कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

पर्यटनका लागि काव्य उत्सव

भाद्र २२, २०८१
पर्यटनका लागि काव्य उत्सव

झापा — झापाको पर्यटकीय गन्तव्य दोमुखामा शनिबार जिल्लाका दर्जनौं कवि, गजलकार भेला भए । सताक्षी प्रेस क्लबले आयोजना गरेको पर्यटनका लागि दोमुखा काव्य उत्सवमा निम्तालु कवि/गजलकारहरुले आफ्ना चर्चित रचना सुनाएर दर्शकको मन जिते ।

अग्रज साहित्यकार कृष्ण बराल र शिवसताक्षी नगरपालिका प्रमुख मेघाहाङ थोप्रा उत्सवका प्रमुख अतिथि थिए । कार्यक्रम संचालक विवश वलिभद्र कोइराला ठट्यौली गर्दै थिए,‘दोमुखाको प्रवर्द्धनका लागि काव्य उत्सव भएकाले दुई जना प्रमुख अतिथि राख्नु पर्‍यो ।’

सर्जकहरुले आफ्ना रचना सुनाइरहँदा पूर्वतिर माइखोला सुसाइरहेको थियो । कविहरु झापाका मात्रै थिएनन्, मोरङ र सुनसरीदेखि जम्मा भएका थिए ।

देवान किराती इटहरीबाट आए । याक्दुहाङ धिरज प्रादेशिक राजधानी विराटनगरबाट । संगै थिए, अभागी थेगुवा, सुजन सेलिङ, लीला अनमोल, भगवती ढुंगेल, निहाङ किराती, चन्दा चाम्लिङ, कल्पना आचार्य, सुमन लुवागुन, भिजन गुरागाई, यज्ञ परीक्षमी, टंक भण्डारी, विनोद विवशजस्ता कवि/गजलकार । उनीहरुले कविता र गजल सुनाएर दर्शकलाई मन्त्रमुग्ध पारे । आयोजकले उनीहरुलाई ‘अक्षरका किसानी’ को रुपमा नगदसहित सम्मान पनि गर्‍यो ।

सोही अवसरमा कवि मेची पुत्रलाई दोमुखा काव्य सम्मानबाट सम्मानित गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्यद्वय सुमित्रा चेली र मुनाराज शेर्मा, कवि सङसेन पान्धाक, कवि कृष्ण बराल, सुरेन्द्र राई, नगर प्रमुख थोप्रा, दोमुखा धार्मिक तथा पर्यटन व्यवस्थापन संस्थाका अध्यक्ष धनप्रसाद लावती लगायतले साहित्य, कला र संस्कृतिमार्फत पनि पर्यटन विकास गर्न सकिने बताएका थिए ।

आयोजक संस्थाका अध्यक्ष कवि तथा पत्रकार सेलिङ केसीले आगामी दिनमा ‘पर्यटनका लागि साहित्य’ श्रृंखलालाई निरन्तरता दिइने जनाए ।

प्रकाशित : भाद्र २२, २०८१ २१:२१
×