कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘आनन्द संहिता’ : सुख होइन, आनन्दतर्फ अभिमुख

भाद्र २९, २०८१
‘आनन्द संहिता’ : सुख होइन, आनन्दतर्फ अभिमुख

Highlights

  • ‘आनन्द संहिता’ कृतिमाथि पोखरामा परिचर्चा

पोखरा — ‘आनन्द संहिता’ कृतिमाथिको परिचर्चामा साहित्यकार सरस्वती ‘प्रतीक्षा’ ले कृतिकार घनश्याम खड्कालाई सोधिन्, ‘यो पुस्तक दर्शनशास्त्र हो कि अध्यात्म या अरू केही ?’ र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा आयोजना गरेको परिचर्चा कार्यक्रममा लेखक खड्काले जवाफ दिए, ‘यो एक किसिमले स्वयंको चिन्तन गर्न आग्रह गर्ने रचना हो ।’ 

उनले स्वयं चिन्तनको पूर्वीय र पश्चिमी विधिबारे चर्चा गरे । पुस्तकले समेटेका विषयवस्तुमाथि प्रकाश पार्दै उनले पश्चिमको ‘फिलोसफी’ र पूर्वको दर्शनबीचको भेदबारे विस्तृतमा बताए । आफैंमाथि खोजलाई दर्शनशास्त्र र अरूमाथिको ज्ञान ‘फिलोसफी’ का रुपमा उनले अर्थ्याए ।

‘फिलोसफी भनेको यो संसारका बारेमा जान्न रुचि हुनेहरुले गर्ने ज्ञानको खोजी हो । सुकरात, प्लेटोहरुजस्तो दर्शन, विचारमा रुचि हुनेहरु फिलोसफर हुन् । ती मान्छेले ठूलो रुपमा गर्ने तर्कशास्त्र ‘फिलोसफी’ हो,’ उनले भने, ‘यताको दर्शनशास्त्रमा दर्शन भनेको देख्ने हो, चिन्तन गर्ने होइन । यथाभूत दर्शन जस्तो हो त्यस्तै गर्ने चिन्तन प्रणाली दर्शन हो । हाम्रो भावनाले नबिटुल्याईकन, हामीले सोचेजस्तो वा ठानेजस्तो नभइ हाम्रो जीवन जस्तो छ, त्यस्तै बास्तविक अवस्था देख्न सक्ने मानिस दार्शनिक हो । त्यस्तो देखाउन सघाउने सिद्धान्त दर्शनशास्त्र हो ।’

पूर्व र पश्चिममा ज्ञानको पद्धति फरक भए पनि हाम्रो समाजलाई दुवै उत्तिकै महत्त्वपूर्ण भएको उनको भनाइ थियो । ‘पूर्वमा आएपछि आँखा चिम्लियौं, गुफामा बस्यौं । हामीले कहिल्यै पनि टेलिस्कोप बनाएनौं । किनकि, हामीलाई हेर्नु नै छैन । हामीले आँखा चिम्लियौं । ब्रह्मदर्शन खोज्यौं । उनीहरु (पश्चिमा)ले जीवनलाई टिकाउन चाहिने पदार्थहरु खोज्नतिर लागे । विज्ञानको जन्म भयो । सबैभन्दा टाढाको अर्को ग्रह र सबैभन्दा नजिकको आफैंसँग भएको अणुहरुलाई पनि फोडेर के देखिन्छ भनेर एकदमै धेरै गहिरो गरी हेर्ने भौतिक विज्ञानको एउटा संस्कार, पद्धतिपूर्ण ज्ञानको परम्परा पश्चिममा स्थापित भयो,’ उनले भने, ‘पूर्वमा आफैंलाई हेर्ने परम्परा गहिरो रुपमा विकसित भएको देखिन्छ । पूर्वले कहिल्यै पनि आइन्सटाइन निकाल्न सकेन र पश्चिमले कहिले पनि बुद्ध निकाल्न सकेन । तर, दुवै चाहिन्छ ।’

मान्छेहरु विक्षिप्त भएपछि पश्चिमले त्यसलाई ठीक पार्न विद्युतीय उपचार विधि र औषधिहरु तयार गरे पनि कालान्तरमा त्यसले काम नगरेपछि परम्परागत विधिको खोजी गर्ने क्रममा ‘माइन्डफुलनेस’ विकास भएको उनले सुनाए । बुद्धले सिकाएको ध्यान विधि ‘सम्यक स्मृति’ नै पाँच दशकअघि अमेरिकी मनोचिकित्सक जोन कबात–जिनले विकास गरेको ‘माइन्डफुलनेस’ भएको उनको तर्क छ । ‘हामीलाई यसको नाम समेत थाहा छैन । पश्चिम र पूर्वको खोजी एकै हो । अरुको दुःखमाथि अनुसन्धान गरेर त्यसमाथि निस्किएको निचोड पश्चिमी मनोविज्ञानको दृष्टिकोण हो । जुन भौतिक विज्ञानसँग जोडिन्छ,’ उनी भन्छन्, ‘पूर्वको मनोविज्ञानलाई हामी अध्यात्मको रुपमा बुझ्छौं । पूर्वीय मनोविज्ञानको विधि के हो भने पहिले आफूमाथि अध्ययन गरेर त्यसले ठीक छ, म खुसी भएँ भनेपछि अरुमाथि प्रयोग गर्ने हो ।’ बुद्धले यही विधि प्रयोग गरेको उनको भनाइ थियो । उनले सबै मानिसले जुनसुकै माध्यमबाट भए पनि आनन्दको खोजी गर्ने र आनन्द प्राप्त गर्नका लागि आफूले बुझेका उपायहरूसहितका विचार पुस्तकमा प्रस्तुत गरेको बताए ।

