कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

देहातमा देवनारायणको ‘कल्चरल भिलेज’

भाद्र २७, २०८१
देहातमा देवनारायणको ‘कल्चरल भिलेज’

Highlights

  • कल्चरल भिलेजभित्र गाउँकै परिवेश छ । गाउँकै जस्तो घर, घरको भित्तामा मिथिला पेन्टिङ कुँदिएको छ, परेवाको खोर, परालको टाल, माछा पोखरी, कुखुरा–हाँसको बथान, गाईको गोठ कल्चरल भिलेजमा छ

जनकपुर — खपडा र बाँसको टालो (टाटी) लगाइएका रंगीचंगी घर लहरै छन् । घरअघि ढिकी, सन्दुक, लालटिन, पेट्रोम्याक्स, माछा मार्ने जाल र हलो राखिएको छ । मधेशमा एक समय चलनमा रहेका यी सामान हाल प्रयोग हुन छाडेका छन् ।

मिथिला क्षेत्रको यिनै लोप हुन लागेका सामग्री तथा संस्कृतिको जानकारी दिने उद्देश्यसहित धनुषाको मिथिलाविहारी नगरपालिका–२ पुरनदाहामा सञ्चालित छ– कल्चरल भिलेज ।

१० महिनादेखि सञ्चालित भिलेजमा मिथिला–मधेशको लोपोन्मुख सामानको संग्रहालय त हेर्न पाइन्छ नै देहातको खाना, कचरी, मुरही, झिल्ली, आलुचप तथा माछाको खाजासँगै कोदो–फापरको रोटी नुन–खुर्सानीको चटनीको स्वाद पनि लिन सकिन्छ । कल्चरल भिलेजमा आउने पाहुनालाई सोइजनको सात किसिमका काढा, मकैको जुँगा, मेवाको पात, अर्जुनाको डाँटको, तुलसीको काढा र लेमन चियाले स्वागत गरिन्छ । खानामा पनि स्थानीय उत्पादन नै हुन्छ ।

कल्चरल भिलेजमा मिथिला–मधेशको देहाती खानाको स्वाद लिनुका साथै १० बिघामा फैलिएको कृषि फार्मिङ हेर्न सकिन्छ । यसका संस्थापक हुन्– स्थानीय ३८ वर्षीय देवनारायण मण्डल । मिथिला–मधेशको लोपोन्मुख सामानको संग्रहालय बनाउने सपनासँगै कल्चरल भिलेजको यात्रा तय गर्न भने मण्डलले संघर्ष र सकस दुवै झेल्नुपर्‍यो ।

मध्यमवर्गीय परिवारका उनी सन् २००४ मा रोजगारीका लागि भारत पसे । तर आफ्नै ठाउँमा केही गर्ने हुटहुटीका कारण भारतमा फेरि नेपाल फर्किए र सन् २०१२ मा मिथिला वाइल्ड लाइफ सञ्चालन गरे । धनुषाधामको वनलाई संरक्षित गरेर उनले त्यहाँ टेन्टमा पर्यटकलाई राखेर मिथिला–मधेशको खाना, भेषभूषा र गीतसंगीत पस्किन थाले । ‘भारत छँदाको कनेक्सनले धेरै काम गर्‍यो,’ देवनारायणले भने, ‘उताका साथीहरूले पर्यटक पठाइदिने काम गरे । उनीहरूको मन जित्ने काम हामीले गर्‍यौं ।’

धनुषाधामको जंगलमा देवनारायणले खपडा र बाँसकै टाटीको सानो झुपडी बनाएका थिए । तर, थामिनसक्नु पर्यटक आउन थालेपछि उनले टेन्टमा राख्न थाले । त्यहाँ बस्ने पर्यटकलाई धोती–कुर्ता र गम्छा तथा सारीमा राखिन्थ्यो । मुसहर समुदायले पकाएको देहातको व्यञ्जन पस्किइन्थ्यो । र, मिथिला–मधेशका लोक नाँच देखाइन्थ्यो । देवनारायणको ‘जंगलको हाइकिङ’ मज्जाले चल्यो । तर, मिहिनेतअनुसारको आम्दानी नभएपछि उनी हच्किए । ‘सबै मेहनत हाम्रो टिमले गर्थ्यो । तर, पैसा धनुषाधाम वन समितिको आम्दानीमा देखाउनुपर्थ्यो,’ उनले भने । कोभिडपछि त व्यवसाय नै बन्द भयो ।

