कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

'बाह्रखरी कथा प्रतियोगिता'का लागि कथा आह्वान 

भाद्र ३१, २०८१
'बाह्रखरी कथा प्रतियोगिता'का लागि कथा आह्वान 

काठमाडौँ — बाह्रखरी मिडियाले छैटौँ ‘बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेको यस कथा प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले सोमबार  ३१ गते पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो ।

यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्ने बाह्रखरी मिडियाले जनाएको छ । कथा कम्तीमा १,५०० शब्द र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेछ ।

‘बाह्रखरी कथा–२०८१’ को निर्णायक समूहको प्रमुखमा समालोचक तथा लेखक प्रा. ज्ञानू पाण्डे रहेकी छिन् । साथै सदस्यहरूमा लेखक तथा समालोचक गीता त्रिपाठी र साहित्यकार धीरेन्द्र प्रेमर्षि छन् ।

बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने जनाइएको छ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ । ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा संगृहीत पुस्तक प्रकाशन गरिनेछ । संग्र्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ८४३ कथा प्राप्त भएको थियो । यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर १४ गते शुक्रबार एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८१ को लोकार्पण पनि गरिनेछ ।

बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ तृतीय भएको थियो ।

प्रतियोगिताको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।

तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो ।चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय तथा रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।

पाँचौँ संस्करणमा लमजुङका मनोजबाबु पन्तको कथा ‘बूढो लाँकुरीको रुख’ प्रथम, काठमाडौंका प्रमोद प्याकुरेलको ‘काँचुली’ द्वितीय र गुल्मीका विजय हितानको ‘चेपाङ, चमेरा र चिउरी’ तृतीय भएको थियो । गत वर्षझैँ यस वर्ष पनि उत्कृष्ट कथा संगृहीत पुस्तकको प्रकाशन फाइन प्रिन्टले गर्नेछ ।

प्रकाशित : भाद्र ३१, २०८१ १७:५४
x
×