कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

चक्रपथको पहिलो खण्ड सकिएको ६ वर्षपछि दोस्रो खण्डको सुरसार

भाद्र २३, २०८१
चक्रपथको पहिलो खण्ड सकिएको ६ वर्षपछि दोस्रो खण्डको सुरसार

Highlights

  • कोटेश्वरदेखि कलंकीसम्म १०.३९ किमि सडक २०६९ मा ठेक्का लागे पनि ६ वर्षपछि सकिएको थियो, अब कलंकीदेखि बसुन्धरासम्म ८.२ किमि सडक बनाउने तयारी छ, बसुन्धरादेखि कोटेश्वरसम्मको सडक कहिले बन्ने निश्चित छैन 

काठमाडौँ — चक्रपथको पहिलो खण्ड निर्माण सकिएको ६ वर्षपछि बल्ल कलंकी–बसुन्धरासम्मको दोस्रो खण्ड विस्तारको प्रक्रिया सुरु भएको छ । कोटेश्वर–कलंकी पहिलो खण्डको काम २०६९ मा सुरु भई २०७५ सालमा सकिएको थियो ।

त्यसलगत्तै ८.२ किलोमिटरको दोस्रो खण्ड विस्तारको काम सुरु हुनुपर्नेमा नेपाल सरकार र त्यसपछि चीनले ढिलाइ गर्दा कामले गति लिन सकेको थिएन ।

यही भदौ ६ मा नेपाल र चीन सरकारका प्रतिनिधिबीच विस्तारमा सहयोग गर्नेसम्बन्धी पत्रमा हस्ताक्षर भएपछि दोस्रो खण्ड निर्माणको प्रक्रिया सुरु भएको हो । जबकि चीनसँग सन् २०१८ मा यो सडक खण्ड विस्तारका लागि जीटुजी सम्झौता भएको थियो । चीन सरकारले पूर्वतयारीका काम नटुंग्याई आफूहरू नआउने अडान लिँदै आएको थियो ।

यहीबीचमा कोरोना महामारीका कारण थप काम अघि बढ्न सकेन । नेपाल सरकारलाई पूर्वतयारीको काम सक्न पनि हम्मेहम्मे नै पर्‍यो । पूर्वतयारी त सकियो, तर चीन सरकारले तत्काल काम अघि बढाउनेबारे कुनै निर्णय दिएन । जसले गर्दा तयारीका नाममा कलंकीदेखि वसुन्धरासम्मका स्थानीयले झन्डै चार वर्षदेखि हिलो र धूलोको सास्ती खेप्नुपरेको छ । यो क्षेत्रको व्यापार व्यवसाय चौपट्ट मात्र बनेको छैन, कतिले त धूलोले गर्दा नै व्यवसाय छाड्नुपरेको स्थानीय बताउँछन् । स्थानीयले निर्माणको काम छिटो अघि बढाउन दबाब दिँदै आन्दोलनसमेत गर्नुपरेको छ ।

विस्तारमा ढिलाइ भएपछि सरकारलाई दबाब दिन गत असार १५ मा सांसद (हाल स्वास्थ्य तथा जनसंख्यामन्त्री) प्रदीप पौडेल नेतृत्वको टोलीले सामूहिक पैदल यात्रा गरेको थियो । पौडेल नेतृत्वको टोलीले कलंकीदेखि चाबहिलसम्म करिब १२ किलोमिटर पैदल यात्रा गरेको थियो ।

काठमाडौंबाट प्रतिनिधित्व गर्ने १० सांसदले चक्रपथ विस्तारबारे गत असारमा संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका थिए । विस्तार अलपत्र परेकाले प्रस्ताव दर्ता गराउनुपरेको उनीहरूको भनाइ थियो ।

तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायतको संयुक्त टोलीले गत ०७९ फागुन ११ मा सडक विस्तार गर्ने खण्डको स्थलगत निरीक्षण गरेपछि पनि डिजाइनको काम अघि बढाइने सुनाइएको थियो । तर त्यसयता केही काम अघि बढ्न सकेको छैन । चीनबाट काममा विलम्ब भइरह्यो ।

कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिएपछि दोस्रो खण्डका रूपमा यसको काम गर्ने चीनसँग समझदारी भए पनि कार्यान्वयनमा जाने गरी काम नभएको पूर्वसचिव अर्जुनजंग थापाले बताए । ‘यसको निर्माणमा केही ढिलाइ भएकै हो,’ सडक विभागको महानिर्देशकसमेत रहिसकेको थापाले भने, ‘अब कार्यान्वयनमा जाने गरी समझदारी भएकाले धेरै ढिला नहोला ।’ चीनले बनाएको सडक राम्रो हुने भएकाले यत्रो समय पर्खिएको उनले बताए । ‘चीनले बनाएजस्तो स्ट्यान्डर्ड कायम गरेर हामीले बनाउन सक्दैनौं,’ उनले भने, ‘यसमा चीन सरकारले करिब ६ अर्ब रुपैयाँसम्म लगानी गर्ने देखिन्छ ।’

दोस्रो खण्ड विस्तारमा सहयोग गर्ने सम्बन्धी पत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव रामप्रसाद घिमिरे र चीनका तर्फबाट चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइहुनले हस्ताक्षर गरेका छन् । कलंकीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किलोमिटर सडक चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्ने सम्झौता भएको हो ।

यसअघि दुई महिनाभित्र विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पार्ने भन्दै ०७९ फागुनमा चीनको हेनान कम्युनिकेसन्स प्लानिङ एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली नेपाल आएको थियो । टोलीले अध्ययन गरेर गए पनि रिपोर्ट दिइएन । एमओयू भएकाले अब डीपीआरको काम अघि बढ्ने सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैसीले बताए ।

‘डीपीआर बनाउन ६ महिना लाग्छ, यसका आधारमा ठेक्का हुन्छ,’ जैसीले भने, ‘अब ढिला हुन्न, बिहीबार नेपालका लागि चिनियाँ राजदूत छन सोङले १० महिनाभित्र निर्माण सुरु हुने बताइसकेका छन् ।’ वसुन्धराबाट कोटेश्वरसम्म विस्तारको काम भने नेपाल सरकार आफैंले गर्ने उनको भनाइ छ । ‘चीनले पहिला धेरै ढिला गर्‍यो, कोभिड सकिएपछि पनि उसलाई धेरै पर्खनुपर्‍यो,’ उनले भने, ‘त्यसैले अब वसुन्धरा–कोटेश्वर खण्डको काम नेपाल सरकार आफैंले गर्छ । त्यसका लागि चालु आर्थिक वर्षमा प्रारम्भिक अध्ययन, विस्तारका क्रममा घर कति पर्छन्, सबै बुझ्ने काम हुन्छ ।’

यता कलंकीदेखि वसुन्धरासम्म जथाभावी भत्काइएको सडकले ट्राफिक जाम बढेको छ । सवारीसाधन गुड्ने मुख्य सडक साँघुरिएको छ । चीनकै सहुलियत ऋणमा चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी सडक) ८ लेनमा विस्तार गरिएको हो । यसको दूरी १०.३९ किमि छ । पहिलो खण्डको काम पनि निर्माण थालेको ६ वर्षमा पूरा भएको थियो ।

कलंकीदेखि–धोबीखोला (गोपीकृष्ण हलनजिकको पुल) सम्मको दूरी ११.६ किमि छ । नेपाल सरकारले यो खण्ड दोस्रो चरणमै निर्माण गर्न प्रस्ताव गरेको थियो । चीनले भने कलंकीदेखि बसुन्धरासम्म दोस्रो र बसुन्धरादेखि चाबहिल धोबीखोलाको पुलसम्म तेस्रो चरणमा काम गर्ने बताउँदै आएको थियो ।

अब बसुन्धरादेखि कोटेश्वरसम्मको खण्ड नेपाल सरकार आफैंले बनाउन लागेको हो । कलंकीदेखि सीतापाइलासम्म अहिले चार लेन र सीतापाइलादेखि चक्रपथ खण्डमा २ लेन सडक छ । अब ८ लेनमा विस्तार गर्न लागिएको हो । सर्भिस लेन भने नेपाल सरकार आफैंले बनाउनेछ ।

प्रकाशित : भाद्र २३, २०८१ ०५:३४
×