समा गयौँ । कम्पनीले मौरीको दररेट खोज्यो । हामीसंग दररेट नभएकोले खालीहात फर्कियौं । ’

गत असार महिना मौरीको मुल्यसहितको दररेट तोकिदिन कृषि विकास कार्यालयलाई निवेदन दिइएको भएपनि वास्ता नगरेको किसानहरूको गुनासो छ । दररेट भएको भए बिमा गथ्यौँ । भालु र रोगले मासिदा बिमाले क्षति क्लेम गर्थ्यो होला । तर दररेट नै नतोक्दा मौरी पालेर जीवन निर्वाह गर्छु भन्नेहरू पनि निरुत्साहित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

प्रकाशित : आश्विन ३, २०८१ १५:०९
×