कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

कालीकोटको नरहरिनाथमा डेंगु र स्क्रब टाइफसबाट २१ संक्रमित

आश्विन २, २०८१
कालीकोटको नरहरिनाथमा डेंगु र स्क्रब टाइफसबाट २१ संक्रमित

कालीकोट — यहाँको नरहरिनाथ गाउँपालिकामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र किर्नाको टोकाइले सर्ने स्क्रब टाइफसबाट २१ जना संक्रमित भएका छन् ।

गाउँपालिकामा ज्वरोका बिरामी बढेपछि रगत संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेत पठाइएपछि उनीहरूमा संक्रमण भएको पुष्टि भएको हो । संक्रमितको योगी नरहरिनाथ आधारभूत अस्पताल कुमालगाउँमा उपचार भइरहेको छ ।

यहाँको योगी नरहरिनाथ आधारभूत अस्पतालमा आएका बिरामीमध्ये केहीको रगत जिल्ला अस्पताल मान्ममार्फत प्रदेश प्रयोगशाला सुर्खेत पठाइएकामा ५ जनामा डेंगु र १६ जनामा स्क्रब टाइफस भेटिएको डा. शिवनाथ यादवले बताए ।

‘यस्तो चिसो ठाउँमा पनि लामखुट्टेको टोकाइले हुने डेंगु भेटियो,’ एक महिनाअघि मात्रै योगी नरहरिनाथ अस्पतालमा सरुवा भएर आएका डा यादवले भने, ‘जोखिमबाट बच्न झुलभित्र सुत्ने, पूरै जीउ छोपिने गरी कपडा लगाउने, घरवरिपरी पानी जम्ने खाला खाडल पुर्नेलगायतका सावधानी अपनाउनु पर्छ ।’

डेंगुबाट नरहरिनाथ–१ र २ का गरी ५ जना संक्रमित छन् । संक्रमित सबै १५ देखिमाथिको उमेर समूहका रहेका छन् भने ४ महिला र १ पुरुष संक्रमित छन् । अन्य वडामा डेंगुका बिरामी भेटिएका छैनन् ।

पशुवस्तु र मुसामा पाइने परजीवी किर्नाको टोकाइबाट हुने स्क्रब टाइफसबाट नरहरिनाथ–१ मा ७, वडा नं. २ मा २, वडा नं. ३ मा १, वडा नं. ५ मा १, वडा नं. ६ र ७ माल्कोटमा ५ जना बिरामी रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।

उनका अनुसार स्क्रब टाइफस किर्नाले टोकेको ६ देखि १० दिनपछि लक्षण देखिने गर्छ । टाउको दुख्ने, कम्पनसहित ज्वरो आउने, ग्रन्थीहरू सुन्निने, आँखाको सेतो भाग रातो हुने, भोक नलाग्ने, शारीरिक रूपमा कमजोर महसुस हुने लक्षण हुन्छन् ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका निमित्त प्रमुख डा. भीष्म पोखरेलका अनुसार कालीकोटका ९ स्थानीय तहमध्ये नरहरिनाथमा मात्र डेंगु र स्क्रब टाइफसका बिरामी भेटिएका हुन् ।

प्रकाशित : आश्विन २, २०८१ १५:२८
x
×