कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आरोहण छाडेर फोटोग्राफी 

मनोज पौडेल

नेपालमा पाइने फिजेन्ट (कालिज) का आठै प्रजातिका चराको फोटो खिचेका छन् काठमाडौंका पेम्बा शेर्पा (५६) ले । पेम्बाले ४ वर्ष लगाएर फिजेन्ट प्रजातिका मयूर, चिर, डाँफे, मुनाल, फोक्रास, चिलिमे, कालिज र लुइँचेको फोटो खिचेका हुन् । 

आरोहण छाडेर फोटोग्राफी 

मुनाल, चिर, डाँफे नेपाल सरकारको संरक्षित पन्छीको सूचीमा छ । डाँफे भने राष्ट्रिय पन्छी हो । चीर विश्वकै दुर्लभ पन्छी मानिन्छ । मुनाल पनि संकटनजिक छ । पूर्वको इलामदेखि डँडेल्धुरा र तराईको चितवनदेखि सगरमाथा बेस क्याम्प नजिक थामे पुगेर

८ वटैको तस्बिर खिचेको बताए उनले । सन् २०२१ नोभेम्बरमा एकै दिन ४ हजार ६० मिटर उचाइमा सोलुखुम्बुको थामेमा चिलिमे र डाँफेको तस्बिर खिचे । एक वर्षपछि २०२२ को नोभेम्बरमा इलाममा कालिजको तस्बिर खिचे । २०२४ मार्चमा एकै दिन चितवनमा मयूर र लुइँचेको तस्बिर खिचे ।

फिजेन्ट प्रजातिका ५ वटा चराको फोटो खिचेपछि बेलायतमा संरक्षण क्षेत्रमै अध्ययनरत साथी सञ्जीव आचार्यले आठ प्रजातिका तस्बिर खिचेर नयाँ काम गर्न सुझाएपछि पेम्बा हौसिएर लागे । फोटो खिच्न बाँकी रहेका तीन प्रजाति कहाँ पाइन्छ ? सोधखोजपछि चिरको फोटो खिच्न उनी गत अप्रिलमा अर्घाखाँची पुगे । दुई दिनको बसाइमा चिरको फोटो खिचे । त्यसपछि उनी मुनालको खोजीमा २०२४ मेमा इलाम पुगे । साता दिनको बसाइमा त्यसको पनि खिचे । अब बाँकी रह्यो फोक्रास खिच्न । फोक्रासको फोटो खिच्न उनी २०२४ कै जुनमा सुदूरपश्चिमको डँडेल्धुरा हान्निए । त्यहाँ दुई हजार ४ सय मिटरको उचाइ रहेको वनमा फोक्रासका भाले पोथीकै तस्बिर पनि खिचे । ८ वटै प्रजातिको चराको तस्बिर खिच्दा खुसीको सीमा भएन । भने, ‘आठपटक सगरमाथा आरोहण गर्दाभन्दा बढी खुसी भएँ ।’

विश्वमा ५२ प्रजातिका फिजेन्ट चरा पाइन्छ । नेपालमा भने ८ प्रकारका मात्र पाइन्छ । नेपालमा फिजेन्ट प्रजातिका चरा समुद्री सतहको एक सय ९० मिटरदेखि ४ हजार ५७० मिटर उचाइसम्म पाइन्छ । पेम्बाले नेपालमा पाइने ६५५ बढी प्रजातिका चराको तस्बिर खिचिसकेका छन् । नेपालमा अहिलेसम्म ८९४ प्रजातिका चरा पाइएको अभिलेख छ । चराका फोटोका फोटो तराईदेखि हिमाल पुगेका छन् । त्यसैमा रमाएका छन् ।

हिमाल आरोही पेम्बा शेर्पा आरोहणका क्रममा एउटा दुर्घटनापछि ‘वाइल्ड लाइफ फोटोग्राफी’को बाटोमा ‘यूटर्न’ भएका हुन् ।

७ पटक सगरमाथा चढे । तीन देशका ८ हजार मिटर अग्ला ६ हिमालको आरोहण गरे । मनास्लु, मकालु र धवलागिरि प्रथम हिमालदेखि युरोपका सबै अग्ला हिमाल चढिसके । पाकिस्तानको जीटु (गासरब्रम टु) र तिब्बतको सिसापाङको चुचुरोमा उभिए । तर, अहिले उनी आरोहीको विगत बोकेर ‘वाइल्ड लाइफ फोटोग्राफी’को यात्रामा रमेका छन् । मनास्लु हिमाल आरोहण गर्ने क्रममा २३ सेप्टेम्बर २०१२ को बिहान साढे २ बजे ७ जना विदेशीको मृत्यु भएपछि उनी क्लाइम्बिङ पेसा छाडेर यता लागेका हुन् । सोलुखुम्बुको दूधकुण्ड नगरपालिका ताकसेन्दुका उनका लागि यही घटना जीवनको ‘यूटर्न’ भइदियो ।

प्रकाशित : श्रावण १२, २०८१ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×