कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

तर, जीवन सुन्दर छ

भाद्र २२, २०८१
तर, जीवन सुन्दर छ

Highlights

  • म पारलिङ्गी महिला हुँ । जीवन–यात्रामा मैले अकल्पनीय हन्डर, ठक्कर, अपहेलना, विभेद र दुःख भोगेकी छु तर खुसी छु । 

आज म तपाईंलाई मेरो फरकखाले जिन्दगीको यात्रा सुनाउनेछु । मेरो भोगाइ, सपना र म हिँडेको बाटोको कथा भन्नेछु । म पारलिङ्गी (ट्रान्सवुमन) महिला हुँ । मेरो परिवार भोजपुरदेखि धरान बसाइँसराइ गरेको हो । म भने धरानमै जन्मिएकी हुँ ।

मेरा अभिभावकको ८ सन्तानमध्ये म साहिँलो छोराका रूपमा जन्मिएको थिएँ । घरमा छोराको जन्म भयो भनेर परिवार मात्रै होइन, इष्टमित्रहरू पनि असाध्यै खुसी भएका थिए रे !

सानो छँदा म सबैको निक्कै प्यारो थिएँ भनेर मेरी मुमा अहिले पनि मलाई भनिराख्नुहुन्छ । बाल्यकालमा म अलि बढी बिरामी नै भइराख्ने भएकाले ममीले मलाई तुलनात्मक रूपमा बढी नै ‘केयर’ गर्नुहुन्थ्यो रे ! परिवारको मायाले ढपक्कै ढाकिएर हुर्किंदै थिएँ म । तर, ७ वर्ष उमेर पुगेपछि घरेलु कामदारका रूपमा काम गर्दै पढ्नका लागि परिवारबाट अलग भएँ । अर्काको घरमा काम गरिरहँदा बुवाआमा र परिवारले ममाथि बर्साएको त्यो प्रेम, हेरविचार र आमाको काखमा लुटुपटु गर्दै उहाँको सारीको फेरले अनुहारको पसिना पुछेका यादहरूले असाध्यै पीडा दिन्थ्यो, छटपटाउँथें म । त्यो पीडाको म अहिले कल्पनासम्म गर्न सक्दिनँ । यी सब हुनु पछाडिको कारण हो– हाम्रो घर सुकुम्बासी बस्तीमा थियो । मेरो परिवारसँग प्रशस्त सम्पत्ति थिएन । हामी धेरै सन्तान थियौं । सबैलाई पालनपोषण गर्न र हुर्काउन उहाँहरूसँग यथेष्ट साधन–स्रोत थिएन ।

कक्षा ३ देखि ५ सम्म म झापामा बसेर पढेकी हुँ । म साह्रै नै रोगी भएपछि जुन घरमा बसेर काम गर्दै पढेकी थिएँ, त्यो परिवारले मलाई पुनः मेरै परिवारमा फर्काइदियो । छोटो समय परिवारसँग बसेपछि मलाई फेरि इटहरीमा कसैको घरमा काम गर्न राखियो । मेरो पढ्ने इच्छा तीव्र थियो, बुवाले मेरो चाहना बुझेर पढ्नका लागि इटहरीमा राखिदिनुभएको थियो । ५ देखि ७ कक्षासम्म म त्यसरी नै दुःख गर्दै त्यहीं बसेर पढें । जत्ति दुःख भए पनि घरै प्यारो लाग्यो । मलाई त्यहाँ बस्नै मन लागेन । घरको असाध्यै याद आउने, दिमागमा अनेक कुरा खेलिरहने, यिनै कारणले म घर जान जोड गर्न थालें । केही समयका लागि दिइएको स्कुल बिदा सकिएपछि म फेरि धरान बस्न थालें । ८ देखि १० कक्षासम्म म धरानै बसेर पढें । अरबियन पनि पढ्न पाइने भएकाले म त्यहाँ बसेको थिएँ । वि.सं. २०६४ सालमा एसएलसी पास गरें । त्यसपछि म फेरि परिवारसँगै जानुपर्ने भयो ।

सानैदेखि म अत्यन्तै लजालु स्वभावको थिएँ । स्कुलमा मैले थुप्रै उपनाम पाएको थिएँ । ६ कक्षासम्म त अति नै अन्योलमा बित्यो मेरो जिन्दगी । ८ कक्षासम्म पग्दा आफूलाई चिन्ने मौका पाएँ, त्यो उमेरमा मैले गरेको साहस सम्झेर आज पनि म पुलकित हुन्छु, गर्व पनि लाग्छ । आफू अन्य साथीभाइभन्दा भिन्न भएको कुरा मैले मेरो मिल्ने साथी दीपशिखालाई सुनाएं । ऊबाट मलाई भरपूर साथ र सहयोग मिल्यो ।