कार्यक्रममा कृतिमाथि दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए । ‘मिथ्या’ उपन्यासका लेखकसमेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे । ‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन् । यद्यपि, सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक स्रोत हो बुद्ध दर्शन र साथमा गीता, उपनिषद्, योग र तन्त्र पनि जोडिएका छन्,’ उनले भने, ‘यसको व्याख्याको केन्द्र भनेको मनोविज्ञान हो जसका लागि आत्मावलोकनदेखि ध्यानसम्मका साधनात्मक सुझावहरू यसमा पेस गरिएका छन् ।’ उनले कृतिलाई मानसिक उपचारको सूत्रका रूपमा चर्चा गरे ।

‘आनन्द संहिता’ सुखतर्फ होइन, आनन्दतर्फ अभिमुख हुन प्रेरणा दिने पुस्तक भएको तर्क गर्दै उनले यो कृति साधारण सिर्जना मात्र नभएर आध्यात्मिक चिन्तनको परिणाम भएकामा जोड दिए । ‘पाठकलाई बोधको तहमा लैजाने, आफैंभित्र शान्ति र सुन्दरता अनुभूत गराउने प्रयासमा लेखक सफल भएका छन्,’ उनको भनाइ थियो । पाठकका मनमा शान्तिको अनुभूति गराउने एउटा अमूल्य उपहारका रूपमा ‘आनन्द संहिता’ आएको बताउँदै कृतिको महत्त्व समयसँगै झन बढ्दै जाने उनले निष्कर्ष सुनाए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पठन संस्कृतिले नै मानिसमा विवेक निर्माण गर्ने धारणा राखे । पढाउनुपर्ने र पढ्नुपर्नेले मात्र नभई आममानिसले पढ्नुपर्ने भन्दै आचार्यले आफ्नो व्यक्तिगत पुस्तकालयमा आफूले पढेका थुप्रै पुस्तकहरू रहेको स्मरण गरे । पुस्तक व्यवसायमा संलग्न रहँदा पुस्तकसम्बन्धी नीति निर्माणका लागि आफू लागेको र राज्यको तहसम्म छलफल गरेको भन्दै उनले आज पाठ्यपुस्तकको मूल्यमा केही हदसम्म व्यवस्थापन भए पनि साहित्यिक कृतिको व्यवस्थापनका लागि कार्य गर्न बाँकी रहेको सुनाए । घनश्याम खड्काको किताबले आनन्दित रहने कला सिकाउने विचार राख्दै व्यक्ति, वस्तु र परिस्थितिलाई स्वीकार गरे दुःख नहुने मेयर आचार्यले बताए । पठन संस्कृतिको विकासका लागि लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले लेखकहरू केवल लेखनमा मात्र लागेर नपुग्ने धारणा राखे । अरूले के लेखेका छन् भन्ने पढ्नुपर्नेमा जोड दिँदै सरुभक्तले आनन्द प्राप्त गर्ने शैलीअनुसार गुणस्तरमा फरक पर्ने बताए । मानवीय जीवनका सबै क्रियाकलापहरू मस्तिष्कको खेल भएको उनले बताए । आनन्दलाई आफूले अहमको तुष्टिसँग तुलना गर्ने गरेको उनले बताए । तनावग्रस्त विश्वलाई मुक्त गराउनका लागि ‘आनन्द संहिता’ जस्ता कृतिहरू आउनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बाबुराम सुवेदी, रामबहादुर माल, राममणि अधिकारी, श्रीकृष्ण पन्थीलगायतले कृतिकार र परिचर्चाकारलाई प्रश्न गरेका थिए । सोसाइटीको नियमित मासिक परिचर्चा कार्यक्रमको १०९ औं शृंखलाअन्तर्गत परिचर्चा कार्यक्रम भएको हो । संस्थाले हरेक महिनाको अन्तिम शनिबार कुनै कृति वा विषयवस्तुमाथि परिचर्चा गर्दै आएको सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले बताए ।

प्रकाशित : भाद्र २९, २०८१ २१:२५
×