कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

‘लोरी’ बाट बालप्रतिभाका लागि अक्षयकोष

भाद्र २७, २०८१
‘लोरी’ बाट बालप्रतिभाका लागि अक्षयकोष

दाङ — ‘लोरी’ गजल संग्रहबाट बालप्रतिभाका लागि अक्षयकोष स्थापना हुने भएको छ । गजलकार खिम केसीको गजलसंग्रह ‘लोरी’ बिक्रीबाट संकलन भएको रकमले राप्ती साहित्य परिषद्मा ४ लाखको अक्षयकोष स्थापना गर्न लागिएको हो ।

बुबाआमाका नामबाट लुकलुमा अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट प्रत्येक दुई वर्षमा बालकला र साहित्यिक प्रतियोगिता गरी पाँच जना बालबालिकालाई पुरस्कृत गर्ने र बालबालिकाका रचना संकलन गरी एउटा पुस्तक प्रकाशन गर्ने गजलकार केसीले बताए ।

‘बालबालिकाका प्रतिभा प्रकाशन गरी उनीहरूलाई साहित्य सिर्जनामा प्रोत्साहन गर्न अक्षयकोष स्थापना गर्न लागिएको हो,’ केसीले भने, ‘कोषको ब्याजबाट बालबालिकालाई प्रतिस्पर्धा गराएर पुरस्कृत गर्ने र पुस्तक प्रकाशन गरिदिने योजना छ ।’

‘लोरी’ को दाङमा विमोचन गरी कोहलपुर, सुर्खेत र काठमाडौंमा चर्चा गरिएको छ । काठमाडौंमा गजलकार ज्ञानुवाकर पौडेल, शीतल कादम्बिनी लगायतले गजलबारे चर्चा गरेका थिए । दाङमा गायक गोविन्द आचार्य, गजलकार प्रदीप रोदन, नायक जीवन लुइँटेल लगायतले गजलको चर्चा गरेका थिए । संगीतकार संगीत श्रेष्ठले दाङ र काठमाडौंमा गजल गाएका थिए । हाल अमेरिकामा बस्दै आएका केसीले गीत, गजल सिर्जना गर्छन् ।

केसीले पुस्तकको आम्दानीबाट स्थापना गरेको अक्षयकोषले बालबालिकाको साहित्य सिर्जनामा प्रोत्साहन मिल्ने राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टीकाराम उदासीले बताए । केसीका सबै गजल गाउन मिल्ने खालका रहेको गायक आचार्यले बताए । ‘देश, परदेशका भोगाइहरू गजलमा सजिएका छन् । सबै लयात्मक र गाउन मिल्नेछन्,’ उनले भने ।

प्रकाशित : भाद्र २७, २०८१ ०६:४८
×