नियतवश होइन, म यसै गर्छु भनेर पनि होइन, अनि नाटक पारेको पनि होइन । तर, मलाई सानैदेखि केटीहरूका विभिन्न कलरफुल लुगा मन पर्थे । त्यस्ता लुगामा सजिएर नाच्न, रमाउन, खुसी हुन पाउँदा मन प्रफुल्ल हुन्थ्यो । त्यसैले म मामुका लुगाहरू लगाएर मन खोलेर नाच्थें । यसो गर्दा कति पटक त बुवाको हातबाट कुटाइ पनि खाएको छु ।

धेरै नै दुविधा र अन्योलको जिन्दगीपछि अब आफैं बाँच्नुपर्छ भनेर मैले धरानमै होटलमा भाँडा माझ्ने काम गर्न थालें । त्यहीबीच मैले नीलहिरा समाजको धरान शाखामा पार्टटाइम काम गर्न सुरु गरें । अहिले पनि मलाई याद छ त्यो दिन, जुन दिन मैले आफ्नो पहिचान पहिलोपल्ट सबैका सामु खुलाएको थिएँ, एउटा एफमएम रेडियोमार्फत । म १६ वर्षको थिएँ । दुविधाले भरिएको जिन्दगीले मलाई निक्कै नै वाक्क–दिक्क बनाएको थियो । केही बढी नसोची रेडियो इन्टरभ्युमा आफ्ना सबै कुरा छर्लङ्ग ऐना जस्तै बताइदिएँ । त्यसैको भोलिपल्टदेखि खुल्ला रूपमा नारी पहिरनमा सजिएर हिँड्न थालें ।

त्यसपछि मेरो मनले भन्यो– म पूर्ण केटी हुँ । ‘हिजडा’, ‘छक्का’, ‘समाजको कलंक’, ‘अपसकुन’, ‘अलिच्छिना’ जस्ता शब्दका भारी वर्षा र विभेदित व्यवहारले म चट्टान जस्ती भइसकेकी थिएँ । मलाई ती सबै कुराले केही फरक पारेन । मैले जीवनमा कहिल्यै हार खाइनँ ।

वि.सं. २०६५ सालदेखि म परिवारसँगै बसेर गिट्टी, ढुंगाको काम गर्न थालें । साह्रै नै दुःख भएपछि ऋण खोजेर बुवाले मलाई कतार पठाउने निर्णय गर्नुभयो । केही महिनाको प्रयासपछि हामी त्यसमा सफल भयौं । १७ वर्षको उमेरमा म खाडी मुलुक कतार पुगें । त्यहाँको बिछट्टै प्रचण्ड गर्मीमा कन्स्ट्रक्सन कम्पनीमा सिमेन्ट बोक्ने काम गर्थें । एक महिना के पुगेको थियो, मेरो मेडिकल फेल भयो भनेर मलाई नेपाल फर्काइयो । के–के न सपना बोकेर विदेश गएको, क्षणभरमै चकनाचुर भयो । काठमाडौं झरेपछि देखेका सपना सबै सक्किए । झन् बोझ पो हुन थाल्यो जिन्दगी । बुवाले लिएको ऋण कसरी तिर्ने होला भन्ने पीरले पिरोल्न थाल्यो ।

यसैबीच भौंतारिँदै जाँदा काठमाडौंमा मैले आफूजस्तै थुप्रै साथीहरू भेटें, उनीहरूसँगै बस्न थालें सँगसँगै डान्स बारमा काम गर्न थालें । काठमाडौं सहरको रमझम अनि साथीभाइसँगको त्यो रमाइलोले गर्दा बाटो बिराएझैं महसुस हुन थाल्यो र पनि त्यसबीच बुवाले लिएको ऋण तिर्न सफल भएँ । काम खोज्ने क्रममा मसँग सबै मापदण्ड पूरा हुने योग्यता र क्षमता भए पनि कसैले काम दिएनन् । मेरो यौनिकताकै कारण म धेरै ठाउँमा बहिष्कृत हुन पर्‍यो, राज्य र सरकारले पनि हाम्रा मुद्दा सम्बोधन गरिसकेको अवस्था थिएन, दिनहरू गहिरो चोट सहँदै बितिरहेका थिए । यहीबेला कुनै गतिलो काम गर्नुपर्‍यो भनेर पनि सोचिरहेकी थिएँ । त्यसैबीच ग्लोबल फाउन्डेसनमा एसिस्टेन्टको काम पाएँ । यहीं काम गर्दै जाँदा मलाई दुबई जाने अवसर प्राप्त भयो ।

