कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भुसालले ल्याए ‘छालबाटो’

भाद्र २९, २०८१
भुसालले ल्याए ‘छालबाटो’

काठमाडौँ — पत्रकार एवम् लेखक रमेश भुसालको नयाँ गैरआख्यान पहिलो कृति ‘छालबाटो’ लोकार्पण गरिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा भुसालकी छोरी अनुराले पुस्तक लोकार्पण गरिन् ।

पुस्तक लोकार्पण कार्यक्रमसँगै विद्वान् हरि शर्माले लेखक भुसालसँग संवादसमेत गरे । शर्माले पुस्तक लेखनदेखि यसका विविध पक्षमा आधारित रहेर भुसालसँग संवाद गरे ।

कार्यक्रममा शर्माले पर्यावरण, वातावरण, नदीनाला अनि नेपाल–चीन–तिब्बत सीमा क्षेत्रका बासिन्दाको अध्ययनमा रुची राख्नेहरूलाई पुस्तक उपयोगी भएको बताए । ‘म यो पुस्तक पढ्नका लागि एकदमै आग्रह गर्छु,’ शर्माले भने, ‘यसमा रमेशजीले यात्रा गर्दै नदीलाई मानिसको जीवनसँग जोडेर सुन्दर किसिमले बुन्नुभएको छ ।’ नदीनालाहरूको दोहन बढिरहेको र तिनको संरक्षण अपरिहार्य बनिरहेको सन्दर्भमा पुस्तकले यस विषयमा समेत जोड दिएको उनको भनाइ छ ।

कार्यक्रममा लेखक भुसालले मानिसका कर्मले प्रकृति एवं पर्यावरण बिग्रिएको बताए । ‘मान्छे आफूमात्रै पृथ्वीमा थपिएको छैन, उसले अरू धेरै कुरा पनि थपेको छ । उसले अरूलाई सिध्याएर आफ्नो साम्राज्य खडा गरिरहेको छ । त्यसरी उसले सिध्याउँदै लगेको एउटा स्रोत नदी हो,’ उनले भने, ‘जबकि पृथ्वीमा रहेका सबै नदीको कुल लम्बाई एक करोड २० लाख किमि छ । अहिले पृथ्वीका कुल नदीमध्ये ६० प्रतिशतमा बाँध बाँधिसकिएको छ ।’ तर बाँधिन बाँकी केही नदीमध्ये कर्णालीको शिरदेखि पुछारसम्मको यात्रा ‘छालबाटो’ रहेको उनको भनाइ छ ।

यो पुस्तक आफूले नदीयात्रा गर्दा भेटेका पात्रहरूको कथा रहेको भुसालले जनाए । भुसालले ‘छालबाटो’ पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णाली नदीको उद्गमदेखि भारतको गंगासम्मको यात्रा गराएका छन् । पुस्तकले पाठकलाई काठमाडौंदेखि कैलाश मानसरोवर हुँदै भारतको गंगासम्म सँगसँगै लौजान्छ र त्यसभित्रका कथा–कहानी सुनाउँछ । यस पुस्तकमा लेखक रमेश भुसालले नदीलाई आफूभित्र राखेर अनि आँखाले देखेको नदी र मनमा बसेको नदीको वर्णन गरेका छन् ।

प्रकाशित : भाद्र २९, २०८१ १८:४०
×