कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव सुरु

भाद्र २९, २०८१
गुठीचौरमा प्याराग्लाइडिङ महोत्सव सुरु

जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिकाले साहसिक पर्यटनको गन्तव्यका रूपमा पालिकालाई चिनाउन चारदिने प्याराग्लाइडिङ महोत्सव सुरु गरेको छ । कचौरा आकारको गुठीचौर पाटनमा गरिएको प्याराग्लाइडिङ महोत्सवमा एकैपटक ८ वटा प्याराग्लाइड उडिरहेका छन् ।

जुम्ला सदरमुकाम खलंगादेखि डोल्पाको से-फोक्सुन्डो जाने आन्तरिक तथा बाह्य पर्यटक त्यही बाटो भएर जाने भएकाले पनि महोत्सव झनै प्रभावकारी बनिरहेको गाउँपालिकाले जनाएको छ ।

गुठीचौर पाटनको सुन्दरता अवलोकन गर्न पनि पर्यटकहरूले प्याराग्लाइडिङमा चासो दिएका छन् । गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले प्याराग्लाइडिङका लागि गुठीचौरको भूगोल अनुकूल भएकाले व्यावसायिक उडान गरेर महोत्सवको आयोजना गरिएको बताए । उनले भने, ‘जुम्लाको गुठीचौर प्याराग्लाइडिङका लागि उपयुक्त देखिएको छ । अब आन्तरिक तथा बाह्य पर्यटकको ध्यान केन्द्रित गर्नबारे साेच बनाएका छाैं ।’

प्याराग्लाइडबाट पाटनमा सयौंथरीका फूलहरू, जडीबुटीहरू, भेडीखर्कहरूको सहजै अवलोकन गर्न सकिनेछ । त्यो सँगै पाटनको सुन्दरता नियाल्न सकिने आयोजकले जनाएका छन ।

शुक्रबार एक उडान गरेर महोत्सवको उद्घाटन गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र उपाध्यक्ष शान्ति मल्ल भण्डारीले संयुक्त रूपमा पानसमा बत्ती बालेर महोत्सवको उद्घाटन गरेका हुन् । शनिबार बिहान ७ बजेदेखि उडान सुरु भइसकेको छ । महोत्सवका लागि ८ वटा पाइलट प्याराग्लाइडसहित उपस्थित छन् ।

गुठीचौर गाउँपालिकाभित्रकालाई प्रतिव्यक्ति ३ हजार र पालिकाबाहिरकालाई ४ हजार रुपैयाँ उडान शुल्क तोकिएको छ । महोत्सवलगत्तै ६ जनालाई तालिम दिने र प्याराग्लाइड खरिद गरी व्यावसायिक उडान सुरु गर्ने तयारी पनि थालेको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : भाद्र २९, २०८१ १३:२६
×