कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

हावाहुरीले मकैबालीमा क्षति

भाद्र ३०, २०८१
हावाहुरीले मकैबालीमा क्षति

सल्यान — लगातार दुई दिनसम्म परेको हावाहुरीसहितको वर्षाले बन्गाड कुपिण्डे नगरपालिका–१२ निगालचुलाको माझखर्क, बस्नेउरा, दुरुमखोला, भदाँले र चौरका किसानले बारीमा लगाएको मकैबालीमा क्षति पुगेको छ । घोगा लाग्दै गरेको मकैका बोटलाई हावाहुरीले ढलाएपछि मकैबालीमा क्षति पुगेको हो ।

कतै घोगा लागिसकेको र कतै लाग्न थालेको मकैबाली शुक्रबार र शनिबार परेको हावाहुरीसहितको वर्षाले सोत्तर बनाएपछि वडाका ४ सय बढी परिवार प्रभावित भएका छन् । पाखोबारीमा मकै उत्पादन गरेर चार महिना सजिलै खाद्यान्नको जोहो गर्दै आएका किसान हावाहुरीले क्षति पुर्‍याएपछि चिन्तित बनेका छन् । मकैबालीमा क्षति पुगेपछि किसानहरूले राहतका लागि वडा कार्यालयमार्फत सम्बन्धित निकायमा समेत क्षतिपूर्तिका लागि आग्रह गरिरहेका छन् ।

हावाहुरीका कारण आफ्नो १० रोपनी जग्गामा लगाएको मकैका बोट कुनै पनि ढाडो नरहेको माझखर्कका रनबहादुर घर्तीले बताए । भर्खरै घोगा लाग्न थालेका मकैका बोट बीचबाट भाँचिएर ढलेपछि न पोलेर खान मिल्ने छ, न त बोट नै बचाउन सकिने अवस्थामा रहेकाले अहिले गाईबस्तुलाई काटेर खुवाउँदै आएको उनले जानकारी गराए । ‘१० रोपनीमा लगाएको मकैबालीले ६ जनाको परिवारलाई सजिलै ५ महिनाजति खर्च टर्थ्यो । आएका पाहुनालाई पनि पोलेर खुवाउने गरिन्थ्यो । अब यसपालि गुजारा चलाउन नै धौ धौ हुने देखिएको छ,’ उनले भने, ‘समुन्दी सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको निगालचुलामा उत्पादन हुने भनेको मकै, गहुँ र कोदो मात्र हो । सबैभन्दा बढी मकैबाली नै उत्पादन हुन्थ्यो ।’

१२ रोपनी बारीमा मकै खेती गरेका बस्नेउराका दलबहादुर बस्नेतले आफ्नो ८ रोपनीजति बारीको मकैबाली हावाहुरीले ढलाएको बताए । हावाहुरीका कारण धेरैजसो मकैका बोट ढल्ने मात्र नभई फेदबाटै भाँचिएकाले अब स्याहार्न नपाइने उनले बताए । ‘एक महिनाअघि जंगली जनावर बँदेलले हैरान बनाएको थियो । झन्डै एक महिना दिनरात बारीमा पहरा दिएर बचाएको मकैबाली अहिले हावाहुरीसहित परेको पानीले सोत्तर बनायो,’ उनले भने, ‘दाना लागेको भए पोलेर खान तथा बिक्री गर्न हुन्थ्यो, त्यो पनि भएन ।’

हावाहुरीसहित परेको पानीले वडाका सबै बस्तीका किसानको एक हजारभन्दा बढी रोपनीमा लगाएको मकैबाली ढलाएर सोत्तर पारेको वडाध्यक्ष लालबहादुर घर्तीले बताए । आफ्नो वडा मात्र नभई छिमेकी ११ वडाको पाँचहारेमा पनि हावाहुरीले मकैबालीमा क्षति पुर्‍याएको उनले जानकारी गराए । प्राकृतिक विपत्तिका रूपमा आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि त्यसको क्षतिपूर्तिका लागि मौखिक रूपमा राहतको माग गर्दै किसानहरू वडामा आइरहेको उनले बताए । हावाहुरीले तीन स्थानीयको घरमा पनि क्षति पुर्‍याएको छ ।

प्रकाशित : भाद्र ३०, २०८१ १४:३३
x
×