धनुषाधामको जंगलमा ‘एक्सप्लोर मिथिला’ सञ्चालन गर्दा देवनारायणले त्यहाँ आउने पर्यटकको चाहनाको पनि अध्ययन गरेका थिए । अनि, कोभिडपछि जन्मियो–कल्चरल भिलेज । ‘पाहुनाले होमस्टे, गाउँको जस्तै घर–वातावरण खोज्थे,’ देवनारायणले भने, ‘पुरनदाहामा एकै ठाउँमा १० बिघा जग्गा भेटियो । लिजमा लिएँ । दुई वर्षदेखि काम सुरु भयो,’ उनले भने, ‘९ महिनादेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।’

कल्चरल भिलेजभित्र गाउँकै परिवेश छ । गाउँकै जस्तो घर, घरको भित्तामा मिथिला पेन्टिङ कुँदिएको छ । परेवाको खोर, परालको टाल, माछा पोखरी, कुखुरा–हाँसको बथान, गाईको गोठ छन् । ७ वटा माछा पोखरी छन् । माछा पोखरीमा फ्लटिङ रेस्टुरेन्ट बनाउने योजना छ । एक वर्षअघि पोखरीमा राखिएको घोंघी, शंखेकीरा, सितुवा, माछा खानयोग्य भइसकेको छ । फलफूलको बगैंचा नै छ । फलेको सिजनमा पर्यटकलाई बोटबाटै टिपेर खाने प्रबन्ध मिलाएको देवनारायण बताउँछन् ।

मधेशमा लोपोन्मुख तरकारी कुतरूम यहाँ पाइन्छ । प्याज, लसुन, अन्नबाली, कोदो, फापर, गहुँ, धान, दाल कल्चरल भिलेजकै खेतमा उब्जाइन्छ । ‘एक वर्षभित्रमा नुन र चिनीबाहेक सबै खाद्य सामग्री यहीँकै उत्पादनले धान्छ,’ देवनारायणले भने, ‘मिथिला–मधेशको खाना, पहिरन, भेषभूषा, गीतसंगीत, कृषिसँग जोडिएको औजार राखेर कल्चरल् भिलेजलाई म्युजियम शैलीमा लैजाने सोच छ ।’

कल्चरल भिलेजलाई समुदायसँग जोड्न देवनारायणले वरिपरिका गाउँलेलाई दुई कामको जिम्मा लगाएका छन् । पहिलो, मिथिला–मधेशको लोकसंस्कृति, नाँच, बाजाका लागि सांस्कृतिक टोली । दोस्रो, मिथिला–मधेशका पारम्पारिक परिकार बिरिया, अदौरी, कुम्हरौरी, तिरौरी, सुखरीलगायत २० परिकार बनाउने अर्को टोली । ‘कल्चरल भिलेजमा झिझिया, झरीझरी, ढोलपिपही, समाचकेवाको प्रस्तुति गरिन्छ,’ उनले भने, ‘६० जनाको सांस्कृतिक टिम छ । उनीहरूलाई प्रस्तुतिअनुसारको पारिश्रमिक दिइन्छ ।’

६० लाखको लगानीबाट कल्चरल भिलेजको सुरुवात गरेका देवनारायणले काठमाडौं, पोखरा, विराटनगर, नेपालगन्जलगायत स्थानबाट पर्यटक आइरहेको बताए । ‘जनकपुरबाट त दिनहुँ मानिस आइरहन्छन्,’ उनले भने, ‘राति बास बस्ने र यहाँको कृषि फार्मिङको आनन्द लिनेहरू भने बढी बाहिरकै हुन्छन् ।’

एसी–ननएसी गरी चारवटा कोठा रहेको कल्चरल भिलेजमा भने कृषि फार्मिङ अध्ययनका लागि लामो समय बस्नेहरूका लागि छुट्टै कोठा बनाइँदै छ । ‘कल्चरल भिलेजमा आउनेलाई परशुराम तलाउ भने वयलगाडामा घुमाइन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र २७, २०८१ ०६:५०
×