त्यसपछि त मैले केही सोच्दै सोचिनँ, झोला बोकेर लागें दुबईतिर । त्यहाँ घरमा काम गर्ने ट्रान्स नै चाहिएको रहेछ । घरको काम गर्दा खासै गाह्रो लागेन, तर मलाई घरबाहिर जान र मोबाइल चलाउन बन्देज थियो । सन् २०१० देखि २०१५ सम्म दुबईमा काम गर्दा आफूमा शिक्षाको कमी भएको खट्किन्थ्यो । त्यसअलाबा आफ्नो हातमा सीपको कमी भएको पनि महसुस गर्थें । सन् २०१५ मा नेपाल फर्किएपछि मैले आफ्नो समुदाय अर्थात् लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि केही गर्छु भन्ने सोच बनाएँ ।

त्यसबीच मैले भोलिका दिनमा के कसो होला भन्ने नै नसोची हर्मोन खान सुरु गरें । ब्रेस्ट इम्प्लान्ट गरेर आफूले चाहे अनुसारको शरीर बनाएँ । आफूले चाहे अनुरूपको शारीरिक आकार र सुन्दरता पाएर म एकदमै खुसी थिएँ, तर अपशोच समाजको सोच र यथार्थ उस्तै रहेछ । महिलाको वास्तविक शरीर बनाएर हिँड्न थालेपछि त झन् मलाई कोठा पाउन सम्म गाह्रो भयो । न जागिर पाइन्छ न हातमा सीप छ । उता मेरो परिवार मसँग नै निर्भर थियो । आफू भने बिना काम बस्दा छटपटी भइरहेको थियो । काम खोज्दै जाने क्रममा मैले वेटरको काम पाएँ । वेटर गर्दै, केही सीप सिक्दै गरेकी मलाई बाहिर हाँसेर हिँडे पनि आँसुको आहालमा रात काट्नुपरेको थियो । म रातभरि रुन्थें । निदाउन निक्कै कठिन हुन्थ्यो । २०१५ कै अन्त्यतिर मैले ससाना मेकअपको काम पाउन थालिसकेकी थिएँ । मेकअप असिस्टेन्टको काम गर्दै कलाकारितातर्फ धकेलिएँ । मेकअप र मोडलिङ क्षेत्रतर्फ करिअर बनाउने सोचले मिहिनेत गर्न थालें । सोही अनुसार अगाडि बढ्दै गएँ ।

बाहिरबाट हेर्दा संसार जति चम्किलो देखिन्छ, त्यसभित्र अन्धकार पनि हुँदोरहेछ । त्यो मेरो जीवनको भोगाइबाट सिकेका अनुभवले बताउँछ । जसोतसो मैले आफूलाई करिअरमा स्थापित त गरें, तर म तेस्रोलिङ्गी भएका कारण कतिपय ठाउँहरूमा हेर्ने नजर भिन्न हुन्थ्यो । मप्रतिको दृष्टिकोण फरक पाइन्थ्यो । मैले आफ्नो क्षेत्रमा आफूलाई अब्बल सावित गरे पनि धेरै मान्छेले मलाई ‘जाने हो, तपाईंको रेट कति हो ?’ भनेर सोधेका छन् । यस्ता कुरा भोग्नुपर्दा पीडा हुँदोरहेछ । आफू जे होइन, त्यो भोग्नुपर्दा मलाई मात्रै होइन, सबैलाई हुने पीडाको दर उस्तै होला । समाज र व्यक्तिको यस्तै सोच बदल्न अझै माथि जानुपर्छ भन्ने सोचले म आफूलाई आफ्नो क्षेत्रमा अझै निखार्न थाइल्यान्ड गएर अन्तर्राष्ट्रिय ‘मेकअप स्टुडियो ज्वाइन’ गरें ।

