कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कालीकोटमा संविधान दिवसको अवसरमा बाल कचहरी

आश्विन ३, २०८१
कालीकोटमा संविधान दिवसको अवसरमा बाल कचहरी

कालीकोट — कालीकोटको शुभकालिका गाउँपालिकाले बालबालिकाको आवाज सुन्न संविधान दिवसको अवसरमा बाल कचहरी कार्यक्रम सम्पन्न गरेको छ  ।

'बालअधिकार सबैको सरोकार, बालबालिकामा लगानी : सुनौलो भविष्यको थालनी' भन्ने नाराका साथ संविधान दिवसको अवसरमा पालिकाको केन्द्र सुकाटियामा संकल्प परियोजनाको सहजीकरणमा बिहीबार बाल कचहरी सम्पन्न भएको हो । कचहरीको सहजीकरण गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले पालिका बालमैत्री नीति र कार्यक्रममा जोड दिए।

गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद आचार्य, उपाध्यक्ष धर्मकला शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत ऐनबहादुर शाही, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख अमृता अधिकारी, बालकल्याण अधिकारी रञ्जिता ओली, शिक्षा, स्वास्थ्य शाखा, वडाध्यक्षहरुसहितका सरोकारवाला जवाफदेही वक्ताका रूपमा रहे ।

गाउँपालिकाको ८ वटै वडाबाट आएका पालिका बाल सञ्जालमा आबद्ध बालबालिकाले आफूलाई परेका समस्या खुलेर राखे, जवाफ खोजे र सरोकारवालाले प्रतिबद्धता जनाए।

पालिका बाल संजालकी पूर्वअध्यक्ष तथा दाहाल मावि कक्षा १० की छात्रा यमुना बोहराले प्रश्न राखिन्- 'पालिकाको छेउमै रहेको विद्यालयमा घेरबार छ तर ढोका नहुँदा हरित विद्यालयका लागि रोपिएका बिरुवा पशुवस्तुले खाए, शौचालय व्यवस्थित छैन, सेनेटरी प्याड छैन, कहिले पूरा हुन्छ ?'

मुग्राहाबाट आएकी विन्दु महताराले पहिरोले विद्यालय जाने बाटो नहुँदा पानी परेको दिन विद्यालय जान समस्या रहेको गुनासो राखिन् । उनले पालिकाले डोजरले सडक खन्दा विद्यालय जाने बाटो भत्किएको र विद्यालयको फिल्ड भत्किएको सुनाइन्।

शुभकालिका ५ की बिन्दु महताराले महादेव मावि राराकाटियामा खेल मैदान र खेल सामग्री नभएको, विद्यालयको आधारभूत तहमा १ बजेपछि पढाइ नहुने अवस्थाबारे वडा ४ का अध्यक्ष प्रदीप चौलागाई समक्ष तेर्स्याइन्।

चन्द्र सूर्य मावि हाउडीका छात्र किरण आचार्यले पालिकाले दिएको भेन्दिङ मेसिनको चार्जर नहुँदा प्रयोग नभएको गुनासो पोखिन्। भर्ताका खडानन्द अधिकारीले पालिकाका ८ मध्ये ७ वडा बालविवाह निषेधित घोषणा भए पनि बालविवाह नरोकिएको भन्दै पालिकाको थप योजना र प्रतिबद्धताको माग गरे ।

शुभकालिका गाउँपालिकाले बाल संरक्षण नीति बनाएको, पालिका र वडा तहमा बालहित कोषको व्यवस्था गरेको सुनाउँदै महिला शाखा प्रमुख अमृता अधिकारीले जोखिममा रहेका बालबालिकालाई संघ संस्थामार्फत सहयोग गरिएको बताइन्।

यसैबीच कालिकोटको रास्कोट नगरपालिकाले देउडा खेलको आयोजना गरेको छ भने अधिकांश स्थानीय तहले सरसफाइ, बिरामीलाई फलफूल वितरण गरेर संविधान दिवस मनाएको प्रजिअ गणेश नेपालीले जानकारी दिए ।

प्रकाशित : आश्विन ३, २०८१ १५:४८
×