मेकअपमा मलाई उक्त तालिमले दक्ष नै बनायो । तर, आफू जत्ति बदलिए पनि समाज यही हो, सोच त्यही हो । कला र सीपको कदरभन्दा यहाँ अन्य कुरामै बढी केन्द्रित भइदोरहेछ । तर जसोतसो निक्कै लामो संघर्ष र परिश्रमपछि आफूलाई मेकअप आर्टिस्ट नीलम भनेर चिनाउन सफल भएँ, मेरो समुदायका साथीहरूले पनि मलाई सम्मानजनक तरिकाले काम दिलाउन सहयोग गरिरहे । यति गर्दा पनि मलाई पुगेको थिएन । अझै केही गर्नुपर्छ भन्ने हुटहुटी बाँकी नै थियो । यिनै संघर्षले आज मैले ‘गिभिङ फेस’ नामक प्रोजेक्ट सुरुवात गरी यसैलाई निरन्तरता दिइरहेकी छु । त्यसअलाबा कला क्षेत्रमा पनि सक्रिय छु । यो प्रोजेक्ट मैले सन् २०२० को लकडाउनका बेला राहत बाँड्ने क्रममा सञ्चालनमा ल्याएकी हुँ । सन् २०२०/०२१ को लकडाउनमा ३ हजारभन्दा बढीलाई राहत सामग्री र धेरथोर रकम हस्तान्तरण गर्न सफल भएँ । सन् २०२२ बाट मैले निःशुल्क मेकअप तालिम दिन पनि सुरु गरें । हालसम्म मुलुकका १० वटा जति सहरहरूमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई निःशुल्क मेकअप तालिम प्रदान गरेर उनीहरूको आँट, हौसला र साहस बढाउने काम गर्न सकेकोमा मनभित्रैदेखि खुसी लागेको छ । सन् २०२३ सम्म आइपुग्दा समाज र समुदायका लागि सानै भए पनि केही योगदान गरौं भन्ने सोचका साथ ‘निलम्स अवार्ड’ स्थापना सर्न सफल भएँ । यसैमार्फत मैले हाम्रा अग्रज र समुदायका लागि लडेका, योगदान गरेका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरूलाई सम्मान कार्यक्रमको आयोजना गरिरहेकी छु । जहाँ हामी भाषणमा मात्रै ठूला कुरा गर्छौं त्यहाँ काम गर्न सहज छैन । बोलीमा मात्रै सीमित नभई ‘कामै गरेर देखाउँ’ भन्ने उद्देश्यले यो अवार्डको सुरुवात गरेकी हुँ । सजिलो त छैन, तर यो संसारमा गरे असम्भव केही पनि छैन ।

असल कर्म र उद्देश्यका लागि यस्ता कार्यक्रमहरू गर्न खोज्दा सहयोगीहरूले हात झिकिदिने, प्रायोजक पाउन कठिन हुने, ‘ग्ल्यामरस इभेन्ट’ त हुन् नि भन्ने जस्ता सोच र समस्याहरू अझै हाबी छन् । म ग्ल्यामर इन्डस्ट्रीमा छिरिसकेपछि मेकअप आर्टिस्ट मात्रै नभई ‘निलम्स रनवे’ नामक फेसन सो आफैं अर्गनाइज गर्न सफल भएँ, हालसम्म यसको दुईवटा सिजन सम्पन्न भइसकेको छ । अहिले मेकअप, आर्टिस्ट, सामाजिक अभियन्ता, कलाकारका रूपमा सबैले मलाई चिन्छन् । जीवनको यो कालखण्डसम्म आइपुग्दा यत्तिका हन्डर–ठक्करका बाबजुद पनि म आफू मानव भएर जन्मिनुको धर्म र कर्तव्यमा चुकेकी छैन र चुक्नुहुन्छ जस्तो लाग्दैन ।

मैले आफूमा बढाएको सीप, आत्मविश्वास, जीवन जिउने कौशलका कारण अहिले केही सहज र रमाइलो छ । म सधैं आफूलाई काममै व्यस्त राख्न चाहन्छु, दैनिक आफूलाई अपडेट गर्न चाहन्छु र गरिरहेकी छु । म आफ्नो समुदाय, मातृभूमि र सम्पूर्ण नेपालीहरूका लागि आफ्नो सीप, क्षमता, दक्षतामार्फत अझ धेरै गर्न चाहन्छु । जीवन लामो छ मेरो कथा अहिले यत्तिमै सकिँदैन ।

(लक्ष्मी भण्डारीसँग कुराकानीमा आधारित)

प्रकाशित : भाद्र २२, २०८१ १०:१५